८ वैशाख २०८१ शनिबार
खेल

रक्षापंक्तिको खेललले वेंगर रुष्ट

स्टोक अन टे्रन्ट- इङ्लिस प्रिमियर लिगमा शनिबार राति स्टोक सिटीलाई १–० को नतिजा सुम्पिएको आर्सनलका प्रशिक्षक आर्सेन वेंगर रक्षापंक्तिको प्रदर्शनबाट रुष्ट बनेका छन्।

पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लोनमा आएका स्पेनिस फरवार्ड जेसे रोडरिग्वेजले ४७औं मिनेटमा गरेको गोल स्टोक सिटीको जितका लागि पर्याप्त रह्यो। स्टोकले सन् २०१४ पछि आर्सनललाई पराजित गरेको यो पहिलो पटक हो। पहिलो खेलमा लेस्टर सिटीविरुद्ध ४–३ को नतिजा निकालेका वेंगरले आफ्नो आक्रोश लुकाउन सकेनन्।

‘यो निराशाजनक नतिजा हो। हामीले उनीहरूलाई गोलका लागि सहज अवसर दियौं। रक्षापंक्तिको गल्तीमा हामीले जस्तो गोल खायौं त्यो क्षमायोग्य छैन,’ वेंगरले थपेे, ‘रक्षापंक्तिमा हुने गल्ती महँगो साबित हुन्छ भन्ने थाहा थियो। तर, मध्यान्तरतलगत्तै हामीले धेरै सुस्त खेल्दाको मूल्य चुकाउनुपर्‍यो। उनीहरूलाई मिडफिल्डमा स्वतन्त्र रूपमा खेल्न दियांै। सेन्टर डिफेन्सको प्रदर्शनबाट असन्तुष्ट हुन सकिँदैन।’

रक्षापंक्तिको लापरबाह प्रदर्शनबाट निराश बनेका वेंगर एलेक्जान्द्रे लाकाजेट्ले गरेको गोललाई अफसाइड दिएपछि थप निराश बनेका थिए।

‘यो दुर्भाग्य हो। हामीले गरेको गोल अफसाइड थिएन,’ वेंगरले भने, ‘यो हार स्विकार्न कठिन छ। हामीले सहज जित निकाल्न सक्नुपर्थ्यो तर गोलका थुप्रै अवसर सिर्जना गरेर पनि सदुपयोग गर्न नसक्दा जितबाट वञ्चित भयौं।’

बुधबार स्टोकसँग अनुबन्धित भएका रोडरिग्वेजले क्लबमा छिट्टै आफ्नो प्रभाव छाड्न सफल भएका छन्। आर्सनलले मध्यान्तरपछि ४ रक्षकका साथ खेले पनि रोडरिग्वेजले सडियो बेराहिनोसँगको उत्कृष्ट तालमेल गर्दै बायाँ खुट्टाले हानेको प्रहार विपक्षी गोलकिपर पिटर चेकले ठम्याउन सकेनन्।

‘रोडरिग्वेजले कस्तो उपलब्धि हासिल गरे भन्ने सबैलाई थाहा छ। उनी खेलको नतिजा उल्ट्याउन सक्ने खेलाडी हुन्,’ स्टोकका प्रशिक्षक मार्क ह्युजले भने, ‘नयाँ सिजनका लागि उनले दुई वा तीन पटक मात्र अभ्यास गर्न पाएका छन्। त्यसका बावजुद पनि उनले गरेको प्रदर्शनबाट म हर्षित छु।’

शनिबारै सडियो मानेले ७३औं मिनेटमा गरेको गोलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ। यस जितले पहिलो खेलमा ३–३ को बराबरी खेलेको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपलाई राहत दिएको छ।

पहिलो खेलमै हडर्सफिल्ड टाउनसँग ३–० ले पराजित भएपछि क्रिस्टल प्यालेसले शनिबार सुधारिएको प्रदर्शन गरेको थियो। तर पछिल्लो १७ मिनेट सम्हालिन नसक्दा क्रिस्टल प्यालेसले हार जोगाउन सकेन। ‘यो निकै कठिन खेल रह्यो। हामीले कति बल पोजेसन राख्यौं भन्ने ठ्याक्कै त थाहा भएन तर धेरै थियो,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘रक्षापंक्तिले धेरै राम्रो प्रदर्शन गर्‍यो। मानेको गोल मलाई राम्रो लाग्यो किनकि त्यो गोलका लागि स्पष्ट अवसर थिएन। अरू पनि अवसर सिर्जना भएका थिए तर आजको प्रदर्शनबाट म खुसी छु।’

२०१६ को विजेता लेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो। किंग पावर रंगशालामा लेस्टरलाई जिताउन सिन्जी ओकाजाकी र ह्यारी मागुइरेले १/१ गोल गरे। खेलको पहिलो मिनेटमै ओकाजाकीले रियाद महारेजलको पासमा गरेको गोलमा लेस्टरले अग्रता लिएको थियो। ५४औं मिनेटमा महारेजकै पासमा मागुइरेेले घरेलु टोलीको अग्रता दोब्बर पारे।

चार्ली अस्टिनले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा साउथह्यामटनले वेस्ट ह्यामलाई ३–२ ले पराजित गर्‍यो। मानोलो गब्बिएदिनीको गोलबाट ११औं मिनेटमा अग्रता लिएको साउथह्याम्पटनका लागि डुसान टेडिचले पेनाल्टीबाट ३८औं मिनेटमा दोस्रो गोल थपेका थिए। त्यसअघि मार्को अर्नाउटोभिचले रातो कार्डको सामना गरेपछि वेस्टह्याम दश खेलाडीमा सीमित बनेको  थियो। हाभियर हर्नान्डेजले ४५ र ७४औं मिनेटमा गरेको गोलमा वेस्ट ह्यामले बराबरी गरेको थियो। तर, अस्टिनले अन्तिम मिनेटमा पेनाल्टी गोल गरेपछि वेस्ट ह्यामले हार जोगाउन सकेन। हल रोब्सन कानुले गोल गरेको १२ मिनेटपछि रातो कार्डको सामना गरे पनि वेस्ट ब्रोमले बर्नलीलाई १–० ले हराएको छ। ब्राजिलका युवा खेलाडी रिचार्लिसन र इटिने कापोएको गोलप्रेरित वाट्फोर्डले बर्नमाउथलाई २–० ले पराजित गर्‍यो।

प्रकाशित: ५ भाद्र २०७४ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App