७ वैशाख २०८१ शुक्रबार
समाज

नाकाबन्दीमा आधा घटेको थियो औषधि आयात

काठमाडौं-  भारतीय नाकाबन्दीका बेला नेपाल–भारत सीमा क्षेत्रमा खुद्रा औषधिको व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै आधा घटेको देखिएको छ। २०७२ असोजदेखि माघसम्म जारी नाकाबन्दीका बेला भारतबाट औषधिको आयात ४६.५ प्रतिशतले घटेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

२०७२ असोजदेखि माघसम्म जारी नाकाबन्दीका बेला भारतबाट औषधिको आयात ४६.५ प्रतिशतले घटेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

बोस्टन युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थ अमेरिकाको ग्लोबल हेल्थ डिपाटमेन्ट (सेन्टर फर ग्लोबल हेल्ट एन्ड डेभलपमेन्ट) का अभिषेक शर्मा तथा नेपाल डेभलपमेन्ट सोसाइटी र बोस्टन युनिभर्सिटीको वारेन कप्लानका तर्फबाट शिवराज मिश्रले संयुक्त रूपमा गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो। शोधकर्ताद्वय शर्मा र मिश्रले संयुक्त राष्ट्रसंघको २०११ जनवरी १ देखि २०१७ सेप्टेम्बर १ सम्मकोे औषधि आयातसम्बन्धी मासिक तथ्यांक संकलन गरी उक्त तथ्यांकमाथि अध्ययन गरेका थिए।  

शोधकर्ताहरूले नाकाबन्दीका बेला खुद्रा औषधि, इन्सुलिन र मेडिकल डे्रसिङलगायतका स्वास्थ्य सामग्री आयातलाई लक्षित गर्दै अध्ययन गरेका थिए। सन् २०११ देखि २०१६ को बीचमा युएस कमट्रेड कोड ३००४ मार्फत नेपाल भित्रिएको प्रत्येक महिनाको औषधिमा  ९५ प्रतिशतभन्दा बढी भारत हुँदै नेपाल भित्रिएको रिपोर्टमा उल्लेख छ।

नाकाबन्दीका बेला मेडिकल ड्रेसिङमा ८४.९ प्रतिशतले गिरावट आएको थियो। नाकाबन्दीका बेला सेप्टेम्बरदेखि फरबरीसम्म स्वास्थ्यसम्बन्धी सामग्रीको व्यापारको मात्रा ३,४३,८७० किलोग्राम छ। अघिल्लो वर्षको सोही अवधिमा यो मात्रा ६४२१६३ रहेको थियो। 'यसले नाकाबन्दीका बेला सीमा क्षेत्रमा हुने व्यापारको मात्रा अघिल्लो वर्षको सोही अवधिमा ४६.५ प्रतिशतले घटेको देखाउँछ,' रिपोर्टमा भनिएको छ।

नाकाबन्दीका बेला औषधि अभावका कारण मानिस विभिन्न किसिमका सरुवा तथा नसर्ने रोगबाट प्रभावित भएको र उपचार अभावमा मृत्युको जोखिमसमेत उच्च रहेको अनुसन्धानकर्ताले जनाएका छन्। यो मानव अधिकारको चासोको विषय भएकाले यसलाई व्यापार र सरकारका आधारमा छुट्याउन नहुने र दुवैका बीचमा समसामयिक र प्रभावकारी नीतिको आवश्यकता रहेको रिपोर्टमा जनाइएको छ। 

नाकाबन्दीपछि नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध पनि दुई वर्षसम्म पनि पहिलेकै अवस्थामा नपुगेको शोधकर्ताले छलफल गरेका छन्।  'राजनीतिक विचारले जहिले पनि स्वास्थ्य र मानवअधिकारसम्बन्धी विषयलाई  प्रभाव पारिरहेको हुन्छ। नाकाबन्दीका बेला सीमापार व्यापारको अवस्थालाई लिएर गरिएको पूर्वविश्लेषणले के देखाउँछ भने चार वर्षपहिले नेपालले औषधिको क्षेत्रमा गरेको  खर्च जनस्वास्थ्यका क्षेत्रमा महŒवपूर्ण अवसर थियो,' शोधकर्ताहरूले भनेका छन्। 

रिपोर्टमा भारतले भू–परिवेष्टित मुलुकमाथि भूराजनीतिको प्राकृतिक प्रयोगमार्फत प्राथमिक व्यापार साझेदार नेपाललाई अनैतिक ढंगले चपेटामा पारेको जनाइएको छ।  छोटो समयको नाकाबन्दीले औषधि कारोबारको परिमाण र मूल्यमा तत्कालै असर गरेको जनाइएको छ।

प्रकाशित: ६ भाद्र २०७४ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App