४ वैशाख २०८१ मंगलबार
समाज

एजेन्ट जेल चलान, कर्मचारी निलम्वित

बुटवल- किर्ते प्रज्ञापनपत्र बनाई अवैध ढंगले गाडी पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालयले भन्सार एजेन्ट  जगत दाहाललाई जेल चलान गरेको छ। भन्सार ऐनको दफा ५७ को उपदफा १ अर्न्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा १ वर्ष कैद र बिगो अनुसारको जरिवाना दाबी सहित जेल पठाइएको भन्सार कार्यालयका प्रवक्ता गोपाल भट्टराईले बताए।

भैरहवा भन्सार कार्यालयले ५४ लाख रुपैयाँ बिगो दाबी गरेको छ। एजेन्ट दाहालसँग सो रकम बराबरको धरौटी राखी पुनरावेदन गर्ने अधिकार सुरक्षित छ। दाहालका छोरा दिपक दाहालले भने आफ्ना बाबु निर्दोष हुँदाहुँदै फसाइएको बताएका छन् । भन्सार कार्यालयको नायब सुब्बाबाट अवकाश भएका जगतले केही वर्षयता भन्सार एजेन्टको काम गर्न थालेका हुन्।

किर्ते प्रज्ञापनपत्रबाट भैरहवा भन्सार कार्यालयबाट मालबाहक ट्रक पास गरेको अभियोगमा भन्सार विभागले भन्सार अधिकृतसहित चार कर्मचारीलाई छानबिनको दायरामा ल्याएको  छ।

भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुवास शर्मा, खरिदारद्वय अतुल शर्मा र विनय जोशीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयले लिखित बयान लिएपछि अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उनीहरुलाई भन्सार विभागमा हाजिर हुुन पठाएको हो।

घटनाको छानबिन गर्न विभागका निर्देशक दिव्या पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन टोलीले सोमबार प्रतिवेदन पेस गर्ने भएको छ। निर्देशक पोखरेलले प्रज्ञापनपत्रको दुरुपयोग भएको बताए। उनले गहन अध्ययन अनुसन्धान गरी यस्ता गलत कार्य अब उप्रान्त भन्सारमा नदोहोरिने गरी दोषीलाई कारबाहीको सिफारिस गर्दै प्रतिवेदन पेस गर्ने बताए।

भन्सार विभागले गत आइतबार घटनाको छानबिन गरी सात  दिनभित्र प्रतिवेदन पेस गर्ने गरी विभागका निर्देशक पोखरेलको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो। टोलीले भैरहवा भन्सारमै आई भन्सार एजेन्ट, कर्मचारी, स्थानीय व्यवसायी लगायतसँग भेट गरी घटनाको सम्बन्धमा अध्ययन गरिसकेको छ।

किर्ते प्रज्ञापनपत्रमार्फत भन्सार राजस्व छली गर्ने र अवैध कारोबारमा संलग्न देखिएको अभियोगमा भन्सार एजेन्टको लाइसेन्स ६ महिनासम्मको लागि कारोबार गर्न नपाउने गरी यसअघि नै निलम्बन गरिएको छ।

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना ६ ख ५६३५ र ना ४ ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना ४ ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा अघिल्लो बिहीबार नियन्त्रणमा लिइएको थियो। यो ट्रकमा रहेको सामान र प्रज्ञापनपत्रमा उल्लेख भएको विवरण फरक पाइएको हो। छानबिनमा ना ४ ख ४१२६ नम्बरको ट्रकमा प्रयोग भएको प्रज्ञापनपत्र नक्कली भेटिएको हो।

भैरहवा भन्सार स्रोतले राजस्व छलेर सामान भिœयाउने 'सेटिङ'मा प्रमुख भन्सार अधिकृत भुपालकुमार शाक्य र मातहत कर्मचारीको एउटा समूह सक्रिय रहेको जनाएको छ। यो सेटिङले कारोबारी राजु थापाको समूहका गाडीहरु दिनहुँ भन्सार कार्यालयबाट पास गराइरहेको स्रोतको दाबी छ।

दशकअघि भैरहवा भन्सार कार्यालयमा मौलाएको राजस्व छली र तस्करी शाक्यकै मिलेमतोमा एक वर्षयता फेरि बढ्न थालेको भन्सार कर्मचारीको भनाइ छ। नौ महिनाअघि भैरहवा भन्सार कार्यालय प्रमुखको जिम्मेवारीमा आएका शाक्यले कर्मचारीको एउटा समूहलाई हात लिएर तस्करको एउटा समूहलाई साथ दिन थालेपछि कार्यालयका अरु कर्मचारी र तस्करी गर्न खोज्ने अरु कारोबारी बिच्किएपछि घटना बाहिर आएको हो। दुई महिनाअघिको यस्तै घटना गुपचुप रुपमा मिलाइएको थियो।

कारोबारी राजु थापा, राजकुमार गुप्ता रजनीश गुप्ता लगायतले भन्सारमा सेटिङ मिलाएर चलाएको तस्करी धन्दामा सेटिङ मिलाउन पूर्वसशस्त्र प्रहरी निर्मल तिवारी खटिएको स्रोतको दाबी छ। यही समूहले भैरहवा भन्सार कार्यालयमा दैनिक कम्तीमा ४० लाख रुपैयाँ राजस्व छली गरिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार, तिवारीले  सशस्त्रको राजस्व गस्ती डण्डा र तस्करबीच कनेक्सन गराउँथे। नेपाल प्रहरीका घुमुवा असई अवदेश यादव र रामसकल यादव पनि तस्करीको सेटिङमा खटिएको स्रोतको दाबी छ। यही कारण राजस्व गस्ती भन्सारमा भइरहेको राजस्व छलीमा मौन बस्दै आएको थियो। कारोबारी थापाका दुई गाडी राजस्व अनुसन्धान विभागले केही महिना पहिले काठमाडौंमा नियन्त्रणमा लिएर सामान जफत गरी तीन करोड ९० लाख रुपैयाँ जरिवाना गरेको थियो।

साउन २८ गते एउटै प्रज्ञापनपत्रमा दुई ट्रक पास गराउने काम अहिले जेल परेका एजेन्ट दाहालले नै गरेका थिए।

प्रकाशित: ५ भाद्र २०७४ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App