८ वैशाख २०८१ शनिबार
समाज

मनाइयो पञ्चदान पर्व

भक्तपुर- पाँचवटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई शनिबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भा›कृष्ण त्रयोदशी  (पञ्चदान चर्‍हे) का दिन भक्तपुरमा यो पर्व मनाइन्छ।

पर्वका क्रममा भक्तपुर नगरको सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई भेला गराई नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुट्टै स्थानमा राखिएका दीपंकर बुद्धलाई सूर्यमढीमा लगिन्छ। यसअनुसार बिहानै प्रसन्नशील महाविहार क्वाठडांैको मूलदीपंकर बुद्ध, चतुर्बह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइएको थियो।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो। नगरका विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्रपाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ। परम्पराअनुसार पाँचवटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठडांै, गोल्मढी, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो। त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो। त्यहाँबाट फेरि इटाछें, भार्वाचो, वंशगोपाल हुँदै अन्तिममा टौमढी पाँचतले मन्दिर पुर्‍याइएको थियो। टौमढी पुर्‍याइएपछि साँझ त्यहाँबाट पुनः यथास्थानमा ती बुद्धलाई लगिएको थियो।

नगर परिक्रमा गर्ने क्रममा हजारौं नगरबासी सहभागी थिए। दीपंकर बुद्ध बोक्ने कार्यमा संलग्न ज्ञानु बज्राचार्यका अनुसार दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ। धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा रहेको उनले सुनाए।

लोभलालच नराखी केही प्राप्त गर्ने मनसायले नभई शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी भएको पर्वका स्वयंसेवी चिनियाँकाजी बज्राचार्यले जनाए।

प्रत्येक वर्ष बौद्ध धर्मालम्बी नेवार ठूलो पर्व पञ्चदान अर्थात् पञ्चदान सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। यो पर्व काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा, साँखु, पनौतीलगायतका ठाउँमा मनाइन्छ। पाटनमा भने यो पर्व हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन मनाइन्छ।

पर्वलाई कसैले पञ्चदान भन्ने गर्छन् भने कहीं पञ्जदान पनि उल्लेख गरिएको पाइन्छ। पञ्चदान भन्नेका अनुसार यस दिन धान, गहुँ, सानो केराउ, नुन, फलफूल गरी पाँच प्रकारका अन्नदान गर्ने परम्परा छ। त्यसैले यस पर्वलाई पञ्चदान भनिएको हो।

त्रिभुवन विश्वविद्यालय बौद्धशिक्षाका प्राध्यापक पुष्परत्न शाक्यका अनुसार यस पर्वको वास्तविक नाम पञ्जदान हो। उनका अनुसार पञ्ज संस्कृत शब्द हो। 'पम्' भनेको पृथ्वी हो भने 'ज' शब्दले उमि्रएको भन्ने जनाउँछ। पृथ्वीमा उमि्रएको वस्तु दान दिने पर्व भएकाले यसको नाम पञ्जदान रहेको उनले बताए।

धान, चामल, गहुँ, मास, भटमास, फलफूल, नुन र दक्षिणा गरी सात प्रकारका वस्तु दान गर्ने प्रचलन रहेकाले पनि यस पर्वलाई पञ्चदान भन्न नमिल्ने  बज्राचार्यको भनाइ छ।

प्रकाशित: ४ भाद्र २०७४ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App