८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा अनुशासन समिति गठन

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँचसदस्सीय अनुशासन समिति गठन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका सभापति शेरबहादुर देउवाले बुधबार अनुशासन समिति गठन गरेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पाँचदिने भारत भ्रमणमा निस्कनुअघि रिजालको नेतृत्वमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी सदस्य रहेको समिति गठन गरेका छन्।

त्यस्तै, देउवाले पार्टीका चार नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा  हरिप्रसाद नेपाल, राधेचन्द्र यादव, अमृत अर्याल र ध्यानगोविन्द रञ्जित छन्। रञ्जितलाई पार्टी विधानको धारा २१ (झ) अनुसार र अरुलाई २१ (ठ) अनुसार केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने विधानको व्यवस्थाअनुसार देउवाले यसअघि पटकपटक गरी १२ नेतालाई केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन्।

पार्टी महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र केन्द्रीय समितिसहित सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था भए पनि पदाधिकारी मनोनयन तथा विभागसहितका अन्य निकाय अझै गठन हुन सकेका छैनन्।

प्रकाशित: ८ भाद्र २०७४ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App