८ वैशाख २०८१ शनिबार
विचार

भदौ ९ देखि फुटसल लिग

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ ९ देखि एन्फा राष्ट्रिय फुटसल लिग प्रतियोगिता गर्ने भएको छ। पहिलो पटक नेपालमा हुन लागेको फुटसल लिग भदौ २५ सम्म चल्नेछ। एन्फाले फुटसल राष्ट्रिय लिगको पाँचौं संस्करण गर्नका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार टर्नपाइक इभेन्ट प्रालिले लिग आयोजना गर्नका लागि आवश्यक पर्ने खर्चको दुई तिहाइ र एन्फाले एक तिहाइ रकम व्यहोर्नेछन्।

आइतबार एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र टर्नपाइक इभेन्ट प्रालिका कार्यकारी निर्देशक उकेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार प्रतियोगिताको बजार प्रवर्द्धन, प्रायोजक रकम र प्रचारप्रसारको सम्पूर्ण जिम्मेवारी टर्नपाइक इभेन्ट प्रालिले गर्नेछ। टेलिभिजनबाट प्रतियोगिताको खेल देखाउने अधिकार एन्फामा रहेको छ।

प्रतियोगिताको पहिलो वर्ष फुटसल लिग आयोजनाका लागि आवश्यक पर्ने अनुमानित ३० लाखमा २० लाख टर्नपाइक इभेन्ट र १० लाख एन्फाले खर्च गर्नेछन्।

पाँचवटा संस्करण आयोजना गर्दा टर्नपाइक इभेन्टले १ करोड ५० लाख र एन्फाले ७५ लाख रुपैयाँ खर्च गर्नेछन्।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले फुटसलको विकासका लागि फुटबल संघले आधिकारिक रूपमा लिग प्रतियोगिताको सुरुआत गरेको बताए। श्रेष्ठले भने, 'नेपालमा फुटसलको लोकप्रियता बढिरहेको छ। हामीले यसलाई विकास गर्नका लागि महŒवपूर्ण सुरुआत गर्ने प्रयास गरेका छौं। यसले अन्तर्राष्ट्रिय स्तरमा हुने फुटसल प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग गर्नेछ।'

फुटसल राष्ट्रिय लिगमा सहभागिताका लागि साउन २९ देखि भदौ ४ सम्म दर्ता खुला गरिएको एन्फाले बतायो। एन्फा फुटसल समिति अध्यक्ष एवम एन्फा सदस्य रमेश रायमाझीले टर्नपाइक इभेन्टसँगको सहकार्यले नेपालमा फुटबल विकासमा नयाँ सुरुआत गर्ने विश्वास व्यक्त गरे। रायमाझीले भने, 'फुटबलको विकासका लागि योजनाबद्ध कार्यक्रम आवश्यक छ। लिग गर्नका लागि हामीले आवश्यक पूर्वाधार निर्माण र छनोट गरिहेका छौं। प्रतियोगिता एएफसी र फिफाको नियमअनुसार नै हुन्छ।'

लिग फुटसलमा एन्फाको कार्यसमिति रहेको जिल्ला, आधिकारिक रूपमा दर्ता भएका फुटसल क्लबले प्रतियोगितामा भाग लिन पाउने एन्फा फुटसल समिति अध्यक्ष रायमाझीले बताए। प्रतियोगिता आयोजना गर्ने प्रणाली सहभागी हुने टिमको संख्याको आधारमा पछि निर्णय गरिने रायमाझीले जानकारी गराए।

टर्नपाइक इभेन्ट प्रालिका कार्यकारी निर्देशक उकेश लोहनीले सहकार्यले फुटसलमार्फत नेपाललाई चिनाउन सहयोग गर्ने बताए। उनले भने, 'फुटसल युवाहरूमाझ लोकप्रिय छ। यसको विकास व्यवस्थित रूपमा भएको छैन। एन्फासँगको सहकार्यले नेपाली फुटसलको विकासमा सफलता हासिल गर्न सकिन्छ।'

यसै गरी फुटसल लिग खेललाई एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि खेलाडी छनोटको रूपमा लिएको एन्फा फुटसल समिति अध्यक्ष रायमाझीले बताए। नेपालले इरानमा अक्टोवर १२ देखि २२ सम्म हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्ने तयारी गरिरहेको छ।

लिग फुटसल प्रतियोगिताले एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोटमा सहयोग गर्ने अध्यक्ष रायमाझीले बताए।

प्रकाशित: ५ भाद्र २०७४ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App