८ वैशाख २०८१ शनिबार
समाज

त्रिचन्द्र कलेज सय वर्षमा!

काठमाडौ- नेपालमै पहिलोपटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौं घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी कलेजले सय वर्ष पूरा गरेको छ। सोही अवसरकम कलेजले सोमबार सतवार्षिकी मनाएको छ।

कार्यक्रमको अध्यक्षता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिचन्द्र कलेज ऐतिहासिक भएकाले उच्च शिक्षाकै नमूना बनाउन आग्रह गरे। उनले ७५ जिल्लाकै विद्यार्थीको आकर्षणको केन्द्र रहेको यो कलेजको गरिमा जोगाउन सबै लाग्नुपर्ने बताए। प्रधानमन्त्री  देउवाले कलेजले राज्यका हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेकोमा प्रशंसा गर्दै कलेजलाई समयसापेक्ष हुँदै जानुपर्नेमा जोड दिए।

'म यही पढेको हुँ,' प्रधानमन्त्री देउवाले भने, 'तर कलेजले जति शैक्षिक प्रगति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन। नेपालमा उच्च शिक्षाको सुरुवातै त्रिचन्द्र कलेजले गरेको हो। यसलाई चुस्त बनाउन जे सहयोग गर्नु पर्ने हो सो गर्न सरकार तयार छ।'

कलेज प्रमुख प्रदीपबहादुर न्यौपानेले त्रिचन्द्र कलेजले शतवार्षिकी पूरा गरेकोमा गर्व गर्दै कलेजले विस २००० अघिका स्रष्टा सत्यमोहन जोशी र नरकान्त अधिकारीलाई सम्मान गरेको जनाए। उनले यसका साथै कलेजले २७ जना शिक्षक कर्मचारीलाई समेत सम्मान गरेको जनाए।

'विस १९७५ मा श्री ३ चन्द्र शमशेरले कलेज स्थापना गर्दा आइएको पढाइ हुन्थ्यो। तर १९७६ देखि बेलायती शिक्षा प्रणालीमा आइएस्सीको सुरुवात भयो । त्यसपछि विस १९८१ मा बिएको पढाइ सुरु भएको हो,' क्याम्पस प्रमुख न्यौपानेले नागरिकसँग भने, 'विस २००४ मा बिएस्सीको सुरुवात भएको हो। विज्ञानको समेत उबेला नेपालमा पढाइ सुरु भयो।'

कलेजका निवर्तमान प्रमुख हरिप्रसाद थपलियाले कलेजको इतिहास केलाउँदै विगतमा नेपालमा कुनै विश्वविद्यालय नभएको अवस्थामा पनि त्रिचन्द्र कलेजले विश्वविद्यालयको भूमिका निर्वाह गरेको जनाए। उनले आफूले यही कलेजमा ३१ वर्ष विताएको अनुभवको आधारमा कलेजमा थप शैक्षिक सुधारको खाँचो रहेको आंैल्याए। उनका अनुसार राजनेता, साहित्यकार, शैक्षिक प्राज्ञिक व्यक्ति, सरकारी निकायका प्रमुख तथा देशको प्रधानमन्त्रीलगायतका हस्तीहरू उत्पादन गर्ने त्रिचन्द्र कलेजलाई सरकारले थप आर्थिक सहयोग गरी यसको गरिमा जोगाउन सहयोग गनुपर्ने बताए।

'हाल त्रिचन्द्र कलेज राज्यकै विज्ञान विषयको उत्कृष्ट कलेज मानिन्छ,' थपलियाले भने, 'त्यसैले विज्ञान स्नातकमा २ हजार बढीले फारम भर्ने गरेका छन्।' उनका अनुसार त्रिचन्द्र कलेजमा विज्ञान संकायका धेरै विषय भएकोले विद्यार्थीलाई विषय छनौट गर्न समेत सहज बन्दै गएको हो।

नेपाल प्रध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले त्रिचन्द्र कलेज उच्च शिक्षाको धरोहर र त्रिभुवन विश्वविद्यालय भन्दा ४३ वर्ष जेठो रहेको अवगत गराउँदै अब यो कलेजलाई नयाँ परिवेशअनुसार लानुपर्ने बताए। 'अग्रजले हामीलाई जिम्मा दिए,' उपाध्यायले भने, 'यसको ऐतिहासिक महत्वलाई नयाँ परिवेश अनुसार लैजान विद्यार्थी, अभिभावक र शिक्षकहरू सबै मिलेर लाग्नु पर्छ।' उनले सय वर्षको दौरानमा नेपालमा उच्च शिक्षा क्षेत्रमा १० विश्वविद्यालय, ३ प्रतिष्ठान र त्रिविका सम्बन्धन प्राप्त १ हजार ८६ कलेज स्थापना भइसकेको र उच्च शिक्षामा करिब ५ लाख विद्यार्थीले अध्ययन गरिरहेको बताए। जसको ८५ प्रीतशत शैक्षिक भार त्रिविलेनै बोकेको छ।

प्रकाशित: ६ भाद्र २०७४ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App