coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेलाले जुरायो कलेज छान्ने अवसर

काठमाडौं- विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेका प्रसन्न श्रीवास्तव राम्रो कलेजको खोजीमा धेरैतिर भौंतारिए। साथीभाइ र अभिभावकको कुरा सुनेर उनी उपत्यकाका अधिकांश कलेजमा चहारे। तर, उनले आफ्नो छनोटका विषयमा पढाइ हुने कलेज छान्न सकेनन्। कस्तो कलेज र कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने विषयमा बुझाउने मान्छे नपाएर पनि आफू धेरै भांैतारिनुपरेको उनले बताए।

शनिबार भने उनलाई भनेजस्तै भयो। नेपाल रिपब्लिक मिडिया प्रालिले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक एजुकेसन करिअर' मा उनले कस्तो कलेज छान्ने र कुन विषय पढ्ने भन्नेमा परामर्शका साथै कलेज छान्ने अवसरसमेत पाए। 'कलेज डुल्दै २० दिनजति समय खेर गयो,' उनले सुनाए, 'मेलामा आएर कुन कलेज र कस्तो विषय पढ्ने भन्नेबारे राम्ररी थाहा पाएँ, मेलाले मेरो दुविधा हटाइदियो।' उनले मेलाकै सहायतामा बिबिए पढ्ने निधो गरेको सुनाए।

विज्ञान संकायमै प्लस टु सकेकी ललितपुर नक्खुकी ईशा तिवारी पनि विषय र कलेज छनोटमा अलमलमा थिइन्। उच्च शिक्षाका लागि विषय छान्न अन्योलमा परेकी उनले मेलामा आएर स्कुल र शिक्षकहरूसँग परामर्श लिएपछि अब स्पष्ट भएको बताइन्। 'मेलामा आएर आफूले कुन विषय पढ्दा फाइदा हुन्छ भन्ने जान्न पाएँ,' उनले भनिन्, 'मैले इन्जिनियरिङ पढ्ने निर्णय गरें।' सानैदेखिको रहर इन्जिनियरिङ पढ्ने भएकाले पनि त्यसबारे मेलामा प्रस्ट जान्न पाएको उनले बताइन्।

मेलामा रहेको युनिग्लोबल कलेजकोे स्टलमा भेटिएकी कविता बस्नेत पनि साथीहरूसँगै होटल व्यवस्थापन विषयबारे जानकारी लिँदै थिइन्। उनले कक्षा १२ मा होटेल व्यवस्थापन विषय अध्ययन गरेकाले स्नातक तहमा पनि सोही विषय पढ्ने बताइन्। 'मेरो लक्ष्य कुशल होटल व्यवस्थापक बन्नु हो,' उनले भनिन्, 'त्यहीअनुसार विषय र कलेज छनोट गर्न मेलामा आएकी हुँ, मेलामा आएर धेरै कलेज र विषयबारे जान्ने मौका पाएँ।'

नेपाल रिपब्लिक मिडिया प्रालिले आयोजना गरेको दुईदिने 'हेराल्ड कलेज नागरिक एजुकेसन करिअर फेयर' शुक्रबार सुरु भएको हो। मेलाको पहिलो दिन करिब एक हजार विद्यार्थीले अवलोकन गरेका थिए भने दोस्रो दिन शनिबार विद्यार्थी, शिक्षक र अभिभावकको उत्तिकै भीड थियो।  कक्षा १२ पछि विद्यार्थीलाई कुन विषय र कुन कलेज पढ्ने भन्ने विषयमा परामर्श दिन मेला आयोजना गरिएको हो। यस्ता मेलाले नेपालको शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन मुख्य भूमिका खेल्ने अनुमान छ।

मेलामा चिकित्साशास्त्र, बिबिए, बिएस डब्लु, इन्जिनियरिङ, एमबिबिएलगायत विषयको परामर्शसहितका स्टल राखिएको थियो। त्यसमध्ये व्यवस्थापन र मानविकी संकायका विषयअन्तर्गतका विषय–बिबिए, बिएचम, बिआइटी, बिएस डब्लुलगायतमा आकर्षण बढी देखिएको हब इन्टरनेसनल एजुकेसनका मार्केटिङ म्यानेजर विश्वम्भर खतिवडाले जानकारी दिए। उनले मेलामा आएका अधिकांश विद्यार्थीमा बिबिए नै पढ्ने मनसाय देखिएको बताए। 'राम्रो कलेज र विषय छनोट गर्न भांैतारिएका धेरै विद्यार्थीले मेलामा परामर्श लिएका छन्,' उनले भने, 'यस्तो मेलाले विद्यार्थी, अभिभावक, कलेज र शिक्षक सबैलाई फाइदा हुन्छ।' मेलामा उपत्यकामा नाम कमाएका ११ वटा कलेज सहभागी थिए।

मेलामा अभिभावकको चिन्ता

काठमाडौं मैतीदेवीका सरोज थापाले छोराकै रोजाइको कलेजमा भर्ना गरिदिए। आफ्नै रोजाइको कलेज पढेर राम्रो नतिजा ल्याउला भन्नेमा उनी ढुक्क थिए। तर, बीचमा उनलाई पछुताउनुपर्‍यो। कलेजको वातावरण र पढाइ राम्रो नभएपछि छोराको पढाइ बिग्रियो। उनले कक्षा ११ पढ्दापद्दै छोरालाई अर्को कलेजमा हालिदिए। कलेज परिवर्तन गरेपछि छोराको पढाइ राम्रो भएकाले उनी नतिजा नआउँदै छोरीका लागि कलेज खोज्न निस्किएका छन्। 'नतिजा आएपछि कलेज–कलेज चाहर्नुभन्दा एकै ठाउँमा धेरै शैक्षिक संस्था सहभागी मेलामा किन नजाने?' उनले सुनाए। उनी शनिबार दिनभर मेलामा भएका स्टलमा डुले। बिबिए पढ्न रहर गरेको छोराका लागि उनले सम्बन्धित सबै कलेज बुझे पनि। 'छोराछोरीलाई परामर्श गर्नु अभिभावकको दायित्व पनि हो,' उनले भने, 'उनीहरूले पढ्न चाहेको विषयमा अभिभावकले सहयोग गर्न सक्यो भने छोराछोरीको भविष्य बिगं्रदैन।'

भक्तपुर सूर्यविनायककी सुनिता खड्का पनि शैक्षिक मेलामा सहभागी भएकी थिइन्। उनले दिदीकी छोरीलाई कुन विषय पढाउन राम्रो हुन्छ भनेर बुझ्न मेलामा आएको बताइन्। 'उच्च शिक्षाका लागि सबैभन्दा जटिल विषय कलेज र पढाइको विषय छान्नु हो,' उनले सुनाइन्, 'सही कलेज विषय छनोट गरियो भने पछि पछुताउनु पर्दैन।' उनले मेलामा लगभग ९ कलेजबारे बुझिन् र सम्बन्धित कलेजका प्रचार सामग्री पनि बटुलिन्। 

प्रकाशित: ४ भाद्र २०७४ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App