६ वैशाख २०८१ बिहीबार
राजनीति

‘सीमा विवादले कसैको सिन्दूर नपुछियोस्’

काठमाडौं – भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिबद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाका दोषीलाई कारबाही गरेको छ  न छानबिनबारे नेपाललाई कुनै जानकारी नै दिएको छ । यो पाँच महिनाको अवधिमा नेपालले पनि छानबिनबारे के भइरहेको छ भनेर भारतसँग सोधेको छैन । यसअघिका भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादतीजस्तै कञ्चनपुरमा भएको ज्यादती पनि छानबिनको नाममा सेलाएको छ। 

‘घटनाबारे छानबीन भइरहेको छ, सकिएपछि नेपाललाई जानकारी दिइन्छ,’ गोविन्द गौतम मारिएको घटनाको छानबिनबारे मंगलबार जिज्ञासा राख्दा काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीत शर्माले भनिन् । छानबिन कहिले सकिएला त भन्ने नागरिकको अर्को जिज्ञासामा उनले भनिन्, ‘छानबिन हो, कहिले सकिन्छ केही भन्न सकिन्न ।’ गत फागुन २६ गते एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको आनन्दबजार नजिक गोविन्द गौतमको मृत्यु भएको थियो । पछि उनलाई सरकारले सहिद घोषणा गरेको थियो । बिनाअनुमति हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीका जवानले नेपाली भूमिभित्रै नेपाली नागरिकलाई गोली हानेका थिए। 

‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो । सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पुछिन सक्छ । त्यसैले प्रधानमन्त्रीज्यूलाई म सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ 

नेपाली भूभागमा नेपालीले कल्भर्ट निर्माण गर्न लागेपछि उक्त भूभाग भारतको भन्दै एसएसबीले २०७२ फागुन २५ गते नेपालीलाई कुटपिट गरेको थियो । एसएसबीको ज्यादतीको विरोधमा भोलिपल्ट उक्त क्षेत्रमा नेपालीले प्रदर्शन गरेका थिए । प्रदर्शन दमन गर्न एसएसबीले हस्तक्षेप गर्दै गोली चलाउँदा गौतमको मृत्यु भएको थियो । त्यसपछि घटनालाई लिएर नेपालमा ठूलो विरोध भएपछि भारत सरकारले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो। 

आफ्नो श्रीमान्लाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात् कारबाही गर्ने भन्ने उनले पनि सुनेकी थिइन् । तर, आफ्नो श्रीमान्लाई मार्ने दोषी एसएसबी जवानमाथि छानबिन भयो वा भएन, कारबाही भयो वा भएन उनलाई केही पत्तो छैन । घटना भएको केही दिनसम्म नेताहरूका उनको घरमा लर्को लागेको थियो, त्यसपछि कोही पुगेका छैनन् । ‘आलो घाउ हुँदा थुप्रै नेता आएका थिए घरमा, जतिबेला म बोल्न पनि सक्दिनथें । अहिले केही बोल्न सक्छु तर कसैले सम्झँदैनन्,’ गोविन्दकी श्रीमती २९ वर्षे लक्ष्मी गौतमले मंगलबार नागरिकसँग टेलिफोनमा बताइन्, ‘जहिले मेरो श्रीमान्लाई गोली चलाउनेमाथि कारबाही हुन्छ, तब मात्र मेरो मनलाई शान्ति मिल्छ।’ 

एसएसबीको ज्यादतीबाट पीडित हुने लक्ष्मी गौतम एक्ली हैनन् । एसएसबीका जवानले पटकपटक बिनाअनुमति हतियारसहित नेपाल प्रवेश गरी नेपालीमाथि गोली हान्ने गरेका छन् । यस्ता घटना भएपछि सधैं नेपालभित्र विरोध हुन्छ, त्यसपछि भारतले छानबिन गरी दोषीलाई कारबाही गर्छु भन्छ, घटना त्यसै सेलाउँछ । आजसम्म नेपालले यस्ता घटनामध्ये एउटाको पनि छानबिन प्रतिवेदन पाएको छैन । सकेसम्म त भारतले यस्ता घटनामा एसएसबीको संलग्नतालाई नै स्विकार्दैन । घटना स्विकार्नै पर्यो भने पनि नेपालीमाथि तस्करको ट्याग लगाइन्छ । विरोधको स्वर नेपालभित्र निकै चर्कियो भने  मात्र छानबिन गर्ने प्रतिबद्धता भारतले जनाउने गर्छ । तर, छानबिन भने सधैं प्रतिबद्धतामै सीमित हुनेगर्छ।  

गत वर्ष फागुनमा कञ्चनपुरमा जस्तै २०७२ मंसिर ९ गते बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही जवान सुनसरीको सीमावर्ती हरिहरपुर गाविस प्रवेश गरी नेपालीमाथि गोली बर्साएका थिए । बिनाअनुमति नेपाल सीमाभित्र प्रवेश गरेका एसएसबीका जवानले चलाएको गोली लागी स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । नयाँ संविधान जारी गरेकामा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाइरहेको बेला एसएसबीका जवान नेपालभित्र प्रवेश गरी नेपालीमाथि नै गोली बर्साएका थिए । 

घटनालगत्तै नेपालभित्र ठूलो विरोध भयो । त्यही दिन काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर भन्यो– ‘सीमा सुरक्षाबलले गोली प्रहार गरेको भनी नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारलाई दूतावासले नियालेको छ । यी समाचारहरु वास्तविक होइनन् ।’ घटनाको वास्तविकता भनी दुतवासले रचेको कथा यस्तो थियो, ‘एसएसबीको गस्तीसँग नेपालको सुनसरी जिल्लापारि भारतीय भूभागभित्र केही तस्करको भेट भै धावा बोल्दा तस्कर र तिनका मतियारले गस्ती टोलीमाथि आक्रमण गरी एक जवानलाई घाइते बनाएकाले एसएसबी जवानले आत्मरक्षाका लागि हवाइफायर गरेपछि तस्करहरू भागेका थिए । भारतीय भूभागभित्र भएको उक्त घटनामा कुनै नेपाली नागरिक घाइते भएको छैन ।’ 
चौतर्फी विरोध भएपछि घटना भएको भोलिपल्ट सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय एसएसबीले नेपालभित्र प्रवेश गरी गोली चलाउँदा चारजना नेपाली घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बतायो । काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गर्दै परराष्ट्रले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र त्यसको जानकारी नेपाललाई गराउन समेत भन्यो । परराष्ट्रले यस्ता घटना भविष्यमा हुन नदिन पनि भारतलाई आग्रह गर्‍याे। 

सुनसरीको हरिहरपुर घटना भएको चार दिन बित्न पाएको थिएन, झापामा अर्को घटना भयो । २०७२ मंसिर १३ गते बिहान ७ बजे झापाको केचना गाविसमा भारतीय एसएसबीका १३ जवान हतियारसहित प्रवेश गरे । नेपाली सुरक्षा निकायले उनीहरूलाई नियन्त्रणमा लियो । पछि सहमतिमा नेपाल सरकारले उनीहरूलाई भारतसमक्ष बुझायो । बिनाअनुमति एसएसबीका जवान हतियारसहित नेपाल प्रवेश गरेको घटनाप्रति पनि परराष्ट्रले विज्ञप्ति जारी गर्दै भारतसमक्ष गम्भीर चासो व्यक्त ग¥र्यो । नेपालले भविष्यमा यस्ता घटना दोहोरिन नदिन भारतलाई सचेतसमेत गरायो। 

२०६७ चैत ५ गते बर्दिया, जमुनीका हर्कबहादुर शाही नजिकैको जंगल जाँदा एसएसबीको गोली लागी घाइते भएका थिए । उनलाई एसएसबीले नेपालभित्र प्रवेश गरी गोली हानेको थियो । घाइेत शाहीलाई एसएसबीका जवानले आँफूसँगै लगेका थिए । शाहीका परिवारले उक्त घटनाबारे स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । पछि राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले घटनाको स्थलगत अनुगमन गरी शाहीलाई एसएसबीले पक्राउ गरी बेपत्ता पारेको ठहर गरेको थियो । उनको अवस्था अहिलेसम्म अज्ञात छ। 

चार वर्षअघि पनि हतियारसहित आएको एसएसबीका जवानले बर्दिया, मनिकापुरका जग्गु चौधरीलाई सानोश्रीबाट पक्राउ गरेको थियो । घटनालगत्तै चौधरीका परिवारले स्थानीय प्रशासनलाई खबर गरे ।  तर, चौधरी एसएसबीको पन्जाबाट फुत्किन सकेनन् । २०७० फागुन १२ गते पनि एसएसबीले यस्तै ज्यादती गरेको थियो । सीमा क्षेत्रमा दाउरा लिन गएका बर्दिया, आशापुरका ४६ वर्षीय राममिलन लोधलाई एसएसबीले पक्राउ ग¥यो । उनीसँगै जंगल गएका अन्य ५ जना एसएसबीको गोलीको शिकार बने । गम्भीर घाइते भएका रामलिनलाई एसएसबीले लग्यो, उनको अवस्था अहिलेसम्म खुल्न सकेको छैन। 

यी केही प्रतिनिधि घटना मात्र हुन्, फेहरिस्त निकै लामो छ । एसएसबीले प्रत्येकपटक अन्तर्राष्ट्रिय कानुनको उललंघन गर्दा सरकारले विज्ञप्ति निकालेर भारतलाई सचेतमात्र गराउने गरेको छ । नेपालले घटनाको छानबिन गरी दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति, छानबिन प्रतिवेदनबारे नेपाललाई जानकारी गराउन र भविष्यमा यस्ता  घटना दोहोरिन नदिन भन्दै आएको छ । नेपाल सरकारको यो आग्रहलाई भारतले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेझैं बेवास्ता गर्दै आएको छ। 

अहिले देशका प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी सुदुरपश्चिमका हुन् । यसकारण पनि लक्ष्मीलाई आफूले न्याय पाउने र दोषीमाथि कारबाही हुने आशा जागेको छ । प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणको सिलसिलामा बुधबार त्यसतर्फ जाँदैछन् । प्रधानमन्त्रीले आफ्नो र आफूले जस्तै पीडा भोगिरहेका नेपालीका आवाज भारतसमक्ष उठाउने विश्वास लक्ष्मीको छ।  

त्यसो त श्रीमान गोविन्द मारिएलगत्तै उनलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पुगेका थिए । ओलीले पार्टीका तर्फबाट र दाहालले सरकारका तर्फबाट उनलाई आर्थिक सहयोग उपलब्ध गराएका थिए । तर, आफ्नै क्षेत्रका नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा भने दुःखका घडीमा उनीकहाँ पुगेका थिएनन् । यसले उनलाई बिझाए पनि अहिले उनको पक्षमा आवाज उठाउने आशा उनले राखेकी छिन्। 

भारतसँग सीमा विवाद नमिल्दा आफ्नो सिन्दूर पुछिएको बुझाइ लक्ष्मीको छ । अहिले नेपाल र भारतबीच सुस्ता, कालापानीलगायत ७१ ठाउँमा सीमा विवाद छ । यसलाई सुल्झाउन दुवै पक्ष गम्भीर भएर लागेका छैनन् । त्यसैले अझै धेरैको सिन्दूर पुछिने डर लक्ष्मीमा छ । ‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो । सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पुछिन सक्छ । त्यसैले प्रधानमन्त्रीज्यूलाई म सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्री देउवालाई सुझाव दिइन्। 

 

प्रकाशित: ७ भाद्र २०७४ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App