६ वैशाख २०८१ बिहीबार
राजनीति

सद्भावतर्फ लम्किँदै समाज

टीकापुर बजार । तस्बिर : योगेश रावल

योगेश रावल

टीकापुर– टीकापुरको नाम सुनेपछि धेरैले २०७२ भदौ ७ को घटनालाई सम्झिन्छन् । दुई वर्ष अघि आजकै दिन आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी टीकापुर घटना भएको थियो । घटनालाई थारु र पहाडी समुदायबीचको द्वन्द्वकारूपमा अथ्र्याएर फाइदा उठाउने धेरैले प्रयत्न गरे पनि घटनापछिका दुई वर्षमा टीकापुरमा त्यसको कुनै छनक देखिएको छैन । बरु समाजमा दुवै समुदायबीचको सद्भााव झाङ्गिदै गएको छ । यसलाई स्थानीय तहको निर्वाचनले पनि पुष्टि गरेको छ । एकातिर निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ भने अर्कोतिर मिश्रित मत परिणाम आएको छ । यसले जनता मिलेर जानुपर्छ भन्ने सन्देश दिएको जनप्रतिनिधिहरू बताउँछन्। 

टीकापुरका मेयर तपेन्द्र रावल जनताको मतपरिणाम नै सद्भाव कायम भएको सूचक मान्न सकिने बताउँछन् । उनी मिश्रित मतपरिणाम आउनुले जनताले सबै मिलेर बस्नुपर्छ भन्न खोजेको बताए । ‘कुनै एउटा पक्षलाई मात्रै जनताले रोजेका छैनन,्’ उनले भने, ‘सबैलाई रोज्नुको अर्थ सबै मिल्नुपर्छ भनेको हो ।’

छिमेकी जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी पनि मेयर रावलको भनाइसँग सहमत छन् । उनको बुझाइमा पनि जनताले मिलेर अघि बढ्न निर्देश गरेका छन् । उनले स्थानीय तहको निर्वाचनले थारु र पहाडी समुदायबीच दूरी न्यूनिकरण गरेको बताए ।

सरकारले भदौ ८ गतेको आगजनीमा परेका थारु समुदायका व्यक्तिलाई क्षतिपूर्ती दिएको छ । अध्यक्ष चौधरी यसलाई पनि दूरी न्यून गर्दै सद्भाव बढाउने आधार बनेको बताउँछन् । उनीसमेत आगजनीपीडित हुन् ।
‘राज्यले ढिलै भए पनि हाम्रो पीडा बुझेको महशुस भैरहेको छ’ पीडित मध्येका एक अध्यक्ष चौधरीले भने, ‘दुई समुदायलाई दूरीको आभाष नहुने गरी काम गर्छु । अरुले पनि त्यसै गर्नुपर्छ ।’

घटनामा संलग्न भएको आरोपमा राज्यले ५८ जनाका नाममा मुद्दा दायर गरेको थियो । तीमध्ये २२ जना पक्राउ परेका छन् । ३४ जना फरार छन् भने दुर्ई नाबालक भएका कारण छोडिएको छ । घटनाबारेको मुद्दा अहिलेसम्म छिनोफानो हुन सकेको छैन । पीडितले नियतवस राज्यले दुःख दिन खोजेको गुनासो गर्दै आएका छन् । 

मानव अधिकारकर्मी फिरुलाल चौधरी घटनाको चाँडो छिनोफानो हुनुपर्ने बताउँछन् । उनी घटनाको छिनोफानोले सामाजिक दूरी अझ घट्ने विश्वास व्यक्त गर्छन् । उनकाअनुसार घटनाका आरोपी सबै दोषी छैनन् । 
‘निर्दोषलाई प्रक्रिया मिलाएर रिहा गरे हुन्थ्यो’ उनले भने, ‘यसले दूरी अझ कम हुन्थ्यो ।’

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले विगत दुई वर्षमा थारु र पहाडीका नाममा कुनै झै झगडा नभएको बताए । उनले यो सामाजिक सद्भावको उदाहरण भएको बताए । ‘हामी सधैं मिलेर बसेका छौं । बितेका दुई वर्ष पनि मिलेरै बस्यौं’ उनले भने, ‘यो सकारात्मक सन्देश हो ।’

२०७२ भदौ ७ गते टीकापुरस्थित सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ लेख्ने भन्दै आएका थरुहट कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको थियो । ठूलो संख्यामा रहेका थरुहट कार्यकर्ता विभिन्न नाकाबाट टीकापुर प्रवेश गर्न खोजेका थिए । सुरक्षाकर्मी अस्नेहरी, शिव मन्दिर, दुर्गौली, वनगाउँ, आँखा अस्पतालका नाकामा थरुहट कार्यकर्तालाई रोक्न सफल भए पनि मुनुवा गाविस हुँदै आएका कार्यकर्ता रोक्न असफल भएपछि हिंसात्मक घटना भएको थियो । 

घरेलु हतियारसहित आएका कार्यकर्ताहरूले सुरक्षाकर्मीलाई घेराबन्दीमा पारेर आक्रमण गरेका थिए । घरेलु हतियारको आक्रमणबाट घाइते भएर स्थानीयको घरभित्र लुकेर बसेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेलाई कार्यकर्ताले आँगनमा हत्या गरेका थिए । उनको टाउको ढुंगाले थिचिएको थियो । 

उनलाई बचाउनेक्रममा सशस्त्र प्रहरीका हवल्दार रामबिहारी थारुलाई कार्यकर्ताले जिउँदै आगो लगाएर मारेका थिए । उनी उग्रतारा सशस्त्र प्रहरी गणका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक हुन् । प्रहरी निरिक्षकद्वय डिल्ली बिष्ट र केशव बोहराको विभत्स शव धान खेतमा भेटिएको थियो । अन्य सुरक्षाकर्मीका शवसमेत विभत्स रूपमा भेटिएका थिए। 

घटनास्थल नजिकैको घरमा खेलिरहेका १८ महिनाका नाबालक टेकबहादुर साउदको टाउकोमा गोली लागेको थियो । सुरक्षाकर्मीमाथि आक्रमण भएको झण्डै एक घण्टापछि नाबालकलाई गोली लागेको उनका आफन्तले बताएका छन् । 
सुरक्षाकर्मीले थरुहट पक्षधरले गोली हानेको भन्दै आएको छ भने थरुहट पक्षधर नाबालकको मृत्युको दोषी आफूहरु नभएको दावी गर्छ । नाबालकका आफन्तले गोली हान्नेमा थरुहट पक्षधरलाई आरोप लगाउने गरेका छन् । 
घटनापछि टीकापुर र आसपासको क्षेत्रमा स्थानीय प्रशासनले धेरै दिनसम्म कफ्र्यु लगाएको थियो । सशस्त्र र नेपाल प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने भन्दै सरकारले नेपाली सेनासमेत परिचालन गरेको थियो । 

 

प्रकाशित: ७ भाद्र २०७४ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App