काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि युरोपेली संघ (इयू), इजरायली राजदूत र इजिप्टका राजदूतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । इयूकी राजदूत रिन्चे टेरिङ, इजरायलका राजदूत यारोन मायर र इजिप्टका राजदूत बहेर नब्ल अब्देलफताह हेल्मीले परराष्ट्रमन्त्री महरासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका हुन्।
भेटवार्तामा मन्त्री महरा र इयूकी राजदूत टेरिङबीच विकास सहायता एवम् आपसी सम्बन्ध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री महराले युरोपेली संघले नेपालको विकासमा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । ‘शान्ति प्रक्रियाका कार्यभार पूरा हुने अन्तिम चरणमा रहेको उल्लेख गर्दै उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो,’ महराका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूत टेरिङले आफ्नो कार्यकालमा नेपालमा महत्त्वपूर्ण परिवर्तन भएको स्मरण गर्दै नयाँ संविधान कार्यान्वयन सकारात्मक तवरले अगाडि बढेकोमा खुसी व्यक्त गरेकी थिइन्।
त्यसैगरी मन्त्री महरा र इजरायलका राजदूत मायरबीचको भेटमा दुई मुलुकबीचको सम्बन्ध, आपसी सहयोग र समझदारीका विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री महराले कूटनीतिक राहदानीबाहक नागरिकलाई एकअर्काको मुलुकमा प्रवेशाज्ञा दिने विषय प्रक्रियामा रहेको र यसलाई सकारात्मक रुपमा अगाडि बढाइने जानकारी दिएका थिए।
इजरायल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको र उसले बर्सेनि ४ सय नेपालीलाई साना किसानको माध्यमबाट तालिम उपलब्ध गराएकाप्रति मन्त्री महराले धन्यवाद दिएका थिए । राजदूत मायरले पछिल्लो समयमा नेपाल सही दिशामा अगाडि बढेको उल्लेख गर्दै आर्थिक विकास र समृद्धिको बाटोमा निरन्तर सहयोग गर्ने विश्वास दिलाएका थिए ।
यसैगरी मन्त्री महरा र नेपालका लागि इजिप्टका राजदूत हेल्मीबीच भएको भेटमा पनि द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री महराले नेपाल–इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्ध अझै विस्तार भएर जाने बताएका थिए । उनले शैक्षिक क्षेत्रमा इजिप्टले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । राजदूत हेल्मीले नेपालमा ठूलो परिवर्तन भइरहेको उल्लेख गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: ७ भाद्र २०७४ ०३:०१ बुधबार