७ वैशाख २०८१ शुक्रबार
समाज

पुल कमसल बन्दा बाढीले भत्कायो

बर्दिया- तीन वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोद कुवँरले पुन कमसल बनेको देखेर नै धराप बन्ने जोखिमको आंशका गरेका थिए। निर्माणमै त्रुटि रहेकाले सुधार गर्नुपर्ने भन्दै उनले त्यसबेला सक्दो प्रयास पनि गरेका थिए। जिल्लास्थित राजनीतिक दल, स्थानीय र संचारकर्मीलाई अनुगमन गराएर उनले पुल निर्माणकै क्रममा त्रुटि रहेको पुष्टि गरे। प्रशासनले टेन्डर आव्ह्वान गर्ने निकाय हुलाकी सडकलाई पटक पटक लिखित र मौखिकरूपमा त्रुटि सुधार गर्न अनुरोध पनि गर्यो। पुल निर्माणको गुणस्तर सुधार्न  जिल्लास्थित राजनीतिक दल र  प्रजिअ कुवँरले अथक प्रयास गरेका थिए।

कुँवरको सो प्रायसले सार्थकता पाउनु त परै जाओस् बहाना बनाएर उनको सरुवा नै गरियो। उनको सरुवापछि ठेकेदारलाई कमसल पुन बनाउन निकै सहज भयो र एक वर्षअघि निर्माण सम्पन्न भयो। १६ करोड रुपैयाँ खर्चेर बनाइएको चार सय २५ मिटर लामो पुलमा एक वर्ष अघिदेखि संचालनमा आएपछि जनतामा छाएको खुसी भने धेरै समय टिक्न सकेन।

एउटा बर्खामा नदीमा आएको बाढीको धक्का थेग्न नसकेर पुल भत्केपछि अहिले स्थानीय पहिलेकै नदी पार गर्न डुंगा तर्नुपर्ने अवस्थामा मात्रै फर्केका छैनन् प्रजिअ कुँवरको तीनवर्ष अघिको प्रयास पनि सम्भि्कएका छन्। 

पुल भत्केर नदी थुनिदा धनजनमा क्षति पुग्यो। पुलभन्दा पश्चिमतर्फ बाढीले बढी क्षति पुर्‍याएको स्थानीयको भनाइ छ। 'पुल भत्किएपछि त्यसले नदीको बहाव छेक्योे,' बेचैपुरका रामबहादुर थारुले भने, 'बबई तटबन्ध भत्काएर बाढी बस्तीमा पस्दा ठूलो क्षति भयो।'

पुल भासिएपछि स्थानीयको घरखेत मात्रै डुबेन उनीहरूको गुलरिया आउनेजाने बाटोमेत बन्द भयो। सर्वसाधरण पुरानैशैलीमा ढंुगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन्।

बाढीका कारण पिलर भासिएपछि दुई टुक्रा भएको पुलमा पैदल आवागमन गर्न पनि कठिन छ। हजारौं जनताको आवतजावत गर्ने जब्दी पुल भासिएपछि स्थानीयले निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रशासनले कारबाहीका लागि भौतिक निर्माण तथा व्यवस्था मन्त्रालयलाई अनुरोध गर्दै पत्राचार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल गुणस्तरमा स्थानीयले खोट लगाएका छन्। पप्पु कन्स्ट्रक्सनको लापरबाहीले बाढीले भत्काएको स्थानीयको आरोप छ। पुल भासिएपछि कारबाहीका लागि पत्राचार गरेको सहायक प्रजिअ गञ्जबहादुर एमसीले बताए।

बुधबार बिहान आएको बाढीले थप एउटा पिलरसमेत पनि भासिएको छ। ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका तत्कालीन कर्मचारीको मिलेमतोमा स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै पुल निर्माण गरिएको थियो।

‘देशमा धेरै ठूलो विकास भएको जस्तो लाग्थ्यो पुल देख्दा,’ एक स्थानीयले  भने ‘पुल देख्नलाई मात्र भयो, अब अवशेष मात्र बाँकी छ।’

जिल्लाका सबै गाविससँग जोड्ने पुल बगाए पनि यसको विकल्प खोज्न कतैतिरबाट पहल हुन सकेको छैन। ‘जिल्लाको अधिकांशमा बाढी तहसनहस गरेको छ,’ एक नेताले भने। निर्धारित समयभन्दा निकै ढिलो सम्पन्न भएको पुल निर्माण ७ वर्षमा संचालनमा आएको थियो।

स्थानीय नेता गेहेन्द्र ढकालले भने, ‘पुन बग्दा भौतिकरूपमा मात्रै होइन गाउँलेको सपना नै बगाएर लगेको हामीलाई महसुस भइरहेको छ।’  बबईमा बाढीबाट चारजनाको ज्यान गएको छ। एक लाख घरधुरी वाढीवाट प्रभावित भएको तथ्याकं छ।

प्रकाशित: ४ भाद्र २०७४ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App