१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘यहाँका दरबार क्षेत्रले मलाई लोभ्याउँछ’

कुञ्जना घिमिरे, कलाकार

तपाईंलाई मनपर्ने सहर कुन हो ?
काठमाडौं र पोखरा सहर नै मलाई राम्रो लाग्छ । यी सहरका विशेषता फरक–फरक छन् । सबैखाले सेवा–सुविधा पाइने भएकाले काठमाडौं राम्रो लाग्छ । पोखरा काठमाडौंभन्दा सफा र सुन्दर छ । ताल, गुफा, वरपरका हिमालले पोखरा सुन्दर छ । 

काठमाडौंमा त अनेक समस्या छन् नि ?
मलाई काठमाडौं सानैदेखि मनपरेको हो । केही समय अघिसम्म पनि काठमाडौं धेरै राम्रो थियो तर अहिले धेरै समस्या छन् । यहाँ केही नराम्रा पक्ष भए पनि धेरै चिज राम्रा छन् । सेवा–सुविधाका हिसाबले अरु ठाउँभन्दा काठमाडौं अगाडि छ । सरकार र नागरिक मिलेर अघि बढ्ने हो भने काठमाडौं राम्रो हुन्छ । समन्वयकारी ढंगले काम गर्दा काठमाडौं सफा र हराभरा हुन्छ । सहरवासीले पनि जथाभावी फोहोर फाल्नुभएन । 

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
मेरो सपनाको सहरमा फराकिला सडक होऊन्, व्यवस्थित सार्वजनिक यातायात होस्, सडकको छेउछाउ हरियाली होस्, थकान मार्ने पार्क होस्, धुवाँधुलो मुक्त होस्, सबै प्रकारका सुविधा होस् । यसको निम्ति सरकार र नागरिक सबै मिल्न जरुरी छ । 

तपाईं विदेशका धेरै सहर घुम्नुभएको छ, त्यहाँका सहर कस्तो लाग्यो ?
अहिलेसम्म मैले विश्वका १० भन्दा बढी देश घुमेकी छु । ती देशका सहरका विषेशता पनि फरक–फरक लाग्यो । जापान, मलेसिया, कतार कोरिया, अस्ट्रेलिया अमेरिकालगायत देशका सहर घुमेकी छु । हाम्रो सहरको तुलनामा यी देशका सहर धेरै विकसित छन् । 

घुमेकामध्ये सबैभन्दा मनपरेको सहर कुन हो ?
घुमेकोमध्ये मनपरेका सहर धेरै छन् । मलाई मनपरेको सहरमा सिंगापुर, सिक्किम, लन्डन, टोकियो, मेलबर्न लगायत पर्छन् । यी सहर सधैँ सफा र नयाँ देखिन्छ । प्रदूषण धुवाँधुलो त यहाँ देख्नै पाइन्न । त्यहाँको संस्कृति र सहर अरु देशको भन्दा छुट्टै पाएँ । सहरमा सबै कुरा र सबैखाले सुविधा पाइनेरहेछ । त्यहाँका सहरसँग तुलना गर्ने हो भने हाम्रा सहर व्यवस्थित छैनन् । डाँडापाखा, वन, नदीनाला, प्राकृतिक सौन्दर्य हाम्रा सम्पत्ति हुन् । यी विशेषता अन्य मुलुकमा कमै पाइन्छ । मलाई नेपालका सहरमध्ये पोखरा सबैभन्दा मनपर्छ । 

हाम्रो देशका सहर पछाडि पर्नुको कारण के होला ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । विदेशका जति पनि सहर छन्, ती सबै कृत्रिम हुन् । मानिसले नै सजाएका सहर आज यति धेरै अघि छन्, तर प्राकृतिक रूपमै सजिएका हाम्रा सहर पछि छन् । प्रचार–प्रसार नहुनु र विकास–निर्माणमा सरकारको ढिलाइले गर्दा नै हामी पछि परेका हौँ जस्तो लाग्छ । 

मन भएर पनि घुम्न नपाएको सहर ?
मलाई घुम्न मन लागेको देश हो, क्यानडा । यसको बारेमा धेरै सुनेकी छु । अब छिटै क्यानडा जाने योजनामा छु । 

काठमाडौं कसरी राम्रो बन्ला ?
बाटोघाटो निर्माण, सरसफाई, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन हुने र धुवाँधुलो रोकथाममा ध्यान दिने हो भने काठमाडौं धेरै राम्रो बन्न सक्छ । सरकारले विकास–निर्माणमा ध्यान दिन नसक्दा र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्दा नै काठमाडौं सहर बिग्रिएको हो । यसलाई व्यवस्थित गर्न सरकार नै प्रतिबद्ध भएर लाग्नुपर्छ । नागरिकले पनि सरकारी निकायलाई घचघच्याउने र सघाउने बानी गर्नुपर्छ । 

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँका दरबार क्षेत्रहरुले मलाई लोभ्याउँछ । भक्तपुर, पाटन र वसन्तपुर दरबार क्षेत्रमा फुर्सद हुँदा प्रायः घुम्न जाने गरेकी छु । यसबाहेक उपत्यकामा आफूले खोजेको सबै सुविधा पनि पाइन्छन् । यहाँका मठ–मन्दिर, दरबार क्षेत्र, नेवारी संस्कृति मलाई सबैभन्दा बढी मनपर्छ ।

उपत्यकाको मननपर्ने कुरा के हो ?
धुलोधुवाँ, प्रदूषण र ट्राफिक जाम यहाँको सबैभन्दा मननपर्ने पक्ष होे । यी समस्या सम्झँदा काठमाडौंमा बस्ने मन लाग्दैन ।

उपत्यकानजिकै कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
सुन्दरीजल, काभ्रेका गाउँ, नगरकोट, पाटन दरबार, तपोवन, चन्द्रागिरी लगायत ठाउँमा जान्छु । यी ठाउँमा पुग्दा रमाइलो र आनन्द महसुस हुन्छ। 
 
उपत्यकाको मनपर्ने खानेकुरा के हो ?
मलाई यहाँको कोल्ड कफी, मःमः, चिकेन आइटम, कफी, नेवारी खानालगायत एकदमै मनपर्छ । 
प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ९ भाद्र २०७४ ०८:१७ शुक्रबार

यहाँका दरबार क्षेत्रले मलाई लोभ्याउँछ