८ वैशाख २०८१ शनिबार
अर्थ

वार्षिक बजेट हाराहारी आयात

काठमाडौं- गत आर्थिक वर्षमा चालु आर्थिक वर्षको बजेटको हाराहारीमा वस्तु आयात भएको छ। गत आवमा नौ खर्ब ९० अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको छ। सो आर्थिक वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँ थियो।

गत वर्षको आयातभन्दा गत आवको बजेट ५८ अर्ब मात्रै बढी छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा गत आवको अन्त्यमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर नौ खर्ब ९० अर्ब ११ करोड पुगेको उल्लेख छ। अघिल्लो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो।

गत वर्ष आयात भारतबाट ३२.८ प्रतिशत, चीनबाट १० प्रतिशत र अन्य मुलुकबाट २६.८ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलिम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सिमेन्ट लगायत वस्तुको आयात बढेको छ। कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४.४ प्रतिशत रहेकोमा गत वर्ष ३८.१  प्रतिशत रहेको छ।

गत आवमा कुल वस्तु निर्यात ४.२ प्रतिशतले बढेर ७३ अर्ब ५ करोड पुगेको उल्लेख छ। अघिल्लो वर्ष यस्तो निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो। तथापि यस्तो निर्यात आर्थिक वर्ष ०७१/०७२ को ८५ अर्ब ३२ करोडको स्तरभन्दा न्यून नै छ।

गत आर्थिक वर्षमा भारततर्फ पाँच प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जिआई पाइप लगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, उनी गलैंचा, तयारी पोसाक, पोलिस्टर धागो लगायत वस्तुको निर्यात घटेको छ। कुल ग्रार्हस्थ उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष ३.१ प्रतिशत रहेकोमा गत वर्ष २.८ प्रतिशत रहेको छ।

भन्सार नाकाका आधारमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, मेची भन्सार, कैलाली भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट निर्यात बढेको छ। त्यसैगरी, गत वर्ष भैरहवा भन्सार, विराटनगर भन्सार, र कैलाली भन्सार नाकाबाट आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयात बढेको छ।

सो वर्ष कुल वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढेर नौ खर्ब १७ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा दुई प्रतिशतले बढेको थियो।

रेमिटेन्स ६ खर्ब ९५ अर्ब

राष्ट्र बैंकका अनुसार, उक्त अवधिमा रेमिटेन्स आप्रवाह ४.६ प्रतिशतले बढेर ६ खर्ब ९५ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष रेमिटेन्स आप्रवाह ७.७ प्रतिशतले बढेको थियो।

मूल्य वृद्धि ४.५ प्रतिशत

गत आर्थिक वर्ष ०७३/०७४ को मूल्यवृद्धि ४.५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष मूल्यवृद्धि दर ९.९ प्रतिशत थियो। आर्थिक वर्ष ०६१/०६२ पछि पहिलोपटक वार्षिक मूल्यवृद्धि दर ४.५  प्रतिशतमा खुम्चिएको राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापाले बताए। 'वार्षिक र मासिक दुवै तरिकाले १२ वर्षयताकै न्यून मूल्यवृद्धि भएको छ,' उनले भने, 'मूल्यवृद्धि सबैभन्दा कम हुनुका अनेक कारण छन्।'

उक्त ४.५  प्रतिशको मूल्यवृद्धि गत आवको ७.५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ। अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापनमा आएको सुधा एवं भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण सो वर्ष मूल्य वृद्धिदर कम भएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले गत वर्षको देशको अर्थतन्त्रको तथ्यांक सार्वजनिक गर्दै खाद्यान्नको मूल्यपृद्धि घटेको जनाएको छ।

गत वर्ष पहाडमा महँगी ६.४ प्रतिशतले बढेको छ भने तराईमा ४.४, हिमालमा ४.१ र काठमाडौं उपत्याकामा ३.१ प्रतिशतले बढको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७४ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App