coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कफी अल्टरनेटिभ्स

धेरैका लागि लत बनिसकेको छ, कफी । बढ्दो छ, कफी सप र क्याफे खुल्ने क्रम पनि । विभिन्न नाम र ब्रान्डमा खुलेका कफी हाउसले तातो र चिसो कफीका स्वाद ग्राहकलाई चखाउँदै आएका छन् । कफीका लागि क्याफे धाउनेको संख्या पनि उकालो लाग्दै छ। 

हिमालयन जाभा सुन्धाराकी बरिस्ता रश्मी श्रेष्ठ भन्छिन्, ‘कफी पिउने लत लागेकाहरू क्याफे नधाइरहन सक्दै सक्दैनन्।’ श्रेष्ठका अनुसार कफीको लत बसेकाहरू सहरको कुन क्याफेमा कस्तो कफी पाइन्छ भन्दै चहार्नेसम्म गर्छन्। 
कफी खानेहरू बढ्दा कफीको व्यवसाय फस्टाउँदै गएको छ । जताजतै खुलेका कफी घरहरूले सहरमा कफी संस्कृतिको विस्तारमा टेवा पुगेको छ । यद्यपि कति मानिसका लागि कफी प्रिय बेभरेज होइन, उनीहरुलाई कफीको स्वाद नै मनपर्दैन । श्रेष्ठ भन्छिन्, ‘कफी भन्नेबित्तिकै नाक खुम्च्याउनेहरू पनि छन् । उनीहरूलाई कफीको बास्ना नै मनपर्दैन ।’ कफीको बास्ना र स्वाद मननपराउने मात्र होइन, कतिले भने कफीका बारेमा रहेका नकारात्मक मान्यता र स्वास्थ्य समस्याका कारण पनि कफी पिउन मन पराउँदैनन्। 

यस्ता कफी मननपराउने र नपिउने ग्राहकलाई स्वागत गर्न कफी हाउससँग विकल्प हुन्छन् । धेरै प्रकारका ड्रिंक्सलाई कफी अल्टरनेटिभ्सको रूपमा मेनुमा समावेश गरिएको पाइन्छ । सिभिल मलमा रहेको हिमालयन बिन्जका ओम प्रकाश पंगाली भन्छन्, ‘कफी नपिउनेले पनि निर्धक्क आएर अन्य ड्रिंक्स पिएर जान सक्छन् । त्यसैले कफी हाउसका लागि कफी अल्टरनेटिभ्स निकै महत्त्वपूर्ण छ ।’ काठमाडौंमा कफीको प्रचलन व्यापक भइसके पनि अझै धेरै मानिस कफी फ्रेन्ड्ली छैनन् । त्यस्ता कफीसँग परिचित नभएका मानिसका लागि पनि अल्टरनेटिभ्स आवश्यक रहेको पंगालीले बताए । त्यस्ता खालका ग्राहक खासगरी कफी पिउनेको समूहमा मिसिएर आउने गरेको उनले बताए । भने, ‘समूहमा सबै कफीप्रेमी वा कफीमैत्री आउँछन् भन्ने हुँदैन । त्यस्ताले कफीबाहेकका पेय पिउन रुचाउँछन् ।’ त्यस्ताका लागि हिमालयन बिन्जले तातो र चिसो कफी अल्टरनेटिभ्स सिफारिस गर्ने गरेको छ।

यस्ता कफी मननपराउने र नपिउने ग्राहकलाई स्वागत गर्न कफी हाउससँग विकल्प हुन्छन् । धेरै प्रकारका ड्रिंक्सलाई कफी अल्टरनेटिभ्सको रूपमा मेनुमा समावेश गरिएको पाइन्छ ।

कफी अल्टरनेटिभ्सको रूपमा चिया, लस्सी, विभिन्न मकटेल लगायत ड्रिंक्स मानिसले रोज्ने गरेका छन् । कफीका यी सब्स्टिच्युट्सलाई कफीको सट्टा मात्र नभई कफी अघि वा पछिको ड्रिंक्सका रूपमा पनि पिउने गरेको हिमालयन जाभा वसन्तपुरका शेखर खड्काले बताए । ‘चिसो ड्रिंक्स कफी अघि र पछिको फ्रेसनेसका लागि पिउने गर्छन्,’ उनले भने । हिमालयन जाभाको कफी अल्टरनेटिभ्स मेनुमा विभिन्न किसिमका स्मुदिज र लेमोनेड रहेका छन् । हिमालयन जाभाका खड्काका अनुसार कफीको सट्टा मात्र नभई फ्रेसनेस ड्रिंक्सको रूपमा लस्सी तथा लेमोनेड मनपराउने गर्छन् । 
हुन त कफी अल्टरनेटिभ्सलाई क्याफिन पन्छाउन सेवन गरिने अर्थमा लिइन्छ । त्यसकारण धेरैले कफीजस्तै स्वाद पाइने तथा चियाजस्ता हट वेभरेजलाई अल्टरनेटिभ्सको रूपमा लिन्छन् । यद्यपि काठमाडौंमा कोल्ड ड्रिंक्स, जुस, मकटेलहरू कफी अल्टरनेटिभ्सको रूपमा लोकप्रिय छन् । 

काठमाडौंका केही कफी हाउसले सिफारिस गर्ने केही कफी अल्टरनेटिभ्स निम्नअनुसार छन् ।

मिल्कसेक
दूधबाट बनेको लोकप्रिय चिसो ड्रिंक हो, मिल्कसेक । आइसक्रिम तथा विभिन्न फ्लेभर हालेर मजाले ब्लेन्ड गरिएको स्वादिलो मिल्कसेक सबै उमेरकाले मनपराउने गरेको सिभिल मलमा रहेको सेन्ट्रल फुड कोर्टका म्यानेजर एसबी अर्याल बताउँछन् । विभिन्न किसिमका मिल्कसेक फुड कोर्टको कफी बार कफी अल्टरनेटिभ्सको रूपमा सर्भ गर्दै आइरहेको छ । बरिस्ता बिन्जु तामाङले भनिन् ‘आइक्रिम विद मिल्कसेक, मिल्क बनानासेक हामी बनाउँछौँ । कफी नखानेका लागि हामीले सिफारिस गर्ने यो लोकप्रिय ड्रिंक हो ।’ चिसो दूधमा फ्लेभर सिरप र बरफ राखेर मिल्कसेक बनाइन्छ । हिमालयन बिन्जले पनि कफी अल्टरनेटिभ्समा मिल्कसेकलाई समावेश गरेको छ।

फ्रुट्ससेक
मिल्क सेककै वर्गमा पर्ने फ्रुट्स सेकमा फलफूलका फ्लेभरको इन्टेन्सिटी ज्यादा पाइन्छ । फ्लेभर र कलरिङका कारण आकर्षक बनाइने फ्रुट्ससेक पनि कफी अल्टरनेटिभ्सको रूपमा लोकप्रिय बेभरेज रहेको हिमालयन बिन्जका ओमप्रकाश पंगालीले बताए । उनले भने, ‘फ्रुट्ससेकलाई सुन्दर कलरमा डेकोरेट गर्न पनि सकिने भएकाले यसको टेक्स्चरले नै मान्छेलाई लोभ्याउँछ । हामीले कफी नखाने तर फलफूलको फ्लेभर मनपराउने कस्टमरलाई फ्रुट्ससेक दिन्छौँ ।’ ताजा फलफूलको प्रयोग गरी बनाउँदा निकै पोषणयुक्त हुने फ्रुट्स सेक धेरैजसो कफी हाउसले फ्लेभर सिरप मात्र हालेर बनाउँछन् । आइसक्रिम, दूध र फ्रुट्स फ्लेभर यसलाई स्वाद दिने सामग्री हुन् । हिमालयन बिन्जको मेनुमा म्यांगो, किबी, ब्ल्याक करेन्टका सेक लोकप्रिय रहेको पंगालीले बताए। 

मकटेल्स
कफीको आर्टफूल लेयरसँग कतिपयको प्रेम हुन्छ । कतिले त कफीको स्वादभन्दा  आर्टफूल डेकोरेसनकै आकर्षणले गर्दा कफी पिउने गरेको पनि सुनाउँछन् । तपाईं यदि कफी रुचाउनुहुन्न र ननअल्कोहोलिक पनि हुनुहुन्छ भने तिनीहरूलाई सोध्न सक्नुहुन्छ, ‘के मकटेलहरू जति रंगीन र रसिलो केही हुन सक्छ ?’ 

हिजोआज कफी हाउसले निकै रमाइला मकटेललाई आफ्नो मेनुमा समावेश गरेर मकटेल रिभोलुसनमा सहभागी भएका छन् । कफी नपिउने तर जुस लभर क्याफेमा आएमा मकटेल सिफारिस गर्ने गरेको छ, सेन्ट्रल फुडकोर्टको कफी बारले । यसको मकटेल मेनुमा डिप ब्लु सी, भर्जिन मोहितो, सिन्ड्रेला लगायत मकटेल्स छन् । कफी बारकी बिन्जु तामाङले भनिन्, ‘रिफ्रेसिङ पनि भएकाले मकटेल्सलाई कफीको सट्टा पिउने धेरै छन् । ननअल्कोहोलिकका लागि त अति नै उत्तम बेभरेज पनि हो ।’ उसको मेनुको डिप ब्लु सी बनाउन समुद्रको गाढा नीलो रङ बनाउन सी कलर प्रयोग गरिन्छ । स्प्राइट र लेमन जुसको फ्लेभर यसमा पाइन्छ । बाबरीको ताजा पात र कागतीलाई थिचेर लेमन जुस, सुगर सिरपको स्वादमा भर्जिन मोहितोको रेसिपी छ । मिन्ट लिभ्स र पानीको कलरले यसको टेक्सचरलाई लोभलाग्दो बनाउँछ । यी साथै धेरैवटा मकटेल उसको मेनुमा छन् । केही समयमा मकटेल मेनुमा थप आइटम थप्ने योजना समेत रहेको फुडकोर्टका म्यानेजर अर्यालले बताए । 

लेमोनेड
कफी अल्टरनेटिभ्सको रूपमा निकै लोकप्रिय अर्काे ड्रिंक लेमोनेड हो । कागती, पानी र स्विट्नरको फ्लेभरले रिफ्रेस बनाउने हुनाले लेमोनेड धेरैले मनपराउने गरेको हिमालयन जाभा वसन्तपुरका शेखर खड्का बताउँछन् । हिमालयन जाभाले मिन्ट लेमोनेड र किबी लेमोनेडले विशेष भनेर पेस गरेको छ । खड्काले भने, ‘लेमोनेडलाई मानिसले कफीको सट्टामा वा कफीपछि रिफ्रेसमेन्टका लागि पिउन मनपराउने गरेका छन् ।’ मिन्ट लेमोनेड रेगुलर मिन्ट लेमोनेड हो र किबी लेमोनेडमा किबीको स्वादका लागि किबीको फ्लेभर सिरप प्रयोग गरिने उनले बताए । जसको मूल्य दुई सय ५० रुपैयाँ कायम गरिएको छ । 

चिया
नेपालीको चिया पिउने बानीबारे त बताउनैपरेन । त्यसैले कफी नपिउनेका लागि कफी हाउसले सिफारिस गर्ने अनिवार्य ड्रिंक चिया बन्ने गरेको छ । कफी अल्टरनेटिभ्सको रूपमा धेरै पिइने पनि चिया नै हो । कफी अल्टरनेटिभ्समा चियाका पनि विभिन्न भेराइटीको अल्टरनेटिभ्स पाइन्छन् । कफी पसलहरूमा तातो र चिसो चियाका भेराइटी मेनुमा राख्ने गरेका छन् । फुड कोर्टकी बिन्जु तामाङले भनिन्, ‘चियाविना त धेरैको फुड रुटिन पूरा नै हुँदैन । त्यसैले कफी पसलमा पनि चिया राख्नु अनिवार्यजस्तै हो ।’ फुड कोर्टको कफी बारमा लेमन आइस टी, ब्ल्याक टी लगायत चियाको मेन्यु छ । हिमालयन बिन्जमा पनि ब्ल्याक टी, मसला चियालाई कफी अल्टरनेटिभ्सको रूपमा मेनुमा समावेश गरिएका छन् । 

हनी हट लेमन
जाडो वा गर्मी जुनसुकै मौसममा पनि पिइने हनी हट लेमनलाई हरेकजसो कफी पसलले मेनुमा राखेका हुन्छन् । स्वास्थ्यवद्र्धक पनि भएकाले कागती पानी महलाई धेरैले मनपराउने गरेको हिमालयन बिन्जका ओमप्रकाश पंगाली बताउँछन् । त्यसैले हरेकजसो कफी पसलको सब्स्टिच्युट ड्रिंक्समा नछुट्ने आइटम हो, हनी हट लेमन। 

लस्सी
गर्मीको समयमा धेरै पिइने लस्सीलाई पनि लोकप्रिय कफी अल्टरनेकिटभ्सको रूपमा लिन सकिन्छ । साधारण स्वादका लस्सीदेखि विभिन्न फ्लेभरका लस्सीले कफी पसलका मेनु सजिएको पाउँछौँ । हिमालयन बिन्जको मेनुमा स्ट्रबेरी, भनिला लगायत फ्लेभरका लस्सी कफी अल्टरनेटिभ्सको रूपमा राखिएको छ । 

साधारण तरिकाबाट दहीलाई ब्लेन्ड गरी बनाइने लस्सी त लोकप्रिय छ नै । क्रिम समेत प्रयोग गरी बनाइएका स्मुदिज पनि कफी अल्टरनेटिभ्सका रूपमा पिउन सक्छौँ । हिमालयन जाभाको मेन्युमा विभिन्न खालका स्मुदी राखिएका छन् । ब्लु बेरी स्मुदीलाई यहाँको विशेष स्वादको रूपमा लिइन्छ । यो पिउनेले यसको पिंक कलर र ब्लुबेरी स्वादको निकै प्रशंसा गर्ने गरेका छन् । यो स्मुटी टेस्ट नगरेकाले जाभाको ब्लु बेरी पेस्ट्रीको स्वाद लिइसकेको भए यसको स्वाद अनुमान गर्न सक्छन् । त्यस्तै जाभाको मेनुमा भर्खरै भित्रिएको सल्टेड स्मुदीलाई पनि धेरैले मनपराएको जाभाका शेखर खड्काले बताए । उनले भने, ‘यसको स्विट सल्टेड स्वादमा चिसोपन निकै मनपराएका छन् ।’ दही, क्रिम, सुगर सिरपको प्रयोग गरी जाभाको स्मुदिज बन्छन् । 

प्रकाशित: ९ भाद्र २०७४ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App