coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रतिबन्धित भारु साटिदिन मोदीलाई आग्रह

काठमाडौं- भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले र भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट साट्ने व्यवस्था मिलाउन आग्रह गर्ने भएका छन्। मोदीसँगको भेटवार्तामा देउवाले प्रतिबन्धित भारु साटिदिन आग्रह गर्ने विषय एजेन्डामा रहेको उच्च सरकारी स्रोतले बताएको छ।

यसअघि कूटनीतिक माध्यमबाट र नेपाल राष्ट्र बैंकले प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) का उच्च अधिकारीसँग पटकपटक आग्रह गरिसकेको छ। तर, त्यसले मूर्तरुप लिन सकेको छैन।

नेपाल राष्ट्र बैंकका अधिकारीहरुले नेपालीलाई २५ हजार रुपैयाँबराबर भारु बोक्ने छुट दिइएकाले उक्त परिमाण बराबरका नोट साटिदिन आग्रह गरेका थिए। तर, भारतीय पक्षले भने प्रतिबन्धित भारु साट्न आलटाल गरिरहेको छ।

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय सकिसकेको छ। तर, नेपालमा रहेका नोटबारे अझै टुंगो लागेको छैन।

नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित पाँच सय र हजार दरका तीन करोड ७० लाख भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ। यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा प्रतिबन्धित भारु छ। भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गते राति १२ बजेदेखि पाँच सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ।

नेपाल राष्ट्र बैंकले त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो।

नेपाल राष्ट्र बैंकले प्रतिबन्धलगत्तै आफूसँग भएका ती दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरेको थियो।

करिब दुई वर्षअघिसम्म नेपालमा पाँच सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो। भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा पाँच सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो।

प्रकाशित: ८ भाद्र २०७४ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App