७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाढीपीडितलाई सघाउन कांग्रेस महामन्त्रीको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि आआफ्ना क्षेत्रबाट योगदान दिन पार्टी मातहतका निकायलाई निर्देशन दिएका छन्। महामन्त्री कोइरालाले शुक्रबार प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको बाह्रौं साधारणसभामा सम्बोधन गर्दै विपत्का बेला विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापकलगायतका संघसंगठनलाई पार्टीले स्थापना गरेको राहत कोषमा जतिसक्दो योगदान गर्न निर्देशन दिएका हुन्।

उनले भने, 'मुलुकमा अहिले दुईवटा मुख्य चुनौती देखा परेका छन्, पहिलो बाढीपीडित जनतालाई राहत र उनीहरुको पुनर्स्थापना, दोस्रो प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन।' बाढीपीडितलाई राहत प्रदान गरी उनीहरुको पुनर्स्थापना गर्नुपर्ने र निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिए। महामन्त्री कोइरालाले विगत निर्वाचनमा समयमा टिकट वितरण नगर्दा, अन्तरघात हुँदा र योग्य व्यक्तित्वलाई टिकट नदिँदा कांग्रेसले सोचेजति उपलब्धि हासिल हुन नसकेको विषयमा पार्टी नेतृत्व गम्भीर रहेको भन्दै अब त्यस्ता कमजोरी हटाउने प्रतिबद्धता जनाए।

उनले विश्वविद्यालयका प्राध्यापकहरुलाई अनुसन्धानमूलक कार्यमा लाग्न आग्रह गर्दै लोकतन्त्रको पहरेदार भएर जुट्न निर्देशन दिए। त्रिवि सेवा आयोगको रिक्त सदस्य पदमा नियुक्तिका लागि प्राध्यापकहरुको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता महामन्त्री कोइरालाले जनाए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्राज्ञहरुको आत्मबल भएमात्र लोकतन्त्र बलियो हुने बताए। उनले नेताहरुका अगाडि उनीहरुको चाकडी गर्ने र पछाडि आलोचना गर्ने प्रवृत्तिले संगठन बलियो हुन नसक्ने भएकाले यस विषयमा गम्भीर भएर लाग्न प्राध्यापकहरुलाई आग्रह गरे।

सो अवसरमा संघका अध्यक्ष जगत तिमल्सिनाले प्राध्यापकहरुका तर्फबाट बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, 'नेतृत्वले हामीसँग माग्न पर्‍यो, हामी लिन जान्दैनौँ तर जस्त्ाोसुकै अवस्थामा पनि दिन तयार छौं। तराई डुब्दा हाम्रो पनि मन दुखेको छ।' उनले पार्टी नेतृत्वलाई प्राध्यापकहरुको सीप र बौद्धिकता प्रयोग गर्न बाध्य बनाउने गरी संगठन अघि बढ्ने बताए। उनले भने, 'हामी प्राध्यापकहरु अब अनुसन्धान सेल र राजनीतिक सेल गठन गरेर अघि बढ्छौं। मुलुकको राजनीतिक, सामाजिक आर्थिक एवम् प्राज्ञिक क्षेत्रको प्रगतिमा राजनीतिक दलहरुलाई दिशा निर्देशित गर्ने गरी हाम्रा कार्यक्रम आउनेछन्।' प्रजातान्त्रिक शक्ति कमजोर हुँदा विश्वविद्यालय कमजोर हुने र त्यसको असर समग्र मुलुकमा पर्ने भएकाले शैक्षिक एवम् प्राज्ञिक क्षेत्रको गरिमालाई उचाइमा राखेर मात्र अन्य कुरा सोच्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा संघका महासचिव राजेन्द्र गौतम, पूर्वअध्यक्ष बासु घिमिरे, प्राध्यापक संघका पूर्वअध्यक्ष खगेन्द्र भट्टराईलगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले विश्वविद्यालयको नेतृत्वले प्राध्यापकहरुसँग समन्वय गरेर काम गर्ने हो भने विद्यमान चुनौतिको सामना गर्न सहज हुने बताएका थिए।

प्रकाशित: ३ भाद्र २०७४ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App