६ वैशाख २०८१ बिहीबार
समाज

सडक कटान भएपछि विद्यालय जान पाएनन्

राजविराज- पछिल्लो साता सप्तरी स्थित विभिन्न नदी तथा खोलामा आएको भिषण बाढीले अस्तव्यस्त बनेको सप्तरी अझै सामान्य बन्न सकेको छैन। बाढीबाट सर्वसाधारण तथा विस्थापितको जनजीवन निकै कष्टकर बन्न पुगेको छ भने बालबालिकाको झन् बिजोग भएको छ।

 बाढीका कारण घरवारबिहीन बालबालिका राहत स्वरूप पाएको चाउचाउ, बिस्कुटको भरमा भोक मेटिरहेका छन्। दलित तथा विपन्न बस्तीका बालबालिका लुगाफाटासमेत  नहुँदा कतिपय नांगै शरीर बस्न बाध्य छन्। बाढी प्रभावित बस्तीका अधिकांश सडक, पुल र कलर्भट भत्किँदा प्रभावित क्षेत्रका बालबालिका विद्यालयसमेत जानबाट बञ्चित भएका छन्।

 आइतबार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–७ तोपास्थित दलित बस्ती पुग्दा त्यहाँका बालबालिकाको बिजोग देखियो। राहतमा पाएको बिस्कुट खाँदै गरेको भेटिएका स्थानीय छ वर्षीय बालक रामकुमार खंगको शरीर ढाक्ने लुगाको नाममा कट्टुबाहेक केही थिएन।

 उनीसँगै भेटिएका ५/७ जना अन्य बालबालिकाको अवस्था पनि उस्तै थियो। 'बाढीका कारण घर लडे, घरमा भएका खाद्यान पनि नष्ट भयो,' स्थानीय बाढीपीडित शिवनारायण खंगले भने, 'गासबासकै समस्या भएका बेला बालबच्चालाई कसले हेर्छन्?, समस्यै समस्याबीच दिन काट्ने काम मात्रै भइरहेको छ।'

 बाढीले खासगरी सप्तरीको दक्षिणी, उत्तरी र पश्चिमी भेगका दर्जनौं बस्ती हदैसम्म प्रभावित बनाएको छ। बाढी प्रभावित बस्तीमा प्रायः दलित, विपन्नकै बाहुल्यता रहेको जिल्ला समन्वय समिति सप्तरीका विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झा बताउँछन्। 'विपद्ले पनि गरिब, निमुखालाई नै बढी पीडा दिने गर्छन्,' उनले भने, 'के खानु, कहाँ बस्नु र के लाउनु भन्ने चिन्ता बढेका बेला बालबालिकामाथि कहाँ अविभावकको ध्यान पुग्छन् र?'

 बाढीलगायतका विपद्का बेला बालबालिका र महिला नै बढी प्रभावित हुने गरेको बताउँदै झाले भने, 'बाढी प्रभावित बालबालिकाको अवस्थालाई पुरानै अवस्थामा कसरी फर्काउँने भन्ने चुनौती थपिएको छ।' यो समस्याप्रति जिल्ला विपद् व्यवस्थापन समिति अत्यन्तै गम्भीर रहेको झा बताउँछन्।

 एकातिर बालबालिका नियमित खाना, लत्ता कपडा, आवसको अभावमा धमाधम बिरामी पर्न थालेका छन् भने अर्कातर्फ नियमित पठनपाठनबाट वञ्चित हुने अवस्थासमेत आइपुगेको छ। 'विद्यालय जोड्ने सडक भत्किएर विद्यालय जानसक्ने अवस्था छैन भने  कतिपय ठाउँमा शैक्षिक सामग्री र कक्षा कोठा नै क्षति भएको छ,' शिक्षा पत्रकार समूह सप्तरीका पूर्व अध्यक्ष शिवहरिप्रसाद भट्टराईले भने, 'बालबालिकाको समस्यालाई प्राथमिकतामा राखेर स्थानिय प्रशासनले सक्रियता देखाउन सक्नुपर्छ।'

 जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बालबालिका र शिक्षा क्षेत्रमा बाढीले के कस्ता प्रभाव पारेको छ भन्ने तथ्यांकसहित विस्तृत प्रतिवेदन तयार पार्न समितिअन्तर्गतको शिक्षा समूह(एजुकेशन क्लस्टर) मार्फत अगाघि बढाइएको छ।

 सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले भने, 'सबै केन्द्रका स्रोत व्यक्तिको संयोजकत्वमा स्थानीयस्तरमा शिक्षा क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थासमेतलाई तथ्यांक संकलनको जिम्मेवारी दिइएको छ, त्यस पश्चात रणनीतिकरूपमा काम अगाडि बढाउने छांै।'

 जिल्ला विपद् व्यवस्थापन समितिको अनुमानित तथ्यांकअनुसार बाढीले सप्तरीको साविकका ८७ गाविस प्रभावित छन्। यसबाट जिल्लाका झण्डै ५० हजार भन्दा बढी बालबालिका बाढीबाट प्रत्यक्ष प्रभावित भएको विपद् व्यवस्थापन समितिको अनुमान छ। जिल्ला भरिका करिब एक सय विद्यालय क्षतिग्रस्त भएको प्रारम्भीक अनुमान छ। कतै भौतिक पूर्वाधार क्षति भएको छ भने कतै शैक्षिक सामग्री भिजेर नष्ट भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ। कतिपय विद्यालयमा बाढी विस्थापित बास बसिरहेका कारणसमेत पठनपाठन सञ्चलन हुन नसकेको कार्यालयको भनाइ छ।

 'यकिन तथ्यांक आईपुगेको छैन,' जिशिअ पाण्डेले भने, 'अहिलेसम्म हामीले पाएको जानकारीअनुसार जिल्लाका ६६ वटा विद्यालय बाढीले प्रत्यक्ष प्रभावित छन्, दुईवटाको भवन नै भत्किएको छ।' कक्षा कोठा हिलाम्य छन्, बालविकास केन्द्रमा राखिएका शैक्षिक सामग्री पनि बाढीले भिजेर नष्ट जस्तै भएको छ।

 स्थानीय प्रशासन तथा सरकारले अविलम्ब यस समस्याप्रति ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ। 'बाढी प्रभावित क्षेत्रका विद्यालयलाई कसरी नियमित सञ्चालनकम ल्याउने भन्नेतर्फ युद्धस्तरमा काम गरिनुपर्छ,' नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले भने, 'हामी सम्पूर्ण जिल्लावासी सहकार्यका लागि तयार छौं, विद्यालय जोडने सडकको मर्मत सम्भार, भत्किएका कक्षा कोठा निर्माण तथा नष्ट भएका शैक्षिक सामग्रीको उपलब्धताका निम्ती राज्यले संयन्त्र नचाले हजारौ बालबालिकाको भविष्य नै चौपट हुन्छ।'

प्रकाशित: ५ भाद्र २०७४ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App