coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

किसान संगीत नेपाली
लमजुङ–  बालुवा निकासीका लागि ठेक्का लगाउने कार्यालय जिल्ला विकास समितिका कर्मचारी आर्थिक वर्ष अन्त्यसँगै काममा व्यस्त रहेको मौका छोपेर व्यवसायीले अवैधरुपमा बालुवा निकासी गर्ने गरेका छन् ।
कर्मचारी काममा व्यस्त रहेको मौका छोपी जिल्लाका मस्र्याङ्दी, मादी, मिदिम जस्ता ठूला नदी किनारका विभिन्न स्थानबाट आफूखुशी अवैधरुपमा बालुवा निकासी गरेका छन् । अवैध रुपमा बालुवा निकासी गर्दै गरेको अवस्थामा विभिन्न स्थानबाट १४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेसीशहर नगरपालिका १ उदिपुर रिठेवगरबाट ११, मध्यनेपाल नगरपालिका न्यौपानेबेसीस्थित मादी नदी किनारबाट २ र करापुटार नगरपालिका भोर्लेटारस्थित मिदिमखोला किनारबाट १ ट्र्याक्टर नियन्त्रणमा लिई कारबाही गएिको हो । जिविससँगको ठेक्का सम्झौता सकिएको र नयाँ बोलपत्र आह्वान नभएको अवस्थामा व्यवसायीले पुरानै स्थानबाट मनखुशी बालुवा निकासी गर्ने गरेको पाइएको छ । स्थानीयको सूचनाको आधारमा अवैध रुपमा बालुवा उठाउँदै गरेको अवस्थामा प्रहरीले ११ ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । प्रतिट्र्याक्टर एक हजार रुपैयाँका दरले रकम उठाउँदै आएका स्थानीय भरतदेव जोशी पनि प्रहरी नियन्त्रणमा परे । सो कार्यमा संलग्न सबैलाई कारबाहीका लागि प्रहरीले जिविसमा बुझाई सकेको छ ।

जिविसले स्थानीय शासन ऐन अन्तर्गत नौवटा ट्र्याक्टर धनीलाई एक–एक हजार रुपैयाँ जरिवाना तिराएर छाडेको छ । बालुवा झिक्ने कार्यमा संलग्न २१ ट्र्याक्टरबाट एक हजारका दरले रकम उठाउने जोशीबाट सबै रकम असुल गर्दैै एक हजार रुपैयाँ जरिवाना गराएको र यस्तो अवैध काम नगर्न चेनावनी सहितको कागज गराइएको जिविसका योजना तथा प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताए । ट्र्याक्टरमा रहेको बालुवा समेत जफत गरी जिविसमा राखिएको छ ।

स्थानीयका सूचनाका आधारमा विभिन्न स्थानबाट १४ वटा मात्रै ट्र्याक्टर पक्राउ परे पनि दर्जनौं ट्र्याक्टर प्रयोग गरी गाउँसहरको खहरेखोला, रिस्ती, दोर्दी, चेपे, खुदी लगायत खोलाबाट बर्खाको भेलले ल्याएको नयाँ बालुवा लुकीछिपी रुपमा निकासी गर्ने गरेको स्थानीयले बताए ।

आव ०७२÷७३ मा ढुंगा, गिटी, बालुवा संकलनको लागि जिविसमार्फत आह्वान गरी ठेकेदारलाई दिएको सम्झौता साउन १ गतेबाट सकिएको र चालु आवका लागि ११ स्थानका लागि बोलपत्र आह्वान भई स्वीकृत भएको जनाइएको छ । सुन्दरबजार नगरपालिकाको ज्यामिरे खण्डमा बोलपत्र स्वीकृत भई कुनै ठेक्का नपरेको बताउँदै अन्य ६ खण्डका लागि बोलपत्र आह्वान प्रक्रियामै रहेको जिविसले जनाएको छ । ठेक्का लाग्न बाँकी रहेको बेलामा अवैध रुपमा बालुवा संकलन गरिएकाले उनीहरुलाई कारबाही स्वरुप पहिलो पटक जरिवाना मात्रै तिराएर छोडेको जनाइएको छ ।

प्रकाशित: ११ श्रावण २०७३ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App