८ वैशाख २०८१ शनिबार
राजनीति

परराष्ट्र मन्त्रीसँग तीन राजदूतको शिष्टाचार भेट

काठमाडौँ- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले आज शिष्टाचार भेट गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच विकास सहायता एवं आपसी सम्बन्धका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्र मन्त्री महराले युरोपेली सङ्घले नेपालको विकासमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

शान्ति प्रक्रियाका कार्यभारहरु पूरा हुने अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएको मन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए।

सो अवसरमा राजदूत टिरिङले आफ्नो कार्यकालमा नेपालमा महत्वपूर्ण परिवर्तन भएको बताउँदै नयाँ संविधान कार्यान्वयन सकारात्मक तवरले अगाडि बढेको बताइन्।

त्यसैगरी, परराष्ट्रमन्त्री महरासँग आजै नेपालका लागि इजराइली राजदूत यारोन मेयरले शिष्टाचार भेट गरे। मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई मुलुकबीच सम्बन्ध आपसी सहयोग तथा समझदारीका विषयमा छलफल भयो ।

सो अवसरमा परराष्ट्र मन्त्री महराले नेपाल र इजरायलबीच दुवै मुलुकको कुटनीतिक राहदानी बाहक नागरिकलाई एकअर्काको मुलुकमा प्रवेशाज्ञा दिने विषय प्रक्रियामा रहेको र यसलाई सकारात्मक रुपमा अगाडि बढाइने बताए।

उहाँले इजरायल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको र वर्षेनी ४०० जनालाई साना किसानको माध्यमबाट तालिम उपलब्ध गराएको प्रति धन्यवाद दिए।

राजदूत यारोनले पछिल्लो समयमा नेपाल सही दिशामा अगाडि बढेको उल्लेख गर्दै आर्थिक विकास र समृद्धिको बाटोमा निरन्तर सहयोग गर्ने विश्वास दिलाए।

त्यस्तै, परराष्ट्र मन्त्री महरासँग नेपालका लागि इजिप्टका राजदूत बहेर नाबिल अब्देल फताह हेल्मीले आज शिष्टाचार भेट गरे। मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धमा अझै विस्तार भएर जाने बताए। उनले शैक्षिक क्षेत्रमा इजिप्टले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

राजदूत हेल्मीले नेपालमा ठूलो परिवर्तन भइरहेको उल्लेख गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए। रासस

 

प्रकाशित: ६ भाद्र २०७४ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App