४ वैशाख २०८१ मंगलबार
राजनीति

नेपालको संविधानप्रति भारतीय असन्तुष्टि कायमै

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब दुई वर्षअघि नेपालले जारी गरेको नयाँ संविधानप्रतिको असन्तुष्टिलाई निरन्तरता दिँदै नेपालसँग सम्बन्ध सुधारका लागि ‘नयाँ बाटो र अवसर’ माथि विशेष ध्यान दिएको बताएका छन्। उनले संविधानमा सबै वर्गका आकांक्षा समेटी सफल कार्यान्वयन गर्र्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याए।

‘नेपालको लोकतान्त्रिक व्यवस्था मजुबत बनाउनका लागि तपाईं (प्रधानमन्त्री शेरबहादुर देउवा)ले जुन तरिकाले व्यक्तिगत तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, त्यसको हामी प्रशंसा गर्छौं,’ नेपाल–भारत द्विपक्षीय बैठकपछि नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘मलाई पूरा विश्वास छ। तपाईंको कुशल र अनुभवी नेतृत्वमा समाजका सबै वर्गसँग कुराकानी गर्ने प्रक्रिया जारी रहनेछ।’

नयाँ संविधान जारी भएपछि नेपाललका देउवासहित तीनजना प्रधानमन्त्री (केपी शर्मा ओली र पुष्पकमल दाहाल)ले भारतको राजकीय भ्रमण गरिसके तर संविधानप्रति भारतको अडान फेरिएको छैन। 

नेपालले २०७२ असोज ३ गते जारी गरेको नयाँ संविधानलाई भारतले हालसम्म स्वागत गरेको छैन। उक्त संविधान असमावेशी भएको जनाउँदै त्यतिबेला भारतले ‘नोटिस’ मात्रै गरेको बताएको थियो। संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले त्यतिबेला नेपालमाथि पाँच महिना नाकाबन्दी लगाएको थियो। भारतले नेपालको संविधानका ७ व्यवस्थामाथि संशोधन हुनु पर्ने अडान राख्दै आएको छ। नयाँ संविधान जारी भएपछि नेपाललका देउवासहित तीनजना प्रधानमन्त्री (केपी शर्मा ओली र पुष्पकमल दाहाल)ले भारतको राजकीय भ्रमण गरिसके तर संविधानप्रति भारतको अडान फेरिएको छैन। 

‘नेपालका सबै नागरिकको भावना समाहित गर्दै संविधानलाई सफलताका साथ लागू गर्न सक्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं,’ नेपाली समकक्षीप्रति इङ्गित गर्दै मोदीले भने।

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच बुधबार साँझ अनौपचारिक भेटवार्ता भएको थियो। बिहीबार पनि देउवा र मोदीबीच औपचारिक रूपमा आधा घन्टाभन्दा बढी समय ‘वान टु वान’ भेटवार्ता भएको थियो। हैदराबाद हाउसमा वान टु वान वार्ता सकिएपछि त्यहीँ दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय वार्ता भएको थियो। वार्तापश्चात् दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका थिए।

‘दुवै देशका साझेदारीको असीम सम्भावनाबारे हामीले एकदमै विस्तारमा र सकारात्मक कुराकानी गरेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले नाकाबन्दीपश्चात् नेपालसँग बिग्रेको कूटनीतिक सम्बन्धलाई सुधार्न आफू लागिपरेको संकेत गर्दै भने, ‘अलग अलग क्षेत्रमा दुवै देशबीच सम्बन्धलाई अघि बढाउने नयाँ बाटो र नयाँ अवसरमाथि विशेष रूपमा हामीले ध्यान दिएका छौं ।’

संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रमको सुरुमै उनले नेपाली भाषामा सम्बोधन गरेका थिए । उनले भारतीय प्रधानमन्त्रीका रूपमा पहिलो नेपाल भ्रमण गर्दा २०७१ साउन १८ गते तत्कालीन संविधानसभामा पनि यसैगरी सम्बोधनको सुरुवात नेपाली भाषामा गरेका थिए। ‘नेपालको प्रधानमन्त्री शेरबहादुर देउवाजी र अन्य नेपाली अतिथिगण तपाईंहरूलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुसी लाग्या छ,’ उनले नेपाली भाषामा सम्बोधन गरे ।

प्रधानमन्त्री देउवाले ऐतिहासिक समयमा भारत भ्रमण गरेको उनले बताए । नेपाल र भारत दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहेको बेला नेपालका प्रधानमन्त्रीले गरेको भ्रमणलाई उनले महत्वपूर्ण भएको जनाए। उनले दौत्य सम्बन्ध ७० वर्ष पुगे पनि नेपाल र भारतबीचको सम्बन्ध हिमाल जति नै पुरानो रहेको बताए।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारत दुवै देशको नियति एकअर्कासँग जोडिएको टिप्पणी गरे। उनले एकअर्काको समृद्धि तथा सुखमा दुवै देशको महत्वपूर्ण हिस्सा रहने उल्लेख गरे। उनले अगाडि भने, ‘हामी एक अर्काको उपलब्धिमा गर्व गर्छौं, ठीक त्यसरी नै एकअर्काको पीडाको अनुभव पनि गर्छौं ।’

एक नजिकको छिमेकी र मित्र राष्ट्रको हैसियतले भारत नेपालको शान्ति, स्थायित्व र आर्थिक समृद्धिप्रति सधैं सजग रहने भारतीय प्रधानमन्त्री मोदीको धारणा थियो । नेपालको विकास र आर्थिक प्रगतिको प्रयासमा साझेदार हुन पाउँदा उनले खुसी व्यक्त गरे ।

‘लोकतन्त्रबाट प्राप्त उन्नति, शान्तिको स्थापना र सर्वाङ्गीण विकासका लागि नेपालका नागरिकले प्राप्त गरेको उपलब्धिको हामी प्रशंसा गर्दर्छौं,’ उनले भने । नेपालमा स्थानीय तहअन्र्तगत दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई बधाई समेत दिए ।

हाल नेपाल र भारतबीच हुलाकी सडक, विद्युत प्रसारण लाइन, एकीकृत चेक पोष्टलगायतका विकास परियोजना भारतीय सहयोगमा सञ्चालन भइरहेको उनले जानकरी दिए । उनले थपे, ‘पहिलेदेखि चलिरहेका जलविद्युत परियोजनाहरू निर्धारित समयभित्र पूरा गर्न प्रयास अझ बढाउनेमा हामीबीच सहमति भएको छ ।’

अरुण तेस्रो आयोजनाका लागि भूमिसम्बन्धी समस्या सुल्झेको जानकारी नेपाली समकक्षीबाट प्राप्त गर्दा उनले खुसी व्यक्त गरे । अरुण तेस्रो आयोजना शिलान्यास गर्न प्रधानमन्त्री देउवाबाट निमन्त्रणा प्राप्त गरेको उनले जनाए । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) लाई अन्तिम रूप दिने प्रक्रियालाई तीव्रता दिइने उनले बताए ।

नेपालका बाढीपीडितलाई हरसम्भवको सहायता उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले दोहोर्‍याए। ‘हामी यो कुरामा पनि सहमत भएका छौं कि सीमावर्ती क्षेत्रमा बाढी नियन्त्रण गर्न समन्वय र परामर्शलाई थप मजुबत पारिनेछ । र, एक अर्काको हितलाई ध्यानमा राखेर यसको दीर्घकालीन समाधान तर्फ सोच्नुपर्छ,’ प्रधानमन्त्री मोदीले भने ।

नेपालमा साझेदारी बढाउन भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले जनाए। धनगढीमा पोलिटेक्निक इन्स्टिच्युट निर्माण गर्न सैद्धान्तिक सहमति भएको पनि उनले जानकारी दिए। ‘दुवै देशमा व्यापार लगानी बढाउनेमा हामी सहमत भएका छौं । यो दुई देशका लागि मात्र होइन क्षेत्रीय समृद्धिका लागि पनि एकदमै आवश्यक छ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।

नेपाललाई रक्षा र सुरक्षा क्षेत्रमा सहयोग नेपाल–भारत साझेदारीको महत्वपूर्ण पाटो भएको उनले जनाए । नेपाल र भारतको सुरक्षा पनि एकअर्कासँग जोडिएको उनले बताए। उनले थप स्पस्ट पारे, ‘हाम्रो खुला सीमाको दुरुपयोग रोक्न र दुवै देशका जनताको सुरक्षाका लागि हाम्रा रक्षा र सुरक्षा निकायबीच निकट सहकार्य र सहयोग आवश्यक छ ।’ नेपाल र भारतबीच बौद्ध र रामायण सर्किट विकास गरेर दुई देशका जनता–जनताबीचको सम्बन्ध अझ विस्तार गर्नुपर्ने पनि उनले जनाएका थिए।

प्रकाशित: ९ भाद्र २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App