८ वैशाख २०८१ शनिबार
विचार

राजपाको कार्यदिशा

राष्ट्रि्रय जनता पार्टी (राजपा) नेपालको काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले यथास्थितिमा कुनै पनि निर्वाचनमा सहभागी नहुने संयोजक महन्थ ठाकुरको कार्यदिशा सर्वसम्मतिले पास गरेको थियो। त्यो जायज र तर्कसंगत पनि थियो। तर समय र परिस्थिति बदलिएको छ। हामीले भन्दै आएको यथास्थितिको अवस्थामा मूलभूत परिवर्तन भएको छ। राजपा आन्दोलनले बाँकी रहेका १६ जनालाई सहिद घोषणा र सबै सहिदका परिवारजनलाई क्षतिपूर्ति, घाइते तथा अपांगलाई क्षतिपूर्ति तथा आजीवन भरणपोषणको व्यवस्था सरकारले पूरा गरेको छ। आन्दोलनका क्रममा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता र जेल परेकाहरूको रिहाइको सवालमा १८३ मध्ये १४३ मुद्दा फिर्ताको प्रक्रियामा छन्। जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने मागको पक्षमा प्रचण्ड नेतृत्वको सरकारले निर्णय गरेको भए तापनि सर्वोच्चले रोकेको कारण पूरा हुन सकेको थिएन जुन भर्खर सर्वोच्चले फुकुवा गरेको छ। यससँगै मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउन सरकारलाई बाटो खुलेको छ।

भर्खरै संविधान संशोधन विधेयक निर्णयार्थ संसद्मा प्रस्तुत गर्ने सहमति भएको छ। यससँगै धेरै पहिलेदेखि संसद्मा अलपत्र रहेको संशोधन विधेयक अब छिनोफानो हुनेछ। एमालेको सहयोगबिना संशोधन निकै कठिन देखिन्छ तर असम्भव चाहिँ होइन। एमालेले संशोधनमा सघाएन भने मधेसी जनताले सोच्नैपर्ने हुन्छ। साथै राजपाले अब विधेयक पास भएको अवस्था होस् वा फेल दुवै अवस्था स्वीकार गरेर अघि बढ्नसक्नु पर्छ र आगामी स्थानीय निर्वाचनमा सहभागी हुनुपर्छ।

राजपा नेपाल मधेसको मूलधारको लोकतात्रिक राजनीतिक शक्ति हो। मधेस केन्द्रित छ मधेसवादी राजनीतिक दलहरूको एकीकरण भई बनेको राजपा नेपाल राष्ट्रिय राजनीतिको एउटा पक्ष हो। मधेसी, थारू, आदिवासी, जनजाति, शिल्पी ( दलित), मुस्लिम पिछडावर्ग लगायत उत्पीडनमा र उपेक्षामा  परेका र पारिएका बहुसंख्यक जनताको हकहित, अधिकार र मुक्तिका लागि स्थापना भएको हो। राजनीतिक, सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक, लैंगिक, जातीय एवं सामुदायिक विभेदलाई अन्त्य गरी यी समुदायहरूको पहिचान, पहुँच र प्रतिनिधित्व स्थापित गर्नु नै राजपा नेपालको मूल उद्देश्य हो। समतावाद र लोकतान्त्रिक समाजवाद राजनीतिक दर्शन आत्मसात् गरेको राजपा नेपालको अन्तिम लक्ष्य समतामूलक समाज निर्माण गर्नु नै हो। काँग्रेस, एमाले र माओवादी रूपमा समाजवादी, मार्क्सवादी लेनिनवादी र साम्यवादी जे भनिए तापनि यथार्थमा यिनीहरू एकल खसआर्य जातीय अहंकारवादी र यथास्थितिवादी नै हुन्। जसको पुष्टि अन्तरिम संविधानको घोषणा र १६ बुँदे सम्झौताको दौरान देखियो। त्यसकारण यी यथास्थितिवादी शक्तिहरूसँग लड्न मधेसमा एउटा मजबुत राजनीतिक शक्ति अनिवार्य छ।

राजपालाई यो मुलुकको वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि बढाउन यसको नेतृत्वले कठोर प्रतिबद्धता लिने साहस गर्न सक्नुपर्छ। सानोतिनो लोभ मोह त्याग्न सक्नुपर्छ। दुःख र कष्टलाई अँगाल्न सक्नुपर्छ। राजपाले आफ्नो बाटो स्पष्ट गर्नैपर्ने हुन्छ। अहिले जस्तो अलमलिएर हुँदैन। पार्टीका नेता कार्यकर्तादेखि आम मधेसी जनतासम्म अन्यौलमा छन्।

यथास्थितिको अवस्थामा केही सुधार आएको छ। जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने र आन्दोलनकारीमाथि लगाइएको मुद्दा सरकारले  फिर्ता गर्ने तथा सदनमा विचाराधीन रहेको संविधान संशोधन विधेयक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने यी तीनटै राजपाको बटमलाइन थियो। यी अडानहरू ठोस प्रगतिमा छन्। सर्वोच्चको भ्याकेटसँगै स्थानीय तहको संख्या थप्ने बाटो खुलेको छ। मुद्दा फिर्ता प्रक्रिया पाइपलाइनमा छ। संविधान संशोधन विधेयक निर्णयार्थ टेबुल भइसकेको छ। छिट्टै छिनोफानो हुँदै छ। पास हुनेछ या फेल। त्यसपछि राजपासँग केवल दुई विकल्प रहन्छ। या त च्ुानावमा जानुपर्ने या फेरि आनदोलनमा। संशोधन पास भए चुनावमा जान कुनै बाधै रहेन तर फेल भएको अवस्थामा के गर्ने? परिणामलाई स्वीकार गरेर निर्वाचनमा जाने कि थप संघर्षमा? संशोधनको परिणाम सकारात्मक नआए राजपाका निम्ति निर्वाचन परिणामसमेत त्यति सुखद नआउने देखिन्छ। त्यसकारण राजपाले निकै सोचे सम्झेर अबको कदम चाल्नुपर्ने हुन्छ।

राज्यको यथास्थितिसँगै राजपा स्वयंको यथास्थितिमा बदलाव ल्याउनुपर्ने बाध्यता छ। आफैँ यथास्थितिमा रहेर राजपाका निम्ति न आन्दोलन सहज हुनसक्छ, न चुनाव नै। तसर्थ संशोधन असफल भएको खण्डमा दुइटै परिस्थितिमा (आन्दोलन वा चुनाव) जे रोज्नुपरे पनि यथास्थितिबाट उन्मुक्ति लिनैपर्ने हुन्छ। त्यसका निम्ति तत्कालै राजपाले दुईवटा महत्वपूर्ण निर्णय लिनुपर्ने देखिन्छ। पहिलो सरकारलाई दिँदै आएको समर्थन फिर्ता र दोस्रो औचित्यहीन सदनबाट राजीनामा। त्यति गरिसकेपछि राजपालाई जनताको राहत मिल्ने एकथरीको विश्वास छ।

मधेसको मूलधार मानिने राजपाका निम्ति आन्दोलन र चुनाव दुइटै त्यतिकै महत्वपूर्ण छ। राजपा बिनाकुनै उपलब्धि आफ्नो आन्दोलनकारी छवि र मधेस आन्दोलनको लिगेसी समाप्त गर्न चाहँदैन। त्यस्तै चुनाव बहिष्कार गरेर आफ्नो जनआधार पनि गुमाउन चाहँदैन। त्यसकारण राजपा ठूलो सैद्धान्तिक सकसमा देखिन्छ। आफूलाई एजेन्डाबेस आन्दोलनकारी शक्तिका रूपमा स्थापित गराउने कि चुनावी पार्टीका रूपमा। यस विषयमा राजपाभित्र चर्को बहस जारी छ। दुइटै तर्कहरू कन्भिसिङ छन्। एकथरीको भनाइ छ मधेस आन्दोलनका एजेन्डाहरू प्राप्ति नहुन्जेल निर्वाचनमा जानुहुँदैन। अर्कोथरी भ्ान्छन्, मधेस आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै चुनावलाई सदुपयोग गर्नुपर्छ। दुइटै तर्कमा दम छ। दुइटै जायज छन्। तसर्थ पार्टीले सबैको भावना समेट्ने गरी समय परिस्थितिअनुसार पार्टी संगठनको हितमा निर्णय लिनसक्नुपर्छ। साथै कुनै पनि निर्णय लिँदा त्यसमा दुर्गामी सोच र चिन्तन झल्किनुपर्छ। राजपाजस्तो पार्टीले लिने निर्णय भूत र भविष्य प्रभावित हेरेर मात्र लिनुपर्छ। मधेसका अन्य भूभागमा चुनाव भइसकेको अवस्थामा राजपा मात्र प्रस्तावित दुई नं. प्रदेशमा भाग लिनुलाई अन्य प्रदेशका जनताले कसरी लेलान्? निकै महत्वपूर्ण सवाल हो। त्यस्तै अहिले यदि राजपा नेपाल स्थानीय तहको निर्वाचन बहिष्कार गर्छ भने भोलि हुने प्रादेशिक र संघीय निर्वाचनमा राजपाले के गर्ला? त्यसकारण अहिलेको अनुकूल परिस्थितिको सही विश्लेषण गरी                                              

सही निर्णय आउनु बुद्धिमता हुनेछ। ताकि भोलि पार्टी पनि बाँचोस् र मुद्दा पनि जीवित रहोस्। किनभने यहाँ बिनाएजेन्डाका पार्टी धकेल्नेहरू पनि छन् र बिनापार्टी संगठनका एजेन्डा भट्टयाउनेहरू पनि थुप्रै छन्। अतः दुइटैको सन्तुलन गर्न अति आवश्यक छ।

राजपा नेपाल जससँग मधेसी एकता र आन्दोलनको 'गुडविल' छ। मधेस आन्दोलनका आधा दर्जन जति माग सम्बोधन गराएको 'लिगेसी' छ। सडकमा अलपत्र रहेको मधेस आन्दोलनलाई जोगाएको 'क्रेडिट' छ। जसको नेतृत्वमा सामूहिकता र पारदर्शिता छ। जुन पार्टीलाई महन्थ ठाकुरजस्तो इमानदार, स्वच्छ छवि र अनुभवी सारथिले हाँकिरहेका छन्। जहाँ राजेन्द्र महतोजस्ता मधेसका असली पहरेदार छन्। महेन्द्र यादवजस्ता ग्रासरुटर र शरत्सिंहजस्ता राज्य संयन्त्र बुझेका खारिएका म्याचुवर्ड नेता छन् र अनिल झा तथा राजकिशोर यादवजस्ता गतिशील एवं ऊर्जावान् युवा छन्। जहाँ एक दुइटा मात्र होइन दर्जनौँ थप अनुभवी तथा युवा पुस्ताका लिडरसिपको लाइन छ। निश्चय पनि त्यो पार्टीको भविष्य सुनौलो छ। तसर्थ संविधान संशोधन प्रक्रियालाई सफल बनाई मधेसी जनताको चाहना र भावनाअनुसार निर्वाचन प्रक्रियामा आफ्नो दमदार उपस्थिति दर्ज गराई मधेसको पहिलो शक्ति तथा राज्यको एक पक्षको रूपमा स्पष्ट अडान र पहिचानका साथ अगाडि आउनुपर्छ। त्यसका निम्ति राजपाका नेतृत्व वर्ग सदैव उदार तथा खुला हृदयी रहनु जरुरी छ। र पार्टीलाई थप मजबुती र आकर्षण प्रदान गर्न यो मुलुकमा सदियौँदेखि उत्पीडन, उपेक्षा र बहिष्करणमा परेका बहुसंख्यक मधेसी, जनजाति, दलित र मुस्लिमको समानुपातिक सहभागिता गराई युग सुहाउँदो समावेशी राजनैतिक दल निर्माण गरी मधेसका सम्पूर्ण वर्ग समुदाय अटाएको सन्देश दिन सक्नुपर्छ। साथै, मुद्दा र मन मिल्नेसँग एकता र सहकार्यका लागि सधैँ ढोका खुला राख्नुपर्छ। राजपा नेपालको अबको कार्यदिशा यही नै हुनुपर्छ।                                                               

प्रकाशित: ५ भाद्र २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App