coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

काठमाडौं- गृह मन्त्रालयले राज्यमन्त्रीस्तरीय सुविधासहित गृहमन्त्री जनार्दन शर्मालाई आन्तरिक सुरक्षासम्बन्धी सल्लाह दिन नियुक्त गरेका पूर्वएआइजी सुरेन्द्रबहादुर शाहको सचिवालय प्रहरी प्रधान कार्यालयमा खडा गरेको छ।

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले।

यसअघि गृहमन्त्रीलाई सघाउन नियुक्त भएका सल्लाहकारले प्रहरी कर्मचारी पाउँदैनथे। ६ महिनाअघि एआइजीबाट अवकाश पाएका शाह विज्ञका रुपमा नियुक्त भएपछि उनको कार्यालयमा काम गर्नेगरी एसएसपीको कमान्डमा प्रहरी प्रधान कार्यालयभित्रै कार्यालय खोलिएको हो।

प्रहरी नेतृत्वले गृहमन्त्रीलाई सल्लाह दिन नियुक्त विज्ञका सहयोगी गृहमै बसेर काम गर्दा राम्रो हुने सुझाव दिए पनि मन्त्रालयमा बस्ने स्थान नभएको भन्दै प्रहरी प्रधान कार्यालयभित्र ती सल्लाहकारको कार्यालय खडा गरिएको हो। मन्त्रालय स्रोतका अनुसार गृहमा कोठा अभाव छैन।

शाहलाई मन्त्रिपरिषद्ले साउन १२ मा सुरक्षाविज्ञमा मनोनीत गरेको थियो। उनी गृहमन्त्रालयभित्रै बस्छन्। गृहको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उनको सहयोगीका रुपमा खटाएका एसएसपी केदार रिजाल, एसपी मनोजकुमार केसी र डिएसपी शिवकुमार श्रेष्ठ प्रहरी प्रधान कार्यालयभित्र रहेको सेतो भवनमा कार्यालय खोलेर बसेका छन्।

गृहले शाहको सहयोगीका रुपमा एसएसपी शैलेश थापालाई खटाउन चाहेको थियो। तर उनले गृहमन्त्रीको सुरक्षाविज्ञको कार्यालयमा जान इच्छा नदेखाएपछि  रिजाललाई पठाइएको हो।

स्रोतका अनुसार प्रहरी संग्रहालय रहेको भवनमा शाहका सहयोगीको कार्यालय छ। सो कार्यालयमा शाहका लागिसमेत कोठा व्यवस्था गरिए पनि उनी भने अहिलेसम्म गएका छैनन्। उनी गृहमै बसेर काम गर्छन्। उनको सहयोगमा खटिएका प्रहरी अधिकारी प्रधान कार्यालयभिभित्र रहेको कार्यालयमा बसेर काम गर्छन्।

सुरक्षाविज्ञ शाहले मन्त्रालयले सहयोगीका रुपमा खटाएका प्रहरी कर्मचारी जसको जहाँ दरबन्दी हो त्यही कार्यरत रहेको र प्रहरी प्रधान कार्यालयभित्र आफ्नो सहयोगीको छुट्टै कार्यालय नभएको दाबी गरे। 'म गृहमै काम गरिरहेको छु, सहयोगी उनीहरू कार्यरत कार्यालयमै छन्,' शाहले दाबी गरे, 'उनीहरू छुट्टै कार्यालय बनाएर बसेको जानाकारी छैन।'

उनले आफ्नो सहयोगमा खटाइएका प्रहरी कर्मचारी पुरानै कार्यालयमा रहेको दाबी गरे पनि उनीहरू दरबन्दी रहेको कार्यालयमा भेटिन्नन्। तीनैजना प्रहरी अधिकारी सहयोगी टोलीसहित सेतो भवनमा कार्यालय खोलेर बसिसकेका छन्।

गृहमन्त्रीलाई सल्लाह दिन प्रहरी कर्मचारी किन चाहियो भन्ने जिज्ञासामा शाहले गृहमन्त्रीले सार्वजनिक गरेको ८४बुँदे मार्गचित्र कार्यान्वयनमा सघाउन सहयोगी लिएको दाबी गरे।

तर गृहमन्त्री शर्माले सार्वजनिक गरेको मार्गचित्रमा प्रहरीसम्बन्धी योजना मात्रै छैन। मार्गचित्रमा गृह प्रशासन, अध्यागमन, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरीमा सुधारसम्बन्धी योजना छ। उनका सहयोगीका रुपमा गृहले प्रहरीलाई मात्रै खटाएको छ।

यसअघिका गृहमन्त्री विमलेन्द्र निधिले सञ्चार सहयोगी राखे पनि सुरक्षाविज्ञ नियुक्त गरेका थिएनन्। वामदेव गौतमले गृहमन्त्री हुँदा उनले एमाले वरिष्ठ नेता प्रदीप नेपाललाई सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका थिए। नेपालको कार्यालय गृहमै थियो भने उनलाई सघाउन कुनै प्रहरी कर्मचारीलाई औपचारिकरुपमा परिचालन गरिएको थिएन। शाह विज्ञका रुपमा नियुक्त भएसँगै उनको कार्यालयमा एसएसपीको कमान्डमा कर्मचारी खटाउन गृहबाट मौखिक निर्देशन आएको थियो।

प्रहरी नेतृत्वले लिखित भए सहज हुने बताएपछि गृहमा रहेको कर्मचारी प्रशासन शाखाले शाहको कार्यालयमा काम गर्नका लागि प्रहरी कर्मचारीको नामसहित प्रधान कार्यालयमा पत्र पठाएको थियो। शाखाका शाखा अधिकृत छविलाल विकको हस्ताक्षर रहेको पत्रमा 'गृहमन्त्रीका विज्ञका रुपमा शाहलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको जानकारी दिँदै उनको कार्यालयमा  कामकाज गर्नेगरी प्रहरी कर्मचारी खटाउन' आदेश अनुसार अनुरोध गरिएको उल्लेख छ।

सेवामा रहँदा शाह प्रहरी नेतृत्वका लागि दाबेदारसमेत थिए। सरकारले शाहकै व्याचका उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनले एआइजीबाट अवकाश पाएका थिए।

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्ने गरेको मन्त्रालयका एक अधिकारीले बताए। एआइजी, डिआइजी, एसएसपी, एसपी र डिएसपी सरुवामा उनको प्रभाव परेको ती अधिकारीले बताए। 'लामो समय प्रहरी संगठनमा काम गरेकाले होला सुरक्षासम्बन्धी सल्लाह दिने भने पनि प्रहरीको आन्तरिक प्रशासनबारे उहाँमा बढी नै चासो देखिन्छ,' ती अधिकारीले भने, 'सायद त्यसैलाई सघाउन हेडक्वाटरमै कार्यालय राखिएको होला।'

प्रकाशित: १० भाद्र २०७४ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App