७ वैशाख २०८१ शुक्रबार
अर्थ

विद्युत् महशुल नतिर्नेको लाइन काटिने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले बिजुली बालेर महशुल नतिर्ने ग्राहकको लाइन काट्ने भएको छ । प्राधिकरणले बिजुलीको बक्यौता ११ अर्ब रुपैयाँभन्दा बढी भएपछि रकम नतिर्ने ग्राहकलाई १५ दिने अल्टिमेटम दिएको हो । उक्त अवधिभित्र रकम नतिरे लाइन काटिने छ।

प्राधिकरणका अनुसार अहिलेसम्म ११ अर्ब २० करोड २१ लाख रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी छ । विद्युत महशुल नउठेका कारण प्राधिकरण घाटामा गएको भन्दै उर्जामन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा प्राधिकरणले अल्टिमेटम दिएको हो। 

ऊर्जा मन्त्रालयले पटक–पटक बाँकी बक्यौता असुल गर्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । मन्त्रालयले पुनः बक्यौता उठाउन ताकेता गरेको छ । मन्त्रालयको कार्यभार सम्हाले लगत्तै शाहीले विद्युत् महशुलको बक्यौता उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार कुल असुली हुन बाँकी रहेको रकममध्ये सामान्य ग्राहकको रकम सबैभन्दा बढी छ । हालसम्म सामान्य ग्राहकको बक्यौता चार अर्ब ६६ करोड ६३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

त्यसपछि काठमाडौं महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालगायतले सडक बत्ती प्रयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्ने रकम तीन अर्ब ६० करोड ७६ लाख ६६ हजार रुपैयाँ पुगेको छ । 

‘बक्यौता महसुल नउठाइ प्राधिकरण नाफामा जान सक्दैन,’ ऊर्जामन्त्री शाहीले केही दिनअघि भनेका थिए, ‘समय तालिका तोकेर नै बक्यौता तिर्न भनेका छौं ।’

निर्देशनालयका अनुसार गैर गार्हस्थ्यतर्फ ३१ करोड ७९ लाख सात हजार सात सय ६४, व्यापारिकतर्फ २९ करोड ९७ लाख ५७ हजार ६ सय ३० रुपैयाँ उठ्न बाँकी रहेको छ । 

त्यस्तै गैर व्यापारिकतर्फ ३० करोड ९९ लाख १७ हजार, मनोरञ्जनतर्फ ४४ लाख, औद्योगिकतर्फ एक अर्ब २१ करोड ७६ लाख २० हजार, सिँचाइतर्फ १४ करोड ८४ लाख २७ हजार ३२ रुपैयाँ बाँकी रहेको छ । 

मन्त्री शाहीले बक्यौता असुलीसँगै चुहावट नियन्त्रणको कामसमेत सँगसँगै लैजाने बताएका थिए । प्राधिकरण गत असारसम्म ९७ करोड रुपैयाँ घाटामा छ । 

खानेपानीतर्फ ६३ करोड ४१ लाख, यातायाततर्फ पाँच लाख ३६ हजार, मन्दिरतर्फ १४ करोड ६९ लाख ६१ हजार, सामुदायिकतर्फ १० करोड ११ लाख चार हजार, अस्थायी लाइन लिएका तर महसुल नतिरेका १५ करोड ७३ लाख १९ हजार रुपैयाँ बक्यौता रहेको छ । 

प्राधिकरणकाअनुसार आन्तरिकतर्फ ८४ लाख ७४ हजार, चुहावट पाँच लाख १३ हजार बाँकी रहेको छ । यस्तै लामो समय विद्युत् महसुल नतिरेपछि प्राधिकरणले कालोसूचीमा राखेका ग्राहकबाट ५७ करोड चार लाख नौ हजार रुपैयाँ बाँकी रहेको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App