८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावमा जाने निर्णय गर्न दबाब

काठमाडाैँ  – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांश पदाधिकारीले अगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने औपचारिक र प्रस्ट निर्णय गर्न अध्यक्षमण्डललाई दबाब दिएका छन्।

राजपाको मंगलबारबाट सुरु पदाधिकारी बैठकमा पदाधिकारीमध्ये धेरैजसोले संविधान संशोधन विधेयक विफल भए पनि त्यसलाई स्वीकार गरेर चुनावमा जानुपर्ने सुझाएका छन् । केही नेताले राजपाबाट प्रतिनिधित्व गरेका सांसदहरूले संसद् सदस्यबाट राजीनामा गरेर पार्टी चुनावमा जानुपर्ने सुझाव दिए । संविधान संशोधन विधेयक पारित गराउन वर्तमान सरकार इमान्दार नदेखिएकाले पार्टीले सरकारलाई समर्थन गरिरहनुपर्ने आवश्यकता नभएको उनीहरूको धारणा छ।  

राजपाका १ सय ३३ पदाधिकारीमध्ये ५३ जनाले मंगलबारको बैठकमा बोलेका छन् । बैठकमा ९८ पदाधिकारी सहभागी छन् । राजपाका वरिष्ठ नेता रामनरेश राय यादवले बैठकमा बोल्ने धेरैजसोका धारणा संविधान संशोधन विधेयक विफल भए पनि पार्टी चुनावमा जानुपर्ने भन्ने रहेको बताए । ‘चुनावमा जानुपर्छ भन्ने अधिकांशले सुझाए । केहीले संसद् परित्याग गरेर पार्टी चुनावमा जानुपर्छ भन्ने विचार राखे।’ 

चुनावमा जानुपर्छ भन्ने सुझाव अधिकांश पदाधिकारीको छ । तर, केही नेताले सरकारलाई दिएको समर्थनको अर्थ र औचित्य नरहेकाले फिर्ता लिएर चुनावमा जानुपर्छ भन्ने सुझाव दिएका छन् । 
​अर्जुन उप्रेती, महाचिव, राजपा

राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अब पार्टी चुनाव बहिष्कार गर्न नहुने धारणा राखे । ‘हामीले यो संविधानलाई स्वीकार गरिसकेका छौं । त्यसैले हामी चुनावमा जानुपर्छ । दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनसँगै प्रादेशिक र संघीय संसद् चुनावमा सहभागी हुनुपर्छ,’ उनले भने । बैठकमा जितेन्द्र सोनल, नीलम बर्मा र जंगीलाल राय यादवले पनि चुनावमा जानुपर्ने सुझाव राखे । तर, कौशलेन्द्र मिश्र, मनीष सुमनलगायतका केही नेताले संविधान संशोधन नभई चुनावमा नजाने पार्टीको लाइन कायमै राख्नुपर्ने सुझाव दिएका छन् । मिश्रले  संविधान संशोधनबिना चुनावमा गए पार्टीले उठाएको अजेन्डा समाप्त हुने धारणा राखे। 

राजपाका महासचिव अर्जुन उपे्रतीले सरकालाई दिएको समर्थन फिर्ता लिएर चुनावमा जानुपर्ने सुझाव केही नेताले बैठकमा राखेको बताए ।  ‘चुनावमा जानुपर्छ भन्ने सुझाव अधिकांश पदाधिकारीको छ । तर, केही नेताले सरकारलाई दिएको समर्थनको अर्थ र औचित्य सकेकाले फिर्ता लिएर चुनावमा जानुपर्छ भन्ने सुझाव दिएका छन्,’ उनले भने। 

बैठकको प्रारम्भमा राजपा अध्यक्षमण्डलका संयाोजक महन्थ ठाकुरले पदाधिकारी बैठकमा छलफल गर्न  ५ वटा अजेन्डा राखेका थिए । उनले पहिलो अजेन्डामा संविधान संशोधन अस्वीकृत भएको अवस्थामा पार्टीका आगामी रणनीतिबारे बोल्न आग्रह गरेका थिए । उनले चुनावमा जाने कि नजाने, चुनावमा गए कुन चुनाव चिह्न प्रयोग गर्ने, उम्मेदवार चयन गर्ने कार्यविधि कस्तो बनाउने र चुनावी तयारीका लागि आर्थिक, प्रचारप्रसारलगायत कुन–कुन समिति बनाउने लगायतका अजेन्डा बैठकमा रोखेका थिए । बैठकमा अधिकांश नेताले छाता चुनाव चिह्न नपाए पनि तत्कालीन ६ पार्टीमध्ये कुनै एक पार्टीको चुनाव चिह्न प्रयोग गरेर चुनावमा जानुपर्ने सुझाव राखेका थिए । मंगलबारको बैठकमा सबै पदाधिकारीले बोल्न नभ्याएपछि अर्को बैठक बुधबार (आज) बस्ने भएको छ । बुधबार बस्ने बैठकले चुनावका बारेमा स्पस्ट निर्णय गर्ने नेताहरूले जनाएका छन्। 

राजपाका असन्तुष्ट नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्तालगायतका नेताहरू यसपटक पनि पार्टी पदाधिकारी बैठकमा सहभागी भएनन् । यसअघिका पदाधिकारी बैठकमा पनि उनीहरू अनुपस्थित थिए। 

प्रकाशित: ७ भाद्र २०७४ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App