७ वैशाख २०८१ शुक्रबार
राजनीति

खोटाङमा सात हजारभन्दा बढी मतदाता थपिए

खोटाङ – प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा सात हजार बढी मतदाता थपिएका छन् । स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर सुरु गरिएको फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रममा ७ हजार ६८ मतदाताले नाम दर्ता गराएका छन् । गत साउन १ गतेदेखि साउन ३० गतेसम्मको अवधिमा दर्ता भएको मतदाता नामावलीको तथ्यांक मात्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङका नासु रविन मगरले बताए । 

मताधिकार उपयोग गर्ने उमेर पुगेका तथा यसअघि मतदाता नामावली दर्ता गराउन छुट भएका नागरिकलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले दुई नगरपालिका र आठ गाउँपालिकामा फोटो सहितको मतदाता नामावली दर्ताको काम थालेको थियो । महिना दिनको अवधिमा ३ हजार ३०८ महिला र ३ हजार ७६० पुरुषले मताधिकारका लागि नाम दर्ता गराएका छन् । यससँगै जिल्लाको मतदाता संख्या १ लाख २२ हजार ७१२ नाघेको छ । यसअघि जिल्लाको कूल मतदाता संख्या १ लाख १५ हजार ६४४ थियो । ‘साउन ३० गतेसम्ममा जिल्लामा सात हजार बढी मतदाता थपिएका छन्,’ नासु मगरले भने, ‘त्यस यता दर्ता भएको मतदाता नामावलीको तथ्यांक आउन बाँकी छ ।’ 

मतदाता नामावली दर्ता तथा संकलन गर्ने, २०७३ साल फागुन ९ गतेअघि र पछि १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम दर्ता नभएका नेपालीको मताधिकार सुनिश्चित गर्ने, त्रुटी सच्याउने, ठाउँ सार्ने, दोहोरो नाम हटाउने लगायतका प्रयोजनका लागि निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता तथा अद्यावधिकका काम थालेको थियो । विशेषगरी मतदाता नामावलीमा नाम दर्ता छुट हुँदा स्थानीय तहको निर्वाचनमा मताधिकार उपयोग गर्नबाट वञ्चित भएका र देशविदेशमा रहने क्रममा नामावली दर्ता गर्न छुट भएका स्थानीयको नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा भीड लागेको थियो । नाम दर्ता गर्न आउने भीडका कारण कुनैबेला दैनिक बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली दर्ताको काम गर्नुपरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । अभियानका क्रममा मृत्यु भएका, बसाइ सरेर अन्यत्र गएका, नागरिकता रद्ध भएको वा त्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउने लगायतका काम गरिएको कार्यालयले जनाएको छ । 

प्रकाशित: ४ भाद्र २०७४ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App