१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पका २७ महिना : रसुवाका १५ विद्यालयको भवन निर्माण सुरु हुनै सकेन

भूकम्पले भत्काएको स्कूलको सांकेतिक तस्विर

रसुवा—रसुवामा भूकम्पले पूर्ण क्षति पुगेका विद्यालय भवन निर्माणका लागि जग्गाको अभाव भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि रकम पर्याप्त भए पनि विद्यालयले जग्गा व्यवस्थापन गर्न नसक्दा जिल्लाको १५ सामुदायिक विद्यालय भवन निर्माण सुरु हुन नसकेको हो।

जिल्लामा सञ्चालित ९७ सामुदायिक विद्यालय छन्। ती मध्ये १५ मा जग्गाको अभाव रहेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ। विद्यालय भवन निर्माणका लागि सुरक्षित र पर्याप्त जग्गा नभएका सामुदायिक विद्यालय अस्यायी सिकाइ केन्द्रमा जसोतसो सञ्चालन हुन बाध्य छन्।

पार्वतीकुण्ड गाउँपालिकास्थित चिलिमेमा चिलिमे जलविद्युत आयोजना र साङजेन जलविद्युत आयोजनाले जग्गा खरिद गरेका कारण त्यस क्षेत्रमा सञ्चालित विद्यालयले जग्गा पाउन अप्ठ्यारो भएको छ। चिलिमेको थाम्वुचेतमा रहेको सरस्वती आधारभूत विद्यालय जलविद्युत आयोजनाको जग्गामा सञ्चालित छ।

जिल्लामा सञ्चालित ९७ सामुदायिक विद्यालय छन्। ती मध्ये १५ मा जग्गाको अभाव रहेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ। विद्यालय भवन निर्माणका लागि सुरक्षित र पर्याप्त जग्गा नभएका सामुदायिक विद्यालय अस्यायी सिकाइ केन्द्रमा जसोतसो सञ्चालन हुन बाध्य छन्।

आफ्नै जग्गा नहुँदा भवन निर्माण गर्न नसकिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक पूर्पुचेमो तामाङका अनुसार आयोजनाले जग्गा खरिद गरिसकेको कारण जग्गा खोज्न समस्या भएको हो। जग्गा खोजी कार्य भैरहेको तामाङले बताइन्।

तातोपानी प्रावि, सरस्वती निमावि, नेरा निमावि टिमुरे, नेरा प्रावि खाम्जिङ लगायतको विद्यालयमा जग्गा अभाव भएको छ। ‘विद्यालयको नाममा जग्गा नहुँदा भवन कसरी निर्माण गर्ने भन्नेमा समस्या आएको श्यामेवाङफेल मावि स्रोत केन्द्रका रामप्रसाद पाण्डेले नागरिकन्युजलाई बताए। ‘आफ्नै नाममा जग्गा भएका विद्यालयमा पनि थौरै जग्गा भएकाहरुमा कोटा अनुसारको कक्षा कोठा निर्माण हुन सक्ने अवस्था छैन’, उनले भने।

गत वर्ष जिल्लामा २७ विद्यालय निर्माणका लागि रकम आएपनि जग्गा व्यवस्थापन गरेका १९ विद्यालयले मात्र उक्त रकम पाएका थिए। ८ विद्यालयले जग्गा व्यवस्थापन गर्न नसकेपछि आएको रकम फ्रिज भएको जिल्ला शिक्षा अधिकारी शुकदेव सापकोटाले जानकारी दिए। कार्यालयले जग्गा खरिदका लागि रकम दिन मिल्दैन। भवन निर्माणका लागि जग्गा समुदायले जुटाउनु पर्ने हुन्छ।

‘विद्यालय व्यवस्थापन समिति र समुदायले जग्गा व्यवस्थापन गरेपछि मात्र रकम दिन मिल्ने भएकाले गत वर्ष आएको रकम फ्रिज भयो’, उनले भने।

२७ महिनामा १४ विद्यालयको पुनःनिर्माण

भूकम्प गएको २७ महिनामा जिल्लामा १४ विद्यालय भवन मात्र निर्माण सम्पन्न भएको छ। भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणको जिम्मा लिएका गैरसरकारी संस्थाले समयमा नै काम गर्न नसक्दा विद्यार्थी २७ महिनादेखि जस्ताको टहरामा पढ्न बाध्य छन्। कतिपय संस्थाले विद्यालय भवन बनाउने भनेर ओगटेर बसेपनि अहिलेसम्म काम सुरु गरेका छैनन् । कार्यालयका अनुसार १४ वटा विद्यालय निर्माण अन्तिम चरणमा पुगेका छन्।

प्रकाशित: ८ भाद्र २०७४ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App