८ वैशाख २०८१ शनिबार
अर्थ

दुई प्रसारण लाइन उद्‍घाटन आज

काठमाडौं- भारतको पाँचदिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज (बिहीबार) कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनको दूर नियन्त्रित यन्त्र (रिमोट कन्ट्रोल) बाट उद्घाटन गर्ने भएका छन्। उक्त दुई प्रसारण लाइनको उद्घाटनपछि भारतबाट थप सय मेगावाट बिजुली आयात गर्न सकिने छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले प्रसारण लाइन उद्घाटन गरेलगत्तै भारतबाट थप सय मेगावाट बिजुली ल्याउन सकिने

दुवै प्रसारण लाइनबाट ५०–५० मेगावाट बिजुली ल्याउन सकिने ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बुधबार नागरिकलाई बताए। 'प्रधानमन्त्री देउवा भारत भ्रमणका क्रममा कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट बिजुली ल्याउने एजेन्डा परेको थियो,' उनले भने, 'नयाँ प्रसारण लाइनको निर्माणले भारतबाट थप सय मेगावााट बिजुली ल्याउन सहज हुन्छ।'

यसअघि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको क्षमता कमजोर भएका कारण उक्त क्षेत्रबाट थप बिजुली ल्याउन सकेको थिएन। १३२ केभी क्षमताका उक्त नयाँ प्रसारण लाइनबाट थप सय मेगावाट बिजुली आयात गर्न सकिने छ।

दुवै देशका प्रधानमन्त्रीले बिहीबार दूर नियन्त्रित यन्त्रबाट प्रसारण लाइनको शुभारम्भ गर्ने कार्यक्रम रहेको रक्सौल–परवानीपुर प्रसारण लाइन आयोजनका प्रमुख लक्ष्मीनारायण मुखियाले बताए। 'दुवै प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम छ,' उनले भने, 'दुवै प्रसारण लाइनको निर्माण कार्य यसअघि नै सम्पन्न भएको हो।'

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला दुई मुलुकका प्रधानमन्त्रीले ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रस बोर्डर प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

नेपालको हिउँदको लोडसेडिङ अन्त्य र दुई मुलुकबीचको प्रसारण पूर्वाधारको सुदृढीकरणका लागि भारतले अनुदानमा कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन निर्माण गरिदिएको हो। कटैया–कुशाहा र रक्सौल–परवानीपुरबाट ५०–५० मेगावाट विद्युत आयात गर्न सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गरिएको विद्युत्को मूल्यभन्दा १३२ केभीबाट आउनेको सस्तो छ।

केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय अधिकारी सम्मिलित पावर एक्सचेन्ज कमिटी (पिइसी)को नयाँ दिल्लीमा सम्पन्न बैठकले १३२ केभीबाट आयात गरिने बिजुलीको भाउ प्रतियुनिट ५.५५ भारु (८.८८ नेरु) तोकेको छ, जबकि ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने बिजुलीको प्रतियुनिट मूल्य क्रमशः भारु ६ (९.६ नेरु) र ६.४५ (१०.३२ नेरु) छ। 

कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनलाई आवश्यक पर्ने जग्गाको मूल्य नेपाल सरकार तथा प्राधिकरणले बेहोरेका थिए भने अन्य सम्पूर्ण खर्च भारतले बहोरेको हो। दुवै प्रसारण लाइनको निर्माण यसअघि नै सकिएको थियो।

यी दुई प्रसारण लाइन निर्माण भएसँगै भारतबाट करिब पाँच सय मेगावाटसम्म बिजुली आयात गर्न सकिन्छ।  गत वर्ष तीन सय ८५ मेगावाटसम्म बिजुली आयात भएको थियो।

गत आवमा प्राधिकरणले भारतबाट १४ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो। गत वर्ष कुल ऊर्जामध्ये भारतबाट आयातित बिजुलीको हिस्सा बढेर ३४.७६ प्रतिशत पुगेको छ। विद्युत प्राधिकरणको आफ्नो उत्पादनको ३८.८४ र निजी क्षेत्रको २८.४० प्रतिशत मात्र हिस्सा छ।

प्रकाशित: ८ भाद्र २०७४ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App