साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद?

आइतबार, ०४ भदौ २०७४, १० : ०९ डा. बी.आर. अम्बेडकर

अध्यक्षज्यू, श्रद्धेयगण, महिला तथा सज्जनवृन्द!

मलाई माफ गनर्ुुहोला किनभने यो सम्मेलनमा भाग लिन नेपाल आएर मैले यसका सबै सभा–समारोहमा सहभागी हुन सकिनँ, जसरी एउटा प्रतिनिधिले सहभागी हुनुपर्ने थियो। म शारीरिक रूपमा अति सिकिस्त मान्छे हुँ। म यो सम्मेलनका सभा–समारोहका तनाव र बोझ सहन असमर्थ छु। यो सम्मेलनप्रति अनास्था भएर म अनुपस्थित भएको होइन। मेरो व्यक्तिगत अवस्थाले यो सम्मेलनका सभा–समारोहलाई मैले न्याय गर्ने नसकेको हो। सायद यो सम्मेलनमा मेरो अनुपस्थितिकै कारणले होला, मलाई यो मन्तव्यका लागि अनुरोध गरिएको छ। मैले स्वीकारेँ, तर यहाँ पनि मलाई छक्क पारिएको छ। मलाई यहाँ बोल्नुपर्छ भनेर खासै राम्ररी जानकारी थिएन। तर पनि कुन विषयमा बोल्ने भनेर मलाई सोधियो। मैले 'बुद्ध धर्ममा अहिंसा' भन्ने विषय भनेँ। तर, सहभागीमध्ये बहुसंख्यकले के इच्छा गरेका रहेछन् भने मैले 'बुद्ध धर्म र साम्यवाद'बारे बोलूँ। यस विषयमा मैले साधारण सभामा, पहिलो साधारण सभामा, प्रसंगवश हल्का संकेत गरेको थिएँ।

कम्युनिस्टहरूले साम्यवाद ल्याउन अवलम्बन गरेको साधन दुःखको स्वीकारोक्ति हो, निजी सम्पत्तिको उन्मूलन हो। र, यसको बाटो चाहिँ हिंसा र विपक्षीहरूको हत्या हो। यहीँ छ, बुद्ध र कार्ल मार्क्सबीचको आधारभूत भिन्नता। मान्छेलाई आफ्नो सिद्धान्त अँगाल्न लगाउने बुद्धको तरिका भने उत्प्रेरणा हो, नैतिक शिक्षा हो र प्रेम हो। शक्तिद्वारा होइन, प्रेमद्वारा सबै चीज जित्न सकिन्छ।

तथापि विषय परिवर्तन गर्ने यस्तो सुझाव स्वीकार्न म सहजै तयार छु। मैले के भन्नैपर्ने छ भने यति ठूलो, बडेमानको विषयसँग साक्षात्कार गर्न, र मलाई भन्न दिनुहुन्छ भने, व्यापक विषयलाई सामना गर्न यो क्षणभरको समयमा म तयार हुन सक्दिनँ। यो त्यस्तो विषय हो जसले आधा विश्वलाई वशमा पारेको छ। र, मैले के पनि फेला पारेको छु भने यसले अन्य देशका मात्रै होइन, बुद्धधर्मी देशका धेरै विद्यार्थीलाई पनि वशमा पारेको छ। यो पछिल्लो पक्षलाई मैले गम्भीर सरोकारको विषयका रूपमा हेरेको छु।

कम्युनिस्ट जीवन–पद्धतिले दिएको भन्दा अझ राम्रो पद्धति बुद्ध धर्मले दिएको थियो भन्ने कुरा बुद्धधर्मी देशका नयाँ पुस्ताले मूल्यांकन गर्न सकेनन् भने बुद्ध धर्मको पतन हुनेछ। यो एक–दुई पुस्ताभन्दा बढी टिक्न सक्दैन। त्यसैले, जजसले बुद्ध धर्ममा विश्वास गर्छन्, तिनीहरूले नयाँ पुस्तालाई सम्हाल्न अत्यन्त जरुरी छ। साथै, साम्यवादको विकल्प बुद्ध धर्म हुन सक्छ भन्न पनि आवश्यक छ। तब मात्र बुद्ध धर्म बच्ने आशा गर्न सकिन्छ। हामी सबैले के सम्झनुपर्छ भने आज एसियाका नयाँ पुस्ताको बहुसंख्यक हिस्साले कार्ल मार्क्सलाई एक मात्र पूजनीय महापुरुष मान्छन्। तिनीहरू के पनि ठान्छन् भने बौद्ध भिक्षुको एउटा ठूलो हिस्सा गेरूवा खतराबाहेक अरू केही होइन, यसबारे पनि मैले धेरै भनिराख्नु पर्दैन। यो संकेतलाई भिक्षुहरूले ग्रहण गनर्ुुपर्छ, बु‰नुपर्छ, र आफूलाई सुधार्नुपर्छ ता कि तिनलाई कार्ल मार्क्ससँग तुलना गर्न सकियोस्। र, बुद्ध धर्मले साम्यवादसँग प्रतिस्पर्धा गर्न सकोस्।

अब, यो भूमिकासँगै म तपाईंहरूलाई बुद्ध धर्मका र मार्क्सवाद वा साम्यवादका केही प्रमुख बुँदा प्रस्ताव गर्छु। यसले यी दुई वादका विचारमा कहाँ समानता छन्, र कहाँबाट असमानता उब्जिन्छन् भन्ने देखाउँछ। र तेस्रो कुरा पनि राख्नेछु, साम्यवादको लक्ष्यमा पुग्न बुद्धवादी जीवन–पद्धति टिकाउ हुन्छ कि कम्युनिस्ट जीवन–पद्धति? किनभने, दिगो बाटो होइन भने सो बाटो पहिल्याउनुको कुनै तुक हुँदैन। यसले तपाईंलाई जंगलतिर लैजान्छ भने, यसले तपाईंलाई अराजकतातिर डोर्‍याउँछ भने, के कुरामा विश्वस्त हुनुहोस् भने तपाईंलाई हिँड्न भनिएको बाटो ढिलोढालो खालको हुन सक्छ; बिराउने खालको हुन सक्छ; त्यसमा लामा घुम्ती पनि हुन सक्छन्। तर यसले अन्त्यमा सुरक्षित, मजबुत जमिनमा अवतरण गर्छ भने, तपाईंले अँगालेका विचारले तपाईंलाई मद्दत गर्छन्, तपाईंको जीवनलाई स्थायी रूपमा र सदाका लागि आकार दिन्छन्, र तपाईंको जीवन अझ राम्रो हुन्छ भने, मेरो निष्कर्षमा, सुस्त र घुम्ती भएको बाटो अँगाल्नुपर्छ, दौड्ने वा चोरबाटो पक्कै होइन। जीवनका चोरबाटा सधैँ नै धेरै खतरनाक हुन्छन्, धेरै नै खतरनाक!

अब मलाई विषयमा जाने अनुमति दिनुस्। साम्यवादको सिद्धान्त के हो? यो केबाट सुरु हुन्छ? संसारमा शोषण छ, धनीले आफ्नो स्वामित्व कायम गरेको सम्पत्तिको कारणले गरिबलाई शोषण गरेेका हुन्छन्, तिनले आम मान्छेलाई दास बनाएका हुन्छन्, र त्यो दासत्वले पीडा, दुःख र गरिबी निम्त्याउँछ भन्ने सिद्धान्तबाट साम्यवाद सुरु हुन्छ। यही कार्ल मार्क्सको प्रस्थान विन्दु हो। उनले 'शोषण' शब्द प्रयोग गरे। के हो त कार्ल मार्क्सले दिएको उपचार? कार्ल मार्क्सले दिएको उपचार हो, एउटा वर्गको गरिबी र पीडाको व्यवस्थापन गर्न निजी सम्पत्ति समाप्त पार्नु जरुरी छ। कसैले पनि निजी सम्पत्ति राख्न पाउनु हुँदैन, किनभने निजी सम्पत्तिका मालिकले श्रमिकले उत्पादन गरेको — कार्ल मार्क्सले प्रयोग गर्ने प्राविधिक शब्दमा भन्ने हो भने — अतिरिक्त मूल्य हडप्छ, र श्रमिकले आफूले उत्पादन गरेको अतिरिक्त मूल्य पाउँदैन; यो मालिकले हडप्छ।

कार्ल मार्क्सको प्रश्न छ — श्रमिकले आफ्नो परिश्रमले उत्पादन गरेको अतिरिक्त मूल्यलाई किन मालिकले हडप्छ? उनको उत्तर छ, राज्य नै एकमात्र मालिक हो। यसै कारण मार्क्सले सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त प्रतिपादन गरेका हुन्। मार्क्सले प्रतिपादन गरेको तेस्रो मान्यता के हो भने शोषित वर्गले सत्ता चलाउनुपर्छ, शोषक वर्गले होइन, र सर्वहारावर्गको अधिनायकत्वको अर्थ यही हो। यी मार्क्सका आधारभूत मान्यता हुन्, जुन रूसको साम्यवादका आधार हुन्। निःसन्देह, यसलाई विस्तार गरिएको छ, यसमा थपिएको छ, तर यी आधारभूत मान्यता हुन्।

अब मलाई एकछिन बुद्ध धर्ममा जान अनुमति दिनुस् र मार्क्सले उठाएका बुँदामा बुद्धले के भनेका छन् भन्ने हेर्न दिनुस्। अघि भनेझैँ, कार्ल मार्क्स गरिबमाथि भएको शोषणको कुराबाट सुरु गर्छन्। बुद्ध के भन्छन् त? उनी कसरी सुरु गर्छन्? उनले आफ्नो धर्मको संरचनालाई उभ्याएको धरातल के हो? बुद्धले २ हजार वर्ष वा कम्तीमा २४ सय वर्षअघि ठ्याक्कै त्यही कुरा भनेका थिए। उनले भनेका थिए, संसारमा 'दुःख' छ। उनले 'शोषण' शब्दको प्रयोग गरेनन्, तर उनले 'दुःख'लाई आफ्नो धर्मको आधार बनाए — संसारमा 'दुःख' छ। निःसन्देह रूपमा, यो 'दुःख' शब्दलाई धेरै तरिकाले अर्थ्याइएको छ। यसलाई पुनर्जन्मका रूपमा, जीवन र मृत्युको चक्र (भवचक्र) भनेर पनि अर्थ्याइएको छ — यो 'दुःख' हो। म यसमा सहमत छैन। मेरो विचारमा, बुद्ध साहित्यमा यस्ता धेरै ठाउँ छन् जहाँ बुद्धले 'दुःख'लाई गरिबीका अर्थमा प्रयोग गरेका छन्। त्यसैले, जहाँसम्म आधारको कुरा छ, त्यसमा कत्ति पनि भिन्नता छैन। बुद्धवादीले त्यो आधार खोज्न कार्ल मार्क्सकहाँ जान आवश्यक छैन। त्यो आधार पहिल्यै यहाँ बनेको छ, राम्ररी बनेको छ, राम्ररी बनेको छ। बुद्धले आफ्नो दीक्षाबारे दिएको पहिलो प्रवचन हो — धर्मचक्र प्रवर्तन सुत्त। त्यसैले, जो कार्ल मार्क्सप्रति आकर्षित छन्, तिनलाई म भन्छु — धर्मचक्र प्रवर्तन सुत्त पढ्नुस् र बुद्धले के भनेका छन्, पत्ता लगाउनुस्। र तपाईंले यो प्रश्नको चित्तबु‰दो उत्तर पाउनुहुने छ। बुद्धले आफ्नो धर्मको आधार कुनै ईश्वरमा वा आत्मामा वा कुनै अलौकिक कुरामा अड्याएका होइनन्। उनले मान्छेले जीवनमा भोग्ने कष्टदायक अवस्थातिर औँल्याएका छन्। त्यसैले, जहाँसम्म मार्क्सवाद वा साम्यवादको सरोकारका विषय छन्, ती बुद्ध धर्ममा पुग्दो मात्रामा छन्। बुद्धले यो कुरा मार्क्स जन्मनुभन्दा २ हजार वर्षअघि नै भनेका थिए। सम्पत्तिको सवालमा, तपाईंले फेरि बुद्धको मत र कार्ल मार्क्सले प्रचार गरेको मतमा केही सामीप्य पाउनुहुन्छ। कार्ल मार्क्सले भनेका छन्, शोषण रोक्न राज्यले उत्पादनका साधनको — सम्पत्तिको — स्वामित्व लिनुपर्छ। जमिन राज्यको हुनुपर्छ, उद्योगधन्दा राज्यको हुनुपर्छ, ता कि श्रमिकको आफ्नो श्रमबाट पाउने मूल्यमाथि कुनै निजी सम्पत्तिका मालिकले हस्तक्षेप गरेर मजदुरबाट उसको मूल्य हत्याउन नपाओस्।

अब हामी संघतिर, बौद्ध संघतिर जाऔँ र बुद्धले भिक्षुहरूको जीवनका लागि बसालेका नियमलाई केलाऔँ। बुद्धले बसालेका ती नियम के–के हुन्? बुद्धले के भनेका थिए भने कुनै पनि भिक्षुले निजी सम्पत्ति राख्न पाउनेछैन। एक आदर्शको रूपमा भन्दा, कुनै पनि भिक्षुले निजी सम्पत्ति राख्न सक्दैन। यसमा कहीँ–कतै केही त्रुटि नभएको पनि होइन। मैले के पाएको छु भने केही देशमा भिक्षुले पनि निजी सम्पत्ति राखेका छन्। तथापि, बहुसंख्यक देशमा भिक्षुको कुनै निजी सम्पत्ति छैन, कत्ति पनि छैन। वास्तवमा, रूसमा साम्यवादीहरूले बनाएका नियमभन्दा बौद्ध संघका नियम धेरै नै कडा छन्। मैले यसलाई एउटा मौन विषयको रूपमा लिएको छु, यसबारे कसैले छलफल गरेको छैन, र यसबारे कुनै निष्कर्षमा पुगेको छैन। बुद्धले संघ बनाउनुको के उद्देश्य थियो? उनले यसो किन गरे? इतिहासतिर अलिकति फर्कने हो भने बुद्ध आफ्नो धर्म–प्रचारमा लागेकै बेला 'परिव्राजक'हरू क्रियाशील थिए। बुद्धभन्दा धेरै पहिलेदेखि नै हामीले अहिले भन्ने गरेका सन्यासी वा भिक्षुका रूपमा ती अस्तित्वमा थिए। 'परिव्राजक' शब्दको अर्थ हो विस्थापित व्यक्ति, जसले आफ्नो घरबार त्यागेको हुन्छ। सायद आर्य कालमा, आर्यहरूबीचका विभिन्न जाति एक आपसमा लडाइँ गरिरहेका थिए। टुक्रिएका केही जातिले आफ्नो टिक्ने भूमि गुमाए र तिनीहरू भौँतारिँदै थिए। र तिनै भौँतारिएकाहरूलाई परिव्राजक भन्ने गरिन्थ्यो। बुद्धले गरेको ठूलो सेवा के थियो भने उनले ती परिव्राजकलाई एउटा समूहमा संगठित गरे र जीवनका नियम दिए, जुन विनयपिटकमा संगृहीत छन्। ती नियमअनुसार भिक्षुका लागि निजी सम्पत्ति जोड्न बन्देज लगाइएको छ। भिक्षुले सात वटा मात्र वस्तु राख्न पाउँछन्ः छुरा, पानी खाने लोटा, भिक्षापात्र, तीनवटा चीवर, र लुगा सिउने सियो। अब, म जान्न चाहन्छु, साम्यवादको मूलतŒव निजी सम्पत्तिको इन्कार हो भने, निजी सम्पत्तिको सम्बन्धमा विनयपिटकमा पाइएको नियमभन्दा ठूलो र कडा नियम अरू केही हुन सक्छ? सक्दैन, मैले चाहिँ योभन्दा कडा नियम थाहा पाएको छैन। त्यसैले, निजी सम्पत्ति हुनु हुँदैन भन्ने साम्यवादी व्यवस्थामा भएको नियमप्रति कुनै मान्छे वा कुनै युवा आकर्षित हुन्छ भने, उसले त्यही नियम बुद्ध धर्ममा पाउन सक्छ। प्रश्न के मात्र हो भने निजी सम्पत्तिको बन्देजको यो नियमलाई कति हदसम्म सिंगै समाजमा लागू गर्न सकिन्छ। तर त्यो व्यावहारिक रूपमा लागू हुन्छ कि हुन्न भन्ने कुरा समय, परिस्थिति र मानव समाजको विकासमा भर पर्छ। जहाँसम्म सिद्धान्तको कुरा छ, के निजी सम्पत्तिको उन्मूलन गर्नु कुनै गल्ती हो? कोही त्यस्तो गर्न चाहन्छ भने बुद्ध धर्म उसको बाटोमा तगारो भएर उभिँदैन, किनभने यसले पहिल्यै बौद्ध संघको गठनबाट यस्तो छूट दिइसकेको छ।

अब हामी विषयको अर्को पक्षमा जाऔँ। यो पक्ष हो :  साम्यवाद ल्याउन कार्ल मार्क्स वा कम्युनिस्टहरूले अवलम्बन गर्न चाहेका बाटा र साधन के हुन्? यो एउटा महŒवपूर्ण प्रश्न हो। यसको अर्थ, कम्युनिस्टहरूले साम्यवाद ल्याउन अवलम्बन गरेको साधन दुःखको स्वीकारोक्ति हो, निजी सम्पत्तिको उन्मूलन हो, र यसको बाटो चाहिँ हिंसा र विपक्षीहरूको हत्या हो। यहीँ छ बुद्ध र कार्ल मार्क्सबीचको आधारभूत भिन्नता। मान्छेलाई आफ्नो सिद्धान्त अँगाल्न लगाउने बुद्धका तरिका भनेको उत्प्रेरणा हो, नैतिक शिक्षा हो र प्रेम हो। शक्तिद्वारा होइन, प्रेमद्वारा सबै चीज जित्न सकिन्छ भन्ने मान्यतालाई उनीहरूको मनमा घुसाएर उनी आफ्ना शत्रुलाई जित्न चाहन्छन्। त्यहीँ नै छ आधारभूत भिन्नता — बुद्ध हिंसाको प्रयोगलाई अनुमति नै दिँदैनन्, तर साम्यवादीहरू भने दिन्छन्। के कुरामा शंका छैन भने साम्यवादीहरूले छिटो नतिजा पाउँछन्, किनभने तपाईं एउटा मान्छेको अस्तित्व मेटाइदिनुहुन्छ भने ऊ तपाईंको प्रतिरोध गर्न जीवित नै रहँदैन। अनि तपाईं आफ्नो विचारधारामा लागि पर्न सक्नुहुन्छ, तपाईं आफ्नो कार्यशैली लागू गर्न सक्नुहुन्छ। मैले भनेँ नि, बुद्धको बाटो पक्कै पनि धेरै लामो छ, तर सायद सबभन्दा ढुक्कसँग हिँड्न सकिने बाटो हो। मैले आफ्ना कम्युनिस्ट साथीहरूलाई सधैँ सोध्ने गरेका दुई–तीन वटा प्रश्न छन्। उनीहरू हिंसाद्वारा आफूले भन्ने गरेको सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्छन्। उनीहरू निजी सम्पत्ति भएका सबै मान्छेलाई राजनीतिक अधिकारबाट वञ्चित गर्छन्। तिनीहरूले विधानसभामा आफ्ना प्रतिनिधित्व गर्न सक्दैनन्, तिनीहरूको मताधिकार हुँदैन, तिनीहरू राज्यका दोस्रो ठूला प्रजा भएर रहन्छन् — शासित भएर, शासन गर्ने अख्तियारी वा शक्ति नभएका समूहका रूपमा। कम्युनिस्ट साथीहरूसामु मान्छेलाई शासन गर्ने राम्रो पद्धति अधिनायकत्व हो भन्ने कुरा स्वीकार गनर्ुुहुन्छ कि भनेर सोध्दा उनीहरू भन्छन्, “होइन, हामी स्वीकार्दैनौँ, हामी अधिनायकत्व चाहन्नौँ।” अनि म सोध्छु, “तपाईं कसरी त्यसलाई प्रवेश दिनुहुन्छ?” तर उनीहरू भन्छन्, “यो एउटा अन्तरिम कालका लागि मात्रै हो जहाँ अधिनायकत्व हुनुपर्छ।” तपाईं फेरि अघि बढेर सोध्नुहोला, “अनि यो अन्तरिम कालको अवधि कति हो? २० वर्ष? ४० वर्ष? ५० वर्ष? १०० वर्ष?” उत्तर छैन। उनीहरू के मात्रै दोहोर्‍याउँछन् भने सर्वहारावर्गको अधिनायकत्व हराउनेछ, हो आफैँ हराउनेछ। अति राम्रा। अब सर्वहारावर्गको अधिनायकत्व हराउने कुरालाई नै लिऔँ न। म एउटा प्रश्न गर्छु, “अधिनायकत्व हराएपछि के हुन्छ? यसको ठाउँ केले लिन्छ? के मान्छेलाई कुनै किसिमको सरकार चाहिँदैन?” उनीहरूसँग उत्तर छैन।

त्यसो भए अब हामी बुद्धमा फर्कौँ र यही प्रश्नलाई धम्मसँग जोडेर सोधौँ। बुद्ध के भन्छन्? बुद्धले गरेको सबैभन्दा महान् कुरा के हो भने उनले संसारलाई बताएः मान्छेको चित्तलाई र संसारको चित्तलाई सुधारेर बाहेक संसारलाई सुधार्न सकिन्न। साम्यवादी व्यवस्थालाई मस्तिष्कले स्वीकार्‍यो भने, यसलाई बफादारीका साथ माया गर्‍यो भने, र यसलाई लागू गर्‍यो भने, यो स्थायी हुन्छ, र मान्छेलाई नियममा राख्न कुनै शक्ति चाहिन्न, कुनै सैनिक वा पुलिस चाहिन्न। किन? यसको उत्तर हो — बुद्धले तपाईंको विवेकलाई यति हदसम्म सशक्त गरिसकेका हुन्छन् कि तपाईंको विवेक आफैँ तपाईंलाई आफ्नो बाटोमा लागिरहन एउटा पहरेदारका रूपमा काम गर्छ। चित्त रूपान्तरित भएपछि कुनै समस्या रहँदैन, यो स्थायी हुन्छ। साम्यवादी व्यवस्था बलमा आधारित हुन्छ। मानाँै, भोलि रूसमा अधिनायकत्व असफल भयो, तब के हुन्छ? त्यसका संकेत हामी देख्दैछौँ। मलाई साँच्चिकै के जान्न मन लागेको छ भने त्यस्तो अवस्थामा साम्यवादी व्यवस्था के हुन्छ? मैले देखेअनुसार, राज्यको सम्पत्ति हडप्न रुसी जनताबीच रक्तपातपूर्ण युद्ध हुन्छ। त्यसको परिणाम यही हुन्छ। किन? किनभने उनीहरूले साम्यवादलाई स्वेच्छाले स्वीकारेका छैनन्। उनीहरू यस व्यवस्थाप्रति आज्ञाकारी छन्, किनभने उनीहरू झुन्ड्याइने त्रासबाट ग्रस्त छन्। यस्तो व्यवस्थाले जरा गाड्न सक्दैन। त्यसैले मेरो विचारमा कम्युनिस्टहरूले यी तीन प्रश्नको उत्तर दिन सकेनन् भने, उनीहरूको त्यो व्यवस्था के हुन्छ? जब बल हराउँछ, तब यस व्यवस्थालाई निरन्तरता दिइराख्न सकिँदैन। किनभने चित्त रूपान्तरित भएको छैन भने बल सधैँ चाहिने हुन्छ। निष्कर्षमा मैले भन्न चाहेको यही हो :  बुद्ध धर्ममा मैले फेला पारेको सबैभन्दा महान् कुरा भनेको बुद्धको व्यवस्था लोकतान्त्रिक व्यवस्था हो। वृज्जिहरूलाई हमला गरेर जित्ने इच्छाबारे अजातशत्रुले आफ्ना प्रधानमन्त्रीलाई बुद्धकहाँ सोध्न पठाएपछि बुद्धले वृज्जिहरूबारे भनेका थिए — उनले तबसम्म जित्न सक्दैनन् जबसम्म वृज्जिहरूले आफ्नो युगौँ पुरानो व्यवस्थाका पद्धति अँगालिरहनेछन्। दुर्भाग्यको कुरा के हो भने बुद्धले यसको अर्थ सरल शब्दमा व्याख्या गरेनन्। तर के कुरामा शंका छैन भने बुद्धले वृज्जिहरूको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थातिर इंगित गरेका थिए। उनले भनेका थिए, जबसम्म वृज्जिहरूहरूले आफ्नो व्यवस्थालाई पछ्याउनेछन्, तबसम्म तिनीहरू हार्ने छैनन्। बुद्ध वास्तवमा एक महान् लोकतन्त्रवादी थिए।

त्यसैले मैले भन्न मिल्छ भने, अध्यक्षज्यूले मलाई भन्न दिनुहुन्छ भने म भन्छु — म राजनीतिशास्त्रको विद्यार्थी हुँ, र मैले कार्ल मार्क्स, साम्यवाद, र तिनका अरू सबै कुराको अध्ययनमा धेरै समय खर्चेको छु, र मैले आफ्नो समयको ठूलो हिस्सा बुद्धको धम्मको अध्ययनमा बिताएको छु। यी दुई वादको तुलना गरेपछि म के निष्कर्षमा पुगेँ भने संसारको ठूलो समस्याको विषयमा बुद्धको सुझाव छ — दुःख छ, दुःखलाई हटाउनुपर्छ, बुद्धको बाटो नै सबैभन्दा सुरक्षित र उत्तम छ, र बौद्धमार्गी देशका युवा पुस्तालाई बुद्धका वास्तविक शिक्षामा धेरै ध्यान दिन सल्लाह दिन्छु।

 निष्कर्षमा भन्नुपर्दा, कुनै बौद्ध देशमा धम्ममा कुनै संकट उब्जियो भने त्यसको दोष भिक्षुहरूकै थाप्लोमा जान्छ। किनभने मलाई व्यक्तिगत रूपमा के लाग्छ भने उनीहरूले आफूलाई दिएको जिम्मेवारी पूरा गरेका छैनन्। खै कहाँ भइरहेको उपदेशको प्रचारप्रसार? कसले अरूलाई बुद्ध धर्मको प्रचार गर्छ? भिक्षु त आफ्नै विहारमा भोजन गर्दै होला, निःसन्देह एक छाक मात्रै, त्यो पनि शान्तसँग। सायद ऊ पढ्दै होला, अझ हुन सक्छ म उसलाई सुतिरहेको पाउँछु, र साँझ अलिकति संगीत सुन्दै गरेको पाउँछु। धर्म फैलाउने तरिका यो होइन। मेरा मित्रहरू, म तपाईंहरूलाई भन्न चाहन्छु, म कसैलाई आलोचना गर्न चाहन्नँ। तर धर्म समाजको पुर्नजीवनका लागि नैतिक बल हो भने तपाईंहरूले मान्छेका कानमा यसलाई निरन्तर संचार गरिरहनुपर्ने हुन्छ। एउटा बच्चाले विद्यालयमा कति वर्ष बिताउनुपर्छ? एक दिन सिकेपछि बच्चाको ज्ञान वृद्धि हुन्छ भनेर तपाईंले उसलाई विद्यालय पठाउनुहुन्न। शिक्षा पाउन त बच्चाले दिनदिनै विद्यालय जानुपर्छ, पाँच घण्टा त्यहाँ बस्नुपर्छ, र निरन्तर अध्ययन गर्नुपर्छ। यसरी र यसपछि मात्र त्यो बच्चा केही परिपूर्ण हुन्छ, जसलाई ज्ञान वा सिकाइ भनिन्छ। यहाँका सबैलाई थाहा छ, बौद्ध विहार कुनै राज्य होइन। भिक्षुले मान्छेहरूलाई कुनै दिन पनि विहारमा बोलाउँदैन र नैतिक शिक्षाको विषयमा प्रवचन पनि दिँदैन। मैले यस्तो गरेको दृश्य कहिल्यै देखेको छैन। म श्रीलंका गएँ। त्यहाँ केही मान्छेलाई भनेँ, म भिक्षुले प्रवचन गरेको देख्न आतुर छु। उनीहरूले मलाई भने, उनीहरूसँग 'भर्ण' छ। उनीहरू 'भर्ण' शब्द प्रयोग गर्छन्, जसको अर्थ मैले 'वणका' हो भनेर पछि थाहा पाएँ। उनीहरूले मलाई ११ बजे एउटा ठाउँमा लगे, जहाँ यो जस्तै एउटा सानो वर्गाकार कोठा थियो, एउटा टेबुल थियो, र म भुइँमा बसेँ। त्यहाँ शिरपोसमा क्रस भएको एक भिक्षु ल्याइए। धेरै पुरुष र महिलाले पानी ल्याए र मेरा खुट्टा धोए, र उनी आए र त्यहाँ बसे। उनीसँग एउटा 'पंखा' थियो। हेर्नुस्, भगवान् मात्रै जान्दछ उनले के के भने। अवश्य, उनले सिंहाली भाषामा प्रवचन गरेको हुनुपर्छ। प्रवचन दुई मिनेटभन्दा लामो थिएन। दुई मिनेटपछि उनी बिदा भए।

तपाईं क्रिश्चियन धर्मावलम्बीहरूको चर्चमा जानुहुन्छ। त्यहाँ के हुन्छ? प्रत्येक हप्ता मान्छेहरू त्यहाँ जम्मा हुन्छन्। उनीहरू पूजा गर्छन्। कुनै पादरीले त्यहाँ उपस्थित मानिसहरूबीच मान्छेले यो यो गर्नुपर्छ भनेर जिससले भनेका थिए भनेर बाइबलको आधारमा कुनै विषयमा प्रवचन दिन्छन्। तपाईं सायद छक्क पर्नुहोला, हामीमध्ये धेरै अचम्मै हुन्छौँ पनि, किनभने क्रिश्चियन धर्मका ९० प्रतिशत कुरा बुद्ध धर्मबाट सारिएका छन्, सार र रूप दुवैमा। तपाईं रोम जानुहुन्छ, मुख्य चर्च देख्नुहुन्छ, र तपाईंलाई बेरुतमा रहेको 'विश्वकर्मा' भनेर चिनिने ठूलो मन्दिरको सम्झना आउँछ।

विशाविग्नेले बुद्ध धर्मबारे एउटा पुस्तक लेखेका थिए। उनी चीनका एक धर्मप्रचारक थिए। उनी बुद्ध धर्म र क्रिश्चियन धर्ममा यति धेरै समानता कसरी भयो भनेर धेरै अचम्मित भएका थिए। जहाँसम्म दृष्टिकोणको कुरा छ, उनले बुद्ध धर्मले क्रिश्चियन धर्मको अनुकरण गरेको भन्ने आँट गरेनन्। क्रिश्चियन धर्मले बुद्ध धर्मको अनुकरण गरेको कुरा पनि उनले स्वीकार्न चाहेनन्। यसबारे निकै धेरै कुरा गर्नुपर्ने छ। तर मेरो विचारमा अब समय आएको छ, बौद्धजनमा धर्म फैलाउन हामीले क्रिश्चियनहरूले प्रयोग गर्ने केही तरिका अनुसरण गर्नैपर्छ। उनीहरूलाई प्रतिदिन र प्रतिक्षण चेतनशील बनाउनैपर्छ :  बुद्धको धम्म त्यहाँ छ भन्दै, गलत बाटोमा जानबाट रोक्न प्रहरीजस्तै उभिँदै। त्यसो गर्न सकिएन भने यो धर्म सम्भवतः नराम्ररी क्षय हुने अवस्थामा पुग्नेछ। अहिले पनि बौद्ध देशहरूमा यो क्षयोन्मुख अवस्थामा म पाउँछु। तर यसको प्रभाव त्यहाँ छ, यसमा भने कुनै शंका छैन।

अब म तपाईंहरूलाई एउटा अत्यन्त रोचक उपसंहार कथा सुनाउन चाहन्छु जुन मैले बर्मामा देखेको थिएँ। म बर्मामा गएको थिएँ, मलाई एउटा सम्मेलनमा बोलाइएको थियो। उनीहरूले मलाई कसरी उनीहरू गाउँ पुनःनिर्माण गर्न गइरहेका छन् भन्ने देखाउन लगे। म धेरै खुसी भएँ। म उनीहरूसँगै गएँ र समितिले गाउँहरू सुधार गर्ने योजना बनाएको रहेछ। त्यहाँका बाटा त्यस्तै बांगाटिंगा थिए, यता–उता मोडिएका थिए, केही व्यवस्थित थिएन। त्यसैले, समितिले फलामका खाँबा ठड्याएको थियो र बाटो यसरी जानुपर्छ भनेर त्यसमा डोरी पनि टाँगेको थियो। धेरैजसोमा मैले के पाएँ भने समितिले कोरेको रेखा एउटा भलाद्मीको घरको केही भाग काटेर गएको थियो वा यसले कुनै व्यक्तिको स्वामित्वको जग्गाको सानो भागबाट गएको थियो। जब म गएँ, देखेँ, र उनीहरूलाई सोधेँ, “तपाईंहरू कसरी यसलाई व्यवस्थित गर्नुहुन्छ? तपाईंहरूले लिन लागेको सम्पत्तिको मुआब्जा तिर्न तपाईंहरूसँग पैसा छ?” उनीहरूले भने, “कसैलाई पैसा चाहिन्न।” सबैले भने, “तपाईंलाई चाहिन्छ भने लिनुस्।” यस्तो किन भयो त? जबकि तपाईंले मेरो देशमा मुआब्जाबिना कसैको सानो टुक्रा जमिन लिनुभयो भने रक्तपात हुन्छ। तर यहाँ त यस्तो छ। किन? किन बर्मेलीहरू आफ्नो जमिनप्रति यति उदार छन्, यति उदार? किन उनीहरू यसको वास्ता गर्दैनन्? यसको कारण हो, बुद्धको सिकाइ। बुद्धले सिकाएका छन् — सर्वं अनित्यम्। जुन चीज तपाईं देख्नुहुन्छ, त्यो अनित्य छ। अनित्य चीजका लागि किन लड्ने? तपाईं जमिन चाहनुहुन्छ भने ठीकै छ, लिनुस्।

महिला तथा सज्जनवृन्द! अब म यस मन्तव्यलाई अझै निरन्तरता दिन सक्छु जस्तो लाग्दैन। अब यसो गर्न आवश्यक पनि छैन। मैले तपाईंहरूलाई एउटा दृष्टिकोण मात्रै दिन खोजेको हुँ, जहाँबाट तपाईंहरू हेर्न सक्नुहुन्छ। तपाईंहरू साम्यवादी सफलताहरूमा नडुब्नुस्। म अत्यन्त विश्वस्त छु, हामी सबैले बुद्धले प्राप्त गरेको ज्ञानको दशांश मात्रै उज्यालो पायौँ भने पनि प्रेम, न्याय, र सद्भावको माध्यमबाट उस्तै परिणाम ल्याउन सक्छौँ। यहाँहरूलाई धेरै धन्यवाद!

(झन्डै ६१ वर्षअघि २०१३ मंसिर ५ मा काठमाडौँमा भएको चौथो विश्व बौद्ध सम्मेलनमा अम्बेडकरको सम्भाषण। यसको अनुवाद महेशराज महर्जन र राजेन्द्र महर्जनले गर्नुभएको हो।)








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad