७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहट सदरमुकामसहित सयौं बस्ती उच्च जोखिममा

रौतहटको गढीमाइ नगरपालिका गम्हरीया पर्साको लक्ष्मीपुर टोल नजिक बागमति नदिको वाढीले कटान गरेको २ रौतहटको देवाही गोनाही नगरपालिका दोहर टोलका स्थानीय वकैया खोलाको तटबन्धमा पाल टागेर गुजारा चलाउदै। तस्बिर : मदन ठाकुर

रौतहट- देवाही गोनाही नगरपालिका–८ दोहरटोलका ६० वर्षीय शिवदयाल साह आकाशमा कालो बादल देख्नासाथ त्रसित हुन्छन्। गाउँको छेवैबाट बग्ने बकैया नदीले तटबन्ध कटान गरेपछि बाढीले गाउँमा विनाश लीला मच्चाएको दृश्य सम्झँदै आकाशमा पानी पर्ने लक्षण देख्नासाथ साह त्रसित बन्ने गरेका छन्। पानी परेर बकैयाको भेलले फेरि सयौँको उठिबास गराउने पो हो कि भन्ने त्रास साहको छ।

साहजस्तै जयनारायण राय यादव पनि वर्षा भन्नासाथ झस्किन्छन्। बाढीले घर भत्काएपछि बकैयाकै तटबन्धमा पाल टाँगेर भैँसी, बाख्रालगायतका पशुसँगै गुजारा गरिरहेका यादवलाई पानी पर्दा फेरि भयंकर ठूलो क्षति हुने डर छ। आफ्नो जीवनमा यस पालाको जस्तो ठूलो बाढी आएको नदेखेको भन्दै यादव दाबी गर्छन्, …अब ठूलो पानी परेर बाढी आयो भने केही पनि बाँकी रहँदैन।'

जिल्लाका दुई ठूला नदी बागमती र बकैया नदीमा बनाइएको तटबन्ध दर्जनौँ ठाउँमा भत्किँदा बारा, रौतहट र सर्लाहीका सयौँ बस्ती बाढीको उच्च जोखिममा परेका छन्। साह र यादव त उदाहरण मात्र हुन्। सर्लाहीको महिनाथपुर, बलरा, सिसौट, खैरबा, धुर्वा, मानपुर, सुदामा, हथिऔल, छतौना, बडहर्वालगायत दर्जनौँ गाउँ बागमती नदीको पूर्वी तटबन्ध पाँच ठाउँमा भत्किनाले बाढीको उच्च जोखिममा छन्। यसैगरी बागमती नदीको पश्चिमी भाग रौतहटतिर बनाइएको तटबन्ध तीन ठाउँमा भत्किनाले रौतहटको लक्ष्मीपुर, समनपुर, गम्हरिया पर्सा, बलुवा, मदनपुर, धर्मपुर, पकाहा, सिंगारमन, गढो, पिपरा भलोहिया, मत्सरी, बडहर्वा, बसतपुर, ब्रह्मपुरी, राजदेवी, बेलबिछवा तथा सदरमुकाम गौरलगायत दुई दर्जन बस्ती बाढीको उच्च जोखिममा रहेको देखिएको छ। यसैगरी बकैया नदीमा निर्माण गरिएको तटबन्ध दुवैतर्फ दर्जनौ ठाउँमा बाढीले भत्काएको छ। बकैया नदीको पूर्वी तटबन्ध सात ठाउँ र पश्चिमी तटबन्ध पन्ध्र ठाउँमा बाढीले भत्काएपछि रौतहटका करिब तीन दर्जन र बाराको एक दर्जनभन्दा बढी गाउँ डुबानको उच्च जोखिममा परेका छन्।

बकैया र बागमती नदी नियन्त्रण गर्न नदीको दुवैतिर बनाइएको तटबन्ध ठूलो बाढीले तहसनहस हुनेगरी भत्काएपछि बस्तीहरूमा पानी पसेर अकल्पनीय क्षति पुर्‍याएको छ। तटबन्ध भत्किएपछि बाढी सिधै बस्तीमा पस्ने डरले सर्लाही, रौतहट र बारामा त्रास देखिएको छ। तीन जिल्लाका सानाठूला गरी करिब सय बस्ती बाढीको उच्च जोखिममा छन्। बकैया र बागमती नदीको बाढीको उच्च जोखिममा रहेकाहरूले सरकारसित तुरुन्त नदी नियन्त्रण तथा भत्किएको बाँधको संरचना मर्मतको माग गरेका छन्।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डिभिजन नम्बर ८ परवानीपुर बाराका प्रमुख राजकुमार श्रीवास्तवले पर्सा, बारा, रौतहट र सर्लाहीमा बाढीबाट विभिन्न नदी तथा बाँधमा पुगेको क्षतिको विवरण पठाइसकेको बताउँदै बकैया र बागमती नदीको तटबन्ध कटान भएपछि बस्तीहरूमा ठूलो क्षति पुगेको स्वीकार्छन्। दुवै नदीले ३४ ठाउँमा तटबन्ध कटान गरेकाले क्षतिको पहिचान गरी मर्मतको लागि विभागमा पठाएको उनले जानकारी दिए। विभागले स्वीकृत गरेपछि नदी नियन्त्रण तथा तटबन्ध मरम्मतको काम तत्काल सुरु गर्ने प्रमुख श्रीवास्तवले बताए।

प्रभावित क्षेत्रमा रोगको प्रकोप

बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमी तथा बाढीको पानी अत्यधिक गन्हाएका कारण विभिन्न रोगको प्रकोप देखा पर्न थालेको छ। जिल्लाको बडहर्वा, देबाही, गम्हरिया पर्सा, बेलबिछवा, करुनियालगायतका प्रभावित क्षेत्रमा पखाला, ज्वरो, छालासम्बन्धी रोग, कान पाक्नेलगायतका समस्या देखा पर्न थालेको छ। देवाही गोनाही नगरपालिकामा आयोजित शिविरमा दोहर र फुलबरियालगायतका प्रभावित बस्तीका करिब एक हजारले स्वास्थ्य परीक्षण गराउँदा दुई वर्षमुनिका दुई सय बालबालिका प्रभावित भेटिएका छन्। यसैगरी चार सयभन्दा बढीमा छालासम्बन्धी रोग, पचास जनाको हात–खुट्टामा घाउ भएको, पन्ध्र्रजनालाई ज्वरो र बीसभन्दा बढीमा पखाला रोग देखिएको खेसरहिया स्वास्थ्य चौकीका प्रमुख प्रमोद गुप्ताले जानकारी दिए।

मौसम परिवर्तन भएको र बाढीपछिको वातावरण दुषित भएकाले प्रभावित बस्तीमा फाटफुट बिरामी पर्ने क्रम देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली नै पठाएर शिविर चलाइएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नवलकिशोर झाले बताए। प्रभावित क्षेत्रमा फाटफुट रोगको प्रकोप देखा पर्न थालेको र स्वास्थ्यकर्मीको टोलीले प्रभावकारी उपचार गरिरहेको डा. झाको दाबी  छ। जिल्लामा कुनै पनि रोगले महामारीको रूप लिएको भन्ने हल्ला पूर्णतया निराधार रहेको डा. झाको दाबी छ।

पुग्न थाल्यो राहत

जिल्लामा विभिन्न संघसंस्थाहरुले बाढी पीडितहरुलाई धमाधम राहत वितरण गर्न थालेका छन्। सर्वोच्च अदालतले राहतमा एकद्वार प्रणाली हटाएपछि विभिन्न संघसंस्था, कम्पनी, उद्योग तथा केही निजी प्रयासमा बाढी पीडितहरुलाई राहत वितरणमा सजिलो भएको छ। सडकहरु पनि धमाधम मरम्मत भइरहेको र बाढी सुकिसकेकोले प्रभावित गाउँहरुमा राहत पुग्न थालेको छ। तर चिउरा, दालमुठ, बिस्कुट, चिनी जस्ता सुख्खा राहत बढी पुगेको र पीडितहरुले पकाएर खाने, बास बस्ने तथा सुविधायुक्त जीवन बिताउन सकिने किसिमको राहत कम भएको पीडितहरुको गुनासो छ।

यसै बीच कलाकारद्वय धुर्मुस र सुन्तलीले पनि रौतहटका बाढी पीडितलाई राहत प्रदान गरेका छन्। सदरमुकाम गौरको दलित बस्तीमा पुगेर एक सय पचास घरपरिवारलाई आधारभूत सुविधायुक्त राहत प्रदान गरेका छन्।

संकतग्रस्त जिल्ला घोषणा गर्न ज्ञापन

देशमा सबैभन्दा बढी प्रभावित जिल्ला भएकोले जिल्लामा कार्यरत अधिकांश राजनीतिक दल तथा नागरिक समाजले प्रधानमन्त्रीलाई संकटग्रस्त जिल्ला घोषणा माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा राहतको प्याकेज ल्याउन र जिल्लालाई संकटग्रस्त घोषणा गर्न माग गरिएको राजपाका केन्द्रीय सदस्य रेवन्त झाले बताएका छन्।

प्रकाशित: ६ भाद्र २०७४ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App