८ वैशाख २०८१ शनिबार
अर्थ

सपिङ मलमा छुट र उपहार

केएल टावरमा लागेको सेल्स मेला । तस्बिर : अर्जुन तामाङ

काठमाडौं – चाडपर्व नजिकिएसँगै उपत्यकाका अधिकांश सपिङ मलको गेटमा रंगीचंगी बेलुन टाँगिएको छ । उपभोक्तालाई आकर्षित गर्न र सपिङ मलमा प्रवेश गर्दा कुनै फेस्टिभलको अनुभव दिलाउने गरी रंगीचंगी बेलुनका साथै प्रवेशद्वार आकर्षक बनाइएको छ । 

दशैं–तिहार आउन एक महिना बाँकी रहँदा सपिङ मलमा छुट मेला सुरु भएको छ । विश्वज्योति मल जमलमा भेटिएका विनोद श्रेष्ठ अहिले मलमा सुरु भएको मेलाले दशैंको झझल्को दिएको बताउँछन्। 

जमलस्थित विश्वज्योति मलको प्रवेशद्वार निकै आकर्षक रूपमा सजाइएको छ । यसरी आकर्षक रूपमा सजाइएका मलहरू युवापुस्ताका लागि पहिलो रोजाइमा पर्ने गरेका छन् । विश्वबजारमा रहेका ब्रान्डेड फेसनेबल कपडा, जुत्तादेखि कस्मेटिक सामान मलमा पाइने भएपछि युवापुस्ता मलमा आकर्षित हुँदै गएको विश्वज्योति मलका व्यवसायी सरोज अधिकारी बताउँछन् । उनका अनुसार मलमा विभिन्न पर्व र सन्दर्भमा मेला आयोजना गरेपछि मलमा चहलपहल हुनुका साथै उपभोक्तालाई बजारमा नयाँ आएको प्रडक्टसमेत जानकारी हुन्छ। 

विश्वबजारमा रहेका ब्रान्डेड फेसनेवल कपडा, जुत्तादेखि कस्मेटिक सामान मलमा पाइने भएपछि युवापुस्ता सपिङ मलमा आकर्षित हुँदै गएको विश्वज्योति मलका व्यवसायी सरोज अधिकारी बताउँछन् । 

बालाजुस्थित बिजी मलमा त्यस्तै सेल्स मेला लागेको छ । कुपन, लक्की ड्र, विशेष छुटजस्ता विशेषताका साथ सेल्स मेला चलिरहेको छ । मेलामा भेटिएका सञ्जय लामाले अहिलेको मेलामा विशेष छुटसमेत रहेकाले सामान खरिद गर्न आएको बताए । ‘सामान मलमै किन्ने गरेको छु, पछिल्लो समय साना पसलभन्दा पनि मार्ट र मलमा किन्ने बानी बसेको छ,’ उनले भने, ‘सहरीकरणको प्रभाव परिसकेको छ, त्यसैले पनि सामान्य पसलभन्दा पनि सपिङ सेन्टरमा सामान किन्ने गरेको छु।’ 
उपत्यकाको न्युरोड क्षेत्र अत्यधिक चहलपहल र कारोबार हुने केन्द्र हो । यहाँ रहेका ताम्राकार माबोइल कम्प्लेक्स, यती प्लाजा, विशालबजार, रञ्जना मल, काठमाडौं मल, सिटिसी मल, सिभिल मलमा समेत सेल्स मेला लाग्ने गरेको छ । त्यसैगरी, अहिले विभिन्न अफरसहित मेला लागिरहेको छ । ती मलहरूमा सामान्यतया १५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था छ । 

मोबाइल हबको रूपमा चिनिने ताम्राकार मोबाइल कम्प्लेक्समा विभिन्न ब्रान्डका मोबाइल बिक्रीका लागि राखिएका छन् । कम्प्लेक्सका अध्यक्ष जगत साउदले नेपालको मोबाइल हबको केन्द्र भनेको न्युरोड क्षेत्र भएको बताए । ‘यहाँ विश्वका हरेक ब्रान्डका मोबाइल पाइन्छ । सामान्यतया १५ सय रुपैयाँदेखिको मोबाइल यहाँ किन्न पाइन्छ,’ उनले भने, ‘हामीले विभिन्न सन्दर्भमा मोबाइलमा विशेष छुटका साथ मेला गरिरहेका छौं । यसले मोबाइल प्रयोगकर्तालाई नयाँनयाँ ब्रान्डका बारेमा जानकारी हुन्छ ।’

दरबारमार्गमा रहेका विभिन्न घडी पसल, जुत्ता पसल, चस्मा पसल, ब्रान्डेड कपडा पसलले समेत सेल्स भन्दै ३० प्रतिशत छुटको व्यवस्था गरेका छन् । त्यस्तै, चाबहिलस्थित केएल टावरमा २० साउनदेखि ‘बिग अफर मेला’ चलिरहेको छ । यसमा ४० हजार रुपैयाँबराबरको स्मार्ट फोन, १० हजार, ५ हजार र ३ हजार रुपैयाँको सपिङ कुपन, फुल क्यास ब्याक तथा एफ क्युब सिनेमाको टिकटजस्ता उपहार राखिएका छन् । 

बिग अफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्यागलगायतका दुई हजारभन्दा बढी किसिमका सामान खरिदमा असीमित छुट दिइने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए । सेल मेला अवधिभर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेसन सो, गेम सोलगायत कार्यक्रम राखिएको मेला आयोजकले जनाएको छ । 
‘उपत्यकामा रहेका अधिकांश मलले विभिन्न सन्दर्भमा मेला आयोजना गर्ने गरेका छन् । यसमध्ये केएल टावरको मेला भने फरक हुन्छ । केएल टावर कम्युनिटी बेसको मेला आयोजना गर्छ,’ बिग अफर मेला संयोजक तिमिल्सिनाले भने, ‘गिभ एन्ड टेकको रणनीति अपनाएर मेला आयोजना गर्नु केएलको फरक विशेषता हो । केएल टावरको मेलामा ५० प्रतिशत छुटसमेत रहेको छ ।’ 

 

प्रकाशित: ९ भाद्र २०७४ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App