coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ऐन नबन्दै प्रहरीको संघीय संरचना

काठमाडौं- ६२ वर्ष पुरानो नेपाल प्रहरी ऐनमा टेकेर गृह मन्त्रालयले प्रहरीमा संघीय संरचना लागू गरेको छ। प्रहरी ऐन र नियमावली संघीय संरचनाबारे मौन रहे पनि गृहले संविधानमा उल्लेख गरिएको संघीय प्रहरीको अवधारणामा टेकेर संघीय संरचना बनाएको हो।

गृह मन्त्रालयले हालै बढुवा भएर एआइजी बनेका ७ जना एआइजीलाई प्रदेश प्रहरी कार्यालयमा पदस्थापना गरेको छ। संविधानमा प्रदेश र संघमा छुट्टाछुट्टै प्रहरी रहने व्यवस्था गरे पनि त्यसअनुसारको ऐन र नियमावली बनेको छैन।

ऐन र नियमावली नबन्दै प्रहरीमा रहेको एआइजीको दरबन्दी ३ बाट ११ पुर्‍याएर करिब २ सातापछि पदस्थापना गर्दा प्रदेशका आधारमा पदस्थापना गरिएको हो।

प्रहरी नियमावलीमा रहेको क्षेत्रीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयको नाम बदल्दै गृहले संघीय संरचना कार्यान्वयन आरम्भ गरेको छ। क्षेत्रीय प्रहरीको नामाकरण प्रदेश प्रहरी कार्यालय र अञ्चल प्रहरीको नामाकरण संघीय इकाई प्रहरी कार्यालय राखिएको छ।

संघीय प्रहरी ऐन ड्राफ्टकै क्रममा छ। गृहले बनाएको संघीय संरचनाबारे सुझावसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। गृहले प्रहरीका अधिकारीसँग संरचनाबारे छलफल चलाइरहेको छ।

ऐन र नियमावली नबन्दै प्रहरीमा रहेको एआइजीको दरबन्दी ३ बाट ११ पुर्‍याएर करिब २ सातापछि पदस्थापना गर्दा प्रदेशका आधारमा पदस्थापना गरिएको हो। गृहप्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्रिपरिषद्बाट प्रहरीको सांगठनिक एकाइ र पदीय संरचना स्वीकृत गर्दै एआइजीको सरुवा निकालेको जानकारी दिए। 'मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रहरी कार्यालय गठन भएको हो,' उनले भने,'सोहीअनुसार काम अगाडि बढ्दै जान्छ।'

प्रदेशको नामाकरण नभई संख्या मात्र तोकिएकाले प्रदेश प्रहरी कार्यालयको नामाकरण पनि नम्बरका आधारमा गरिएको छ। प्रदेश नम्बर १ मा पशुपति उपाध्याय, प्रदेश नम्बर २ मा विजयलाल कायस्थ, प्रदेश नम्बर ३ मा केशरीराज घिमिरे, प्रदेश नम्बर ४ मा कमलसिंह बम, प्रदेश नम्बर ५ मा मिङमार लामा, प्रदेश नम्बर ६ मा रणबहादुर चन्द र प्रदेश नम्बर ७ मा विजयकुमार भट्टलाई  प्रमुखमा पदस्थापना गरिएको छ।

प्रदेश प्रहरीको नामाकरणसँगै गृहले क्षेत्रीय प्रहरी कार्यालय हटाएको छ। पाँच प्रदेशको कार्यालयलाई उसले संघीय संरचनामा बदलेको हो। क्षेत्रीय प्रहरीमा एआइजी वा डिआइजी प्रमुख रहने नियमावलीमा उल्लेख भए पनि डिआइजीले कमान्ड गर्दै आएका थिए।

'प्रहरी संगठनमा रहेको क्षेत्रीय प्रहरीको संरचना हटेको छ,' प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए।

अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रशासन विभागमा मात्रै एआइजी प्रमुख राखिएको छ।

अपराध अनुसन्धान विभागमा बमबहादुर भण्डारी, महानगरीय प्रहरी कार्यालयमा जयबहादुर चन्द, प्रशिक्षण प्रतिष्ठानमा देवेन्द्र सुवेदी र प्रशासन विभागमा माधवप्रसाद जोशीको पदस्थापना भएको छ।

२ सातापछि बल्ल सरुवा

पदस्थापना नहुँदा माथिल्लो तहको दर्ज्यानी चिह्न लगाएर २ सातादेखि कार्यालय गइरहेका डिआइजी र एसएसपीको समेत पदस्थापना र सरुवा भएको छ।  प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका नवराज सिलवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ। ब्युरोमा केन्द्रीय प्रहरी प्रवक्ता रहेका पुष्कर कार्की पुगेका छन्।

सुदीप आचार्य ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारी जुनियर प्रहरी अधिकृत शिक्षालय, रमेशकुमार भट्टराई मानवस्रोत विकास विभाग, गणेश केसी महानगरीय प्रहरी कार्यालय, मधु पुडासैनी कार्यविभाग र रोमेन्द्रसिंह देउजाको आतंकवाद नियन्त्रण ब्युरोमा सरुवा भएको छ। गृहले हालै बढुवा भएर एसएसपी भएका २५ जनाको पदस्थापना गर्दै महानगरीय प्रहरी अपराध महाशाखामा दिवेश लोहनी र महानगरीय प्रहरी परिसर काठमाडौंमा रवीन्द्रबहादुर धानुक आएका छन्। ललितपुरमा गणेशबहादुर ऐरको सरुवा भएको छ। गृहले एकजना मात्र एसएसपीको सरुवा गर्दै महाशाखामा रहेका दिनेश अमात्यलाई कार्यविभागमा सरुवा गरेको छ। सरुवाको समय नपुग्दै अमात्यको सरुवा भएको हो।

प्रकाशित: ६ भाद्र २०७४ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App