८ वैशाख २०८१ शनिबार
समाज

महाकाली पारी डुबानले बारीमै सड्न थाले परबर

राजेन्द्र भट्ट

महेन्द्रनगर– परबर उत्पादनका लागि उर्वर भूमिका रुपमा चिनिने कञ्चनपुरको महाकाली नदी पारीको दोधारा–चाँदनी नगरपालिकाका कृषकलाई निरन्तर वर्षा र बाढीले हैरान पारेको छ । बाढीले परबर लगाएका खेत डुबानमा परेपछि यस्तो समस्या आएको हो ।

केही दिनयताको वर्षाले महाकाली र जोगबुढा नदिको बहाव बढेपछि डुबान हुन थालेको छ । डुबानले झण्डै पाँच दर्जनभन्दा बढी कृषकको परबर बारी डुवानमा परेको छ । परबर उत्पादन हुने बेला बाढीले बारी डुबानमा परेपछि उनीहरु चिन्तित बनेका छन् । बारीमा पानी जम्न थालेपछि परबरको लहरा नष्ट हुँदै कुहिन थालेको कृषकको भनाइ छ ।

स्थानीय शिला खड्का, पदमबहादुर खड्का, धनबहादुर रोकाया, रामबहादुर रोकाया, सुरज खड्का लगायतका खेतमा पानी भरिएर तालमा परिणत भएको छ । जसले गर्दा उनीहरुको परबर खेती नष्ट हुन थालेको छ ।

दोधारा–चाँदनी नगरपालिका– ८ सुन्दरनगरमा रहेको ६० बिघाभन्दा बढी जमिन तालमा परिणत भएको स्थानीय सुरज खड्काले बताए । उनका अनुसार कृषकको परबर खेती मात्रै नभएर धान र मकै बाली समेत डुबानमा परेको छ ।

दोधारा–चाँदनीको देउरालीघाट, गैराबारी टोल, कुतियाकवर, बैतिफाँटा, १८ नम्बर पिल्लर गाउँका किसान वर्षौदेखि परबर खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित परबर सदरमुकाम महेन्द्रनगर बजार मात्रै नभएर भारतको दिल्लीसम्म निर्यात हुँदै आएको छ ।

केही वर्षयता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कडाई गरेपछि परबर भारत निर्यातमा व्यवधान आएको छ । जसका कारण स्थानीय केही कृषकले परबरको साटो धान खेती गर्न थालेका थिए । तर पछिल्लो एक÷डेढ वर्षयता भारतीय तरकारी व्यापारी गाउँमै आएर परबर खरिद गर्न थालेपछि यहाँका किसानले परबर खेती गर्न थालेका छन् । स्थानीय बजारमा पनि माग बढ्न थालेको र महेन्द्रनगरसम्म पु¥याउन सकिने अवस्था आएपछि कृषकहरू यस तर्फ आकर्षित भएको उनिहरुको भनाई छ । महाकाली नदिमा झोलुंगे पुल निमार्णपछि नेपालका टापुका रुपमा चिनिने महाकालीपारीका जनतालाई स्थानीय उत्पादन निर्यातमा सहज भएको स्थानीय बताउँछन् ।

सुन्दरनगरको परबर खेती गरेको जमिन तालमा परिणत हुन थालेपछि स्थानीयको परबर खेती खेतमै सड्न थालेको छ । कृषकको लगानीसँगै आम्दानीको स्रोत डुब्ने चिन्ताले निरास बनाएको छ । ‘खेत ताल जस्तै बनेको छ । आम्दानीको स्रोत नै खेतीबारी हो ।’ सुन्दरनगरकी परबर कृषक शिला खड्काले भनिन्, ‘परबर एकपटक लगाएपछि ४÷५ वर्षसम्म फल दिन्छ । पानी भरिएकाले खेतमै सड्ने अवस्था छ ।’
परबर बगर तथा बलौटे दोमट माटोमा खेती गरिन्छ । स्थानीय रामबहादुर रोकायाका अनुसार आफूलाई पनि जतिसुकै बेला तरकारी खान मिल्ने परबर भारतीय बजारमा राम्रो मूल्य पाउने गरेको छ । जसका कारण यहाँका कृषक परबर खेतीतर्फ बढी आकर्षित भएको उनको भनाइ छ । यहाँ बाहेक जिल्लाका अन्य ठाउँमा परबर खेती त्यति हुने गरेको छैन ।

सुन्दरनगरमा भारतीय क्षेत्रबाट आएको बाढीले गर्दा डुबान हुने गरेको स्थानीयले बताए । त्यस्तै जोगबुडा नदीबाट आएको बाढीले डुबान हुने भएकाले त्यसको निकास आवश्यक भएको स्थानीय बताउँछन् । यसको निकासका लागि स्थानीय सरोकारवाला निकायले पहल गरिदिनु पर्ने उनीहरुको माग छ ।

 

प्रकाशित: ११ श्रावण २०७३ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App