७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई मन्त्रीसहित कांग्रेस नेता पौडेल बाढी प्रभावित क्षेत्रमा

काठमाडौं- तराई/मधेसका बाढी प्रभावितले तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधानका योजना बनाउन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रको निरीक्षणका लागि कृषिमन्त्री रामकृष्ण यादव र सिँचाइमन्त्री सञ्जय गौतमलाई साथै लिएर शनिबार रौतहट, सर्लाही र सप्तरी पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधान गर्ने योजना बनाउन उनीहरूले आग्रह गरेका हुन्।

सप्तरीका अरविन्द्र केसरी यादवले तत्कालीन मात्र नभएर दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाउनुपर्ने बताए। बाढीबाट प्रभावित भएकालाई तत्काल राहत दिनुपर्ने बताउँदै उनले भने, 'बाँध बनाउने मात्र होइन, त्यसको संरक्षण गर्ने र स्थायी समाधान खोज्ने योजना बनाउनुपर्छ।'

अल्पकालीन समाधानले हरेक वर्ष समस्या आइरहेको सुनाउँदै उनले थपे, 'बालुवाले बाँध बनाउने होइन,  जति सकिन्छ पक्की बाँध बनाउनुपर्छ।' साउन २७ गते आएको बाढीले घर, खेती र अन्न सबै गुमाएका रौतहट प्रेमपुरका चौठी पासवान आफूहरुलाई सधैं त्रासमा रात बिताउनुपरेको सुनाए। 'खानेमात्र होइन, कसरी बाँच्ने भन्ने दिनहुँको चिन्ता छ,' अरविन्द्रले भने, 'आज खानेमात्र होइन भोलि कसरी बस्ने  र बाँच्ने भन्ने योजना ल्याउनुपर्‍यो। 

आफ्नो जीवन नै त्रासमा बितेको सुनाउँदै प्रवाह नगरपालिकाका ७९ वर्षीया सकिब साहले भने, 'हामी त बर्खा लागेपछि लालबकैयाले कहिले बगाउने हो भन्नेमै बाँच्नुपर्‍यो, अब त्यस्तो नहोस्।' अहिले खानेमात्र होइन, ढुक्कसँग सुत्न सक्ने अवस्था अझै नरहेको उनले सुनाए। 'नेता र मन्त्री आएका रहेछन्, राहत मात्र होइन केही हुन्छ कि भनेर भन्न आएको छु,' उनले भने। 

प्रेमपुरका धर्मलाल राय यादवले बाढी प्रभावितलाई राहत र पुनसर््थापनका लागि भूकम्प प्रभावितलाई जस्तै छुट्टै प्राधिकरण बनाउनुपर्ने बताए। 'मेरो केही क्षति भएको छैन,' उनले भने, 'धेरै गरिबको बिचल्लि भएको छ। उनीहरूलाई बस्ने र खाने व्यवस्था गर्नुपर्‍यो।' बिचौलियाका कारण राहतमा हिनामिना हुन सक्ने भन्दै उनले भने, 'प्रभावितले नपाउने र अरूले खाने अवस्था नहोस्।'

कांग्रेस नेता रामचन्द्र पौडेलले अविरल वर्षापछिको बाढी र डुबानले तराई/मधेसमा आएको प्राकृतिक विपत्लाई सबैले एक भएर सामना गर्नुपर्ने बताए। रौतहट, सर्लाही, सप्तरीमा बाढीले पुर्‍याएको क्षति निरीक्षणका लागि पुगेका पौडेलले जात, क्षेत्र, समुदाय, दल नहेरी मानवताका नाताले सहयोगमा जुट्न सबैलाई आह्वान गरे। 'अहिले को के भन्ने होइन,' पौडेलले भने, 'हामी सबै नेपाली हौ, मानव हौ, त्यही भावनासहित राहतमा जुटौं।'

प्रभावितलाई उचित राहत व्यवस्थाका लागि कांग्रेसले पहल गरिरहेको जनाउँदै पौडेलले रौतहट, सर्लाही र सप्तरीका पीडितसँग भने, 'नदीको कटान रोक्न र क्षतिपूर्ति व्यवस्था हुनेछ।' सही तथ्यांकका अभावमा वास्तविक प्रभावितले राहत पाउनबाट छुट्न सक्ने भन्दै पौडेलले सरकारी निकायलाई प्रभावितको तथ्यांक संकलनमा ध्यान दिन पनि आग्रह गरे।

कृषकका लागि प्याकेज ल्याउँछु

कृषिमन्त्री रामकृष्ण यादवले बाढी प्रभावित कृषकलाई राहत प्याकेज ल्याउने आश्वासन दिए। प्रभावित क्षेत्रको निरीक्षणक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका यादवले बाढी र डुबानबाट प्रभावित कृषकलाई राहतका लागि मल, बीउबिजनमा केही सहुलियत गर्ने तयारी भइरहेको बताए। 'तपाईंहरूको खेती नष्ट भएको छ,' उनलेे भने, 'त्यसमा केही मलमपटि्टका लागि मन्त्रालयले हप्तादस दिनमा राहत प्याकेज ल्याउँछ।'

सिँचाइमन्त्री सञ्जय गौतमले बाढी प्रभावितलाई राहत र पुनसर््थापनाका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। 'पैसा छैन भनेर काम रोक्ने होइन, तत्काल गर्नुपर्ने जे जे काम छन्,  सुरु गरिहाल्नुस्,' गौतमले प्रमुख जिल्ला अधिकारीहरूसँगको छुट्टाछुट्टै भेटमा भने, 'जनताले राहत पाउनेमा तपाईंहरूको ध्यान पुगोस्। तत्काल गर्नुपर्ने कामका लागि सरकारले केही रकम विनियोजन गरिसकेको छ।'

साउन २७ देखि आएको बाढी र डुबानका कारण मानवीय क्षतिका साथै हजारौं विघा जमिनमा लगाइएको धानबाली नष्ट भएको छ भने मकैै, उखु, तरकारी खेती र माछापालनमा पनि प्रतिकूल असर परेको छ।

 

प्रकाशित: ४ भाद्र २०७४ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App