१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपा चुनावमा जाने संकेत

काठमाडौं- संसद्बाट संविधान संशोधन विधेयक फेल भए पनि राजपाले स्थानीय तहको तेस्रो चरणको चुनावमा जाने संकेत गरेको छ। चुनावमा जाने या नजाने बारेमा औपचारिक निर्णय मंगलबार बस्ने राजपा पदाधिकारी बैठकले गर्नेछ। राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले मंगलबार बस्ने पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गर्ने बताए। 'खेलमा गइसकेपछि हार पनि स्विकार्नुपर्छ, यो स्वाभाविक हो,' यादवले भने, 'त्यसैले पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गर्नेछ।'

यादवले राजपा चुनावमा गयो भने निर्वाचन आयोगले पार्टीलाई चुनाव चिह्न दिनुपर्ने बताए। 'हामी चुनावमा गयौं भने चुनाव चिह्न दिनुपर्छ। चुनाव चिह्न नभए कसरी चुनावमा जाने?' उनले भने। संविधान कार्यान्वयनका लागि संविधान संशोधन हुनैपर्ने उनले बताए। उनले भने, 'संशोधन फेल हुँदा यसले दीर्घकालीन असर पार्छ। संविधान कार्यान्वयनका लागि संशोधन पास हुनुपर्थ्यो।'

राजपाका महासचिव मनीष सुमनले संविधान संशोधन फेल भए पनि राजपा चुनावमा जाने बताए। 'हामी संशोधन नभए पनि चुनावमा जान्छौं,' सुमनले भने, 'तर असोज २ गते हुने भनिएको तेस्रो चरणको चुनाव मिति केही दिन पर सार्नुपर्छ।'  असोज २ मा चुनावमा जान पार्टीको तयारी कम भएको उनले बताए।

संशोधन प्रस्ताव पास नभई स्थानीय चुनावमा नजाने अडान लिएर राजपा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी भएको थिएन। सरकारले पहिलो चरणको चुनावअघि नै संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको थियो। राजपाले संशोधन प्रस्ताव पास हुनुपर्ने अडान लिए पनि सरकार भने संशोधन प्रस्ताव मतदानमा लैजान तयार थिएन। केही दिनअघि सरकार र राजपाबीच भएको वार्तामा संशोधन प्रस्ताव मतदानमा लगे पास–फेल जे भए पनि राजपाले स्वीकार गर्ने बताएपछि संशोधन प्रस्ताव मतदानमा लगिएको हो।

स्रोतका अनुसार राजपा अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो र अनिल झा संशोधन प्रस्ताव फेल भएपछि चुनावमा जान नहुने अडानमा छन्। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, शरत्सिंह भण्डारी र महेन्द्र यादव भने चुनावमा जानुपर्ने पक्षमा छन्।

प्रकाशित: ६ भाद्र २०७४ ०२:५६ मंगलबार

राजपा चुनावमा जाने