८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तह निर्वाचनमा काँग्रेसको खर्च दुई करोड

काठमाडौं – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा झन्डै दुई करोड खर्च भएको जनाएको छ । निर्वाचन आयोगलाई बुझाउन आर्थिक वर्ष २०७३/०७४को आर्थिक प्रतिवेदन तयार गर्दै कांग्रेसले निर्वाचनमा १ करोड ९० लाख ३० हजार ७सय ४१ खर्च देखाएको हो । 

स्थानीय तहको निर्वाचनका लागि १ करोड २४ लाख ७५ हजार मात्र चन्दा संकलन भएको देखाएको कांग्रेसले झण्डै ६६ लाख बढी खर्च देखाएको हो । ३ करोड ६ लाख ६९ हजार ७ सय ७ रुपैयाँ ६८ पैसा आम्दानी देखाउँदै कांग्रेसले त्यसमध्ये २२ लाख ६० हजार २ सय ९४ रुपैयाँ ७० पैसा व्याजबाट आएको उल्लेख गरेको छ । त्यस्तै १ करोड ६० लाख ३४ हजार ४ सय १२ रुपैयाँ कुन स्रोतबाट आम्दानी भयो भन्ने उसले खुलाएको छैन । 

पार्टीको १३औं महाधिवेशनका लागि प्राप्त चन्दा र खर्च सार्वजनिक गर्ने घोषणा गरेपनि अहिलेसम्म त्यसको औपचारिक जानकारी नगराएको काँग्रेसले आयोगलाई बुझाउन तयार गरेको प्रतिवेदनमा ३ करोड २१लाख ६० हजार ३सय ७३ रुपैयाँ चन्दा संकलन भएको उल्लेख छ । महाधिवेशनमा गत आर्थिक वर्षमा ४ करोड ३२लाख ९ हजार ८सय २ र पछिल्लो वर्ष १लाख ३९ हजार २सय ५० खर्च भएको जनाएको छ ।

गत वर्षको तुलनामा ३ करोड कम खर्च देखाएको छ । अघिल्लो वर्ष ८ करोड ३७ लाख ३८ हजार ८सय ९ रुपैयाँ खर्च देखाएपनि यसपटक भने ५ करोड ८ लाख ५० हजार मा भएको उल्लेख गरीएको छ । 

कर्मचारीका लागि ६४ लाख ७८ हजार ४सय खर्चको कांग्रेसले साधारण तथा प्रशासनिक खर्च भने ८३लाख ६१ हजार ४सय ४१ देखाएको छ । भ्रातृ संगठनको महाधिवेशनमा  १ करोड २४ लाख ८९ हजार २सय ५५ खर्च भएको काँग्रेसले उल्लेख गरेको छ । गएको आर्थिक वर्षमा मात्र काँग्रेसका प्रमुख भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको एक दशकपछि महाधिवेशन भएको थियो । 
२ करोड ८० हजार ८सय ८० बचत घाटा देखाएको काँग्रेसले २ हजार ७ सय २३ वित्तिय र ४३ लाख ४८ हजार ७ सय ७६ ह्रास तथा एमोटाईजेशनमा खर्च देखाएको छ । 

१ करोड ६० लाख ५७ हजार २सय ७ रुपैयाँ नगद मौज्दात देखाएको उसले ६ करोड ८५ लाख बराबरको स्थिर सम्पत्ति रहेको जनाएको छ । फिक्स डिपोजिटमा ४ करोड ७५ लाख देखाएको काँग्रेससँग ६ करोड ३५ लाख भन्दा बढी नगद मौज्दात छ । चालु सम्पत्ति ७८ लाख २९ हजार रहेको उल्लेख गर्दै उसले १ करोड ७९ लाख ४७ हजार २सय ३१ रुपैयाँ दाइत्व (ऋण) देखाएको छ । जुन गत वर्ष  १ करोड २३ लाख ५० कजार ७सय ४४ मात्र थियो । 

आर्थिक वर्ष २०७३/०७४को खर्च र आम्दानीको विवरण आइतबार निर्वाचन आयोगमा बुझाउने भएको सह सचिव एवम् कांग्रेस केन्द्रीय कार्यालयका लेखा प्रमुख रविन बज्रार्चायले जानकारी दिए  । ‘आजै (शुक्रबार) नै बुझाउने गरी तयारी गरेपनि समय अभावले सकिएन,’ उनले भने, ‘आर्थिक प्रतिवेदन तयार छ। आइतबार निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण पेस गर्छाै ।’

पार्टी सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सीतादेवी यादव, मुख्य सचिव कृष्णप्रसाद पौडेल, सह–सचिव रविन बज्रार्चायको हस्ताक्षरसहितको आर्थिक प्रतिवेदन आयोगमा बुझाउन काँग्रेसले तयार गरेको छ ।  

प्रकाशित: ९ भाद्र २०७४ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App