७ वैशाख २०८१ शुक्रबार
राजनीति

थपिँदै १२ लाख मतदाता

काठमाडौं- फोटोसहितको मतदाता सूचीमा करिब १२ लाख नाम मतदाता थपिएका छन्। प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सूची अद्यावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हुन्। यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन्।

यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन्।

आयोगको प्रारम्भिक तथ्यांकबाट १२ लाख नयाँ मतदाता थपिँदैछन्। मतदाता सूचीमा नयाँ नाम थप्न र अद्यावधिक गर्न शनिबार (भदौं ३) सम्मको समय तोकिएको थियो। आयोगले  ३५ दिनसम्म जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमार्फत नयाँ मतदाताको नाम संकलन र अद्यावधिक गरेको थियो। मतदाता सूचीमा पहिला उमेर पुगेर छुटेका र भदौ ३ सम्म मतदानका लागि उमेर पुगेका नागरिक थपिएका छन्।

फोटोसहितको मतदाता नामाली संकलनमा सबै जिल्लाको तथ्यांक आइनसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। उनले भने, 'आजै (शनिबार) म्याद सकिएकाले सबै स्थानको तथ्यांक आइसकेको छैन। करिब १२ लाख मतदाता थपिने अनुमान छ।'

काठमाडौं जिल्लामा १ लाख १५ हजार नयाँ मतदाताले नाम दर्ता गराएका छन्। काठमाडौं महानगरपालिका र १० वटा नगरपालिकाका निर्वाचन कार्यालयबाट छुटेका मतदाताले नाम दर्ता गराएका हुन्।

काठमाडौंबाट मतदाता नामावलीमा नाम लेखाउनेमा बाहिरी जिल्लाका धेरै रहेको क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले बताए। 'काठमाडौं बाहिरका काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लाका बासिन्दाले नाम दर्ता गराउनुभएको छ', उनले भने, 'यसपटक मतदाता सचेत देखिए।' 

यसअघि खासै चासो नदिएका मतदाता नाम दर्ता गराउन आएको उनले बताए। 'पहिला चुनाव हुन्छ भन्ने आसा थिएन। त्यसैले नाम लेखाइएन्, स्थानीय चुनाव भयो, अब प्रदेश र संघको पनि चुनाव हुन्छ भन्ने लागेपछि मतदाता सूचीमा नाम लेखाइयो', एक मतदाताले भने।

नाम दर्ता गराउने क्रममा धेरैजसोले स्थानीय चुनाव हुँदा मतदाता नामावलीमा नाम नभएकाले उम्मेदवारले वास्ता नगरेको गुनासो गरेको नाम संकलनमा खटिएका अधिकारीले बताए। 

'स्थानीय चुनावले नागरिकलाई निकै जागरुक बनाएको पायौं। अब चुनाव हुन्छ भन्ने ढुक्क भएपछि मतदाता आफ्नो अधिकारका लागि नाम दर्ता गराउन आए', गौतमले भने।

बसाइसराइँ गरेका, जिल्ला परिवर्तन गर्नुपर्नेले नामावली दर्ता र अद्यावधिक गरेका हुन्। 'उमेर पुगेकाको नाम थप्ने र मतदाता नामावलीमा भएका  त्रुटी सच्चाउने काम भएको छ' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

अहिले मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने छैनन्। 'स्थानीय तह निर्वाचनमा फागुन ९ सम्म नाम समावेश भएकाले मात्र भोट दिन पाउँछन्, जुन पहिला आइसकेको छ,' प्रवक्ता शर्माले भने, 'अहिले नयाँ नाम लेखाएका मतदाताले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा भोट हाल्न पाउँछन्।'

प्रकाशित: ४ भाद्र २०७४ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App