coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश र केन्द्रको चुनाव मंसिर १० मा

काठमाडौं- सरकारले प्रदेश र केन्द्रको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले दलीय सहमतिअनुसार दुवै चुनाव एकैपटक गर्ने निर्णय गरेको हो।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेश र केन्द्र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्नेगरी निर्वाचन आयोगलाई मिति सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए। 'मंसिर १० गते प्रदेश र केन्द्रको दुवै निर्वाचन एकैसाथ गर्नेगरी मिति सिफारिस गरेका छौं,' सञ्चारमन्त्री बस्नेतले बैठकपछि भने, 'संवैधानिक बाध्यताले गर्दा पनि एकैपटक दुवै चुनाव गर्न लागिएको हो।'

प्रमुख राजनीतिक दल भने एकै चरणमा निर्वाचन गर्ने पक्षमा उभिएपछि सरकारले दलीय सहमतिकै आधारमा मिति तय गरेको हो।

दुवै चुनाव एकै चरणमा गर्न कठिन हुने भन्दै आयोगले दुई चरणमा निर्वाचन गर्न सरकार र प्रमुख राजनीतिक दललाई आग्रह गरेको थियो। मंसिर ४ गते हिमाली भेगसहित ३१ जिल्लामा र बाँकीमा मंसिर २१ गते चुनाव गर्न आयोगले मिति प्रस्ताव गरेको थियो।

प्रमुख राजनीतिक दल भने एकै चरणमा निर्वाचन गर्ने पक्षमा उभिएपछि सरकारले दलीय सहमतिकै आधारमा मिति तय गरेको हो। मंसिर दोस्रो सातापछि हिमाली जिल्लामा हिउँ पर्ने भन्दै त्यसअघि नै चुनाव सम्पन्न गर्नुपर्ने पक्षमा दलहरु उभिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख दल र आयोग पदाधिकारीको बैठकमा दोस्रो संविधानसभाको निर्वाचन भएको मंसिर ४ गतेकै मितिमा केन्द्र र प्रदेशको चुनाव गर्ने समझदारी बनेको थियो। माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ। २०७० मंसिर ७ गते दोस्रो संविधानसभा निर्वाचन भए पनि माघ ७ गते पहिलो बैठक बसेकाले त्यसभित्र तीनै तहको चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले भदौ ५ गतेभित्रै निर्वाचन मिति तोक्न प्रमुख दल र सरकारलाई आग्रह गरेेको थियो। आयोगले मतदाता नामवली संकलनको काम सकिसकेको छ।

निर्वाचनसम्बन्धी कानुनका साथै क्षेत्र निर्धारणको काम तत्काल टुंगो लगाउन पनि आयोगले यसअघि नै सरकार र प्रमुख दललाई आग्रह गरेको छ। हाल कायम २ सय ४० निर्वाचन क्षेत्रलाई १ सय ६५ मा समायोजन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सरकारले क्षेत्र निर्धारणका लागि आयोग गठन गरी काम सुरु गरिसकेको छ।

प्रकाशित: ६ भाद्र २०७४ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App