७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले घर पुरिँदा ४ को मृत्यु

पाल्पा- अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा पाल्पामा एउटै परिवारका ३ सहित ४ जनाको ज्यान गएको छ। गोठाडी–५, दमारमा पहिरोले घर पुर्दा ४५ वर्षका तामबहादुर कनौजे, उनकी श्रीमती खगीसरा कनौजे र छोरी यसोदा कनौजेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सोमबार राती घरमा सुतिरहेको समयमा पहिरो खसी घर पुरेकोले उनीहरुको शव बिहानमात्र निकालिएको थियो।

सिद्धार्थ राजमार्ग सडक खण्ड अन्तर्गतको दोभान–१ झुम्सामा घर पुरिँदा १ जनाको मृत्यु भएको छ। तिलोत्तमा उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत वर्ष १५ की अस्मिता विकको मृत्यु भएको हो। मंगरबार बिहान पहिरो खस्दा ६ घर पुरिएका थिए । बिहान करिब ५ बजेको समयमा पहिरो खसेका कारण घरका अन्य मानिसहरु भने भाग्न सफल भएको स्थानीय कुलचन्द्र पुरीले बताए।

एक सय मिटर माथिबाट पहिरो खसेका कारण सिद्धार्थ राजमार्ग बिहानदेखी अवरुद्ध भएको छ । डोजरको सहायताले राजमार्ग खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले बताए।

यस्तै पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडीमा कालीगण्डकी नदिले ३ घर डुबाएको छ। रिडीमा २०३८ यताको ठूलो बाढी आएको स्थानीय चुरामणी तिमिल्सिनाले बताए । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले लगातार वर्षा भैरहेका कारण पानीको बहाव बढ्न सक्ने भएकोले स्थानीय बासिन्दाहरुलाई सचेत रहन आग्रह गरेको बताएका छन्। जिल्ला दैविप्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाईटीले झुम्साका पहिरो पीडितहरुलाई मंगलबार नै राहतका सामाग्रीहरु वितरण गरेको छ ।

कालीगण्डकी करिडोर लगायत पाल्पाका सबै ग्रामीण सडकहरु समेत पहिरोका कारण अवरुद्ध भएका छन्।

प्रकाशित: ११ श्रावण २०७३ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App