८ वैशाख २०८१ शनिबार
अन्य

राष्ट्रले चिनेका प्रतिभा

काठमाडौं- 'काम गर, फलको आशा नगर' भन्ने प्रचलित नेपाली भनाइ कहिलेकाहीँ कसैसँग मिल्न पुग्छ। कञ्चनपुरकी ३३ वर्षीया सीता राना थारुलाई यस्तै भयो यसपटक।

'कल्पना सिलाई केन्द्र' सुरु गर्दा कुनै फलको आशा गरेकी थिइनन् थारुलेे। दुवै खुट्टा नचल्ने उनी केन्द्रमार्फत गुजारा मात्र चलाएरहेकी थिइनन्, पाँचजनालाई रोजगारी र अरु थुप्रैलाई सीप दिइरहेकी थिइन्।

'पुरस्कार पाइएला, सरकारले हामीलाई सम्भि्कएला भन्ने त कहिल्यै सोचिनँ,' पुरस्कार थाप्न काठमाडौं आइपुगेकी सीता राना थारु ले ह्विलचेयरमा बसेर खुसी साटिन्, 'सरकारबाट सम्मानसहित एक लाख रुपैयाँको पुरस्कार पाउँदै छु भन्ने सुरुमा त आफैँलाई विश्वास लागेन।'

सिलाई केन्द्र पाँच वर्षमा दौडिँदै गर्दा थारुको मोबाइलमा जब नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको फोन बज्यो, सुरुमा त उनी आफैँ चकित भइन्।

किनभने, मन्त्रालयले उनलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्न लागेको थियो।

'पुरस्कार पाइएला, सरकारले हामीलाई सम्भि्कएला भन्ने त कहिल्यै सोचिनँ,' पुरस्कार थाप्न काठमाडौं आइपुगेकी थारुले ह्विलचेयरमा बसेर खुसी साटिन्, 'सरकारबाट सम्मानसहित एक लाख रुपैयाँको पुरस्कार पाउँदै छु भन्ने सुरुमा त आफैँलाई विश्वास लागेन।' युवा दिवसको दिन पारेर शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानपत्र र पुरस्कार थाप्दै गर्दा उनको अनुहारमा निकै चमक देखिन्थ्यो। ह्विलचेयरमै मञ्चमा पुगेर पुरस्कार थाप्दै गर्दा उद्यमशीलता विद्याबाट उनले पाएको पुरस्कारमा तालीको गडगडाहट पनि उत्तिकै बजेको थियो। शारीरिक रुपमा अशक्त भएर पनि अरुलाई रोजगार तथा सीपमूलक तालिम सिकाएर स्वरोजगार बनाउन उनले खेलेको भूमिका सायद सबैका लागि प्रेरणाको स्रोत हुँदो हो।

मन्त्रालयले देशभर रहेका यस्तै युवाबाट १० जनालाई नगद एक लाख रुपैयाँसहित युवा दिवसका अवसर पारेर राष्ट्रिय युवा प्रतिभा सम्मान गर्नु पनि लुकेका प्रतिभाको कदर र आमयुवाका लागि प्रेरणा नै हो।

'हामीले वार्षिक रूपमा १० युवालाई राष्ट्रिय सम्मान दिन्छौँ,' मन्त्रालयका सहसचिव महेन्द्र पौडेलले भने, 'यसले प्रतिभा पहिचान र आमयुवालाई पे्ररणा दिने अपेक्षा राखेका छौँ।'

मन्त्रालयले फरक–फरक विद्याबाट केही फरक काम गरेका युवालाई छनोट गरेर पुस्कार दिने गरेको छ। समाजमा सकारात्मक काम गरेर योगदान पुर्‍याउने युवाबाट १० जना छान्ने गरेको मन्त्रालयले जनायो।

त्यहीमध्ये थिए, अर्का प्रतिभावान युवा रोहित भण्डारी। उनी पेसाले पत्रकार हुन्। पत्रकारभन्दा पुस्तक लेखनले उनलाई राष्ट्रिय युवा सम्मान दिलायो। 'पत्रकारिता गर्ने क्रममा पाँच वर्षअघि वैदेशिक रोजगार विभाग पुग्दा रोजगारका लागि विदेश गएको युवाको संख्याले सोच्न बाध्य पार्‍यो मलाई,' पुस्तक लेखनीको सन्दर्भ कोट्याउँदै भण्डारीले भने, 'त्यसपछि नेपालमै सानोतिनो भनिएका काम गरेर कमजोर आर्थिक अवस्थाबाट आएर उद्यमी तथा रोजगारदाता बनेका व्यक्तिको संघर्षलाई समेटेर दुई पुस्तक लेखेँ–सम्भव छ र नेपालमै सकिन्छ।' सम्भावना देखाएर युवाका लागि प्रेरणा हुने पुस्तकले सम्मान दिलाउँदा खुसीको सीमा नरहेको सुनाउँदै उनले थपे, 'सबैभन्दा खुसीचाँहि मलाई त्यसबेला हुन्छ, जतिबेला तपाईंको पुस्तक पढेर म यसो गर्न थालेँ नि भन्दै पाठक आउँछन्।' कसैले सम्भि्कएला वा सम्मान गर्ला भन्ने त सोच्दै नसोचेका बेला राष्ट्रले सम्भि्कनु युवा र देशप्रतिको उत्तरदायित्व सरकारले बढाएको उनले बताए।

सविता उप्रेतीले पनि राष्ट्रबाट कुनै दिन सम्मान मिल्ला भन्ने सोचेकी थिइनन्। सात वर्षदेखि अटिजम भएका बालबालिकाको स्याहारसुसार तथा स्वास्थ्य, शिक्षा दिँदै आएकी उप्रेतीलाई मन्त्रालयको फोनले झस्कायो। 'मैले सञ्चालन गरिरहेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा ४५ बालबालिका छन्। यही बालबालिकाको हेरचाहमै दिन बितिरहेका बेला मन्त्रालयले सम्मान गर्न लागेको कुराले निकै उत्साहित बनायो,' सम्मान ग्रहणपछि नागरिकसँग उप्रेतीले खुसी पोखिन्, 'सम्मानले खुसीसँगै जिम्मेवारी थपेको बोध भएको छ।'

उसो त उप्रेती मात्रै नभएर झापाका किसान विशाल राईले पनि मन्त्रालयले जिम्मेवारी थपेेको ठानेका छन्। कृषि पर्यटन विद्याबाट सम्मानित भएका राईले आफू खुला किताब बनेर अरूलाई कृषि पर्यटन सिकाउन चाहन्छन्। 'देशको समृद्ध बाटो भनेकै कृषि पर्यटन हो,' उनले भने, 'त्यसैले युवाले कृषि पर्यटन रोज्नुपर्छ, त्यसका लागि खुला किताब बनेर सिकाउन तयार छु।'

१२ पटक सगरमाथाको शिखर चुमेर साहसी काम गरेका दोलखाका फुर्वा तेन्जिङ शेर्पाले १३ वर्षको उमेरदेखि पर्यटकको भारी बोक्न थालेका थिए। त्यतिबेला उनलाई लागेको थिएन, यसले कुनै दिन सम्मान दिलाउनेछ भन्ने। त्यसपछि उनी सगरमाथा चढाउने पेसामा लागेँ। तीन दिनमा दुईपटक सगरमाथा चढेर कीर्तिमान कायम गरे, तैपनि उनले साथीहरूले दिने बधाई र पेसाबाट आउने पारिश्रमिकबाहेक केही पाएनन्। 'म त आफ्नै काममा निरन्तर लागिरहेकै थिएँ,' उनले भने, 'काम गरिरह्यो भने कतै कसैबाट कदर हुने रहेछ भन्ने लागेको छ।'

विदेशीलाई सगरमाथा चढाएर करोडौँ रोयल्टी भिœयाउन सहयोग गर्ने तथा कीर्तिमान कायम गरेर नेपाललाई चिनाएको मन्त्रालयको सम्मानपछि अझै जिम्मेवारी बोध भएको उनले बताए।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले थारु, भण्डारी, उप्रेेती र शेर्पालाई मात्र नभएर चोरी–सिकारी नियन्त्रणमा भूमिका खेलेका बर्दियाका २९ वर्षीय हेमन्त आचार्य, कृषि पर्यटनको माध्यमबाट देशमा टेवा दिइरहेका मनाङका ३६ वर्षीय समराज गुरुङ, उद्यमशीलतामा सिकन्दर कुमार ठाकुर, स्वास्थ्य क्षेत्रमा नयाँ खोज गरिरहेका कालीकोटका वसन्त कुमार शाही र इन्जिनियरिङ क्षेत्रको आविष्कारमा लागेका दोलखाका रामु खत्रीलाई राष्ट्रिय युवा सम्मान गरेको थियो। सम्मानित युवालाई राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानपत्र तथा जनही एक लाख रुपैयाँ नगद दिइएको थियो।

कसरी हुन्छ छनोट

०६५ मा युवा तथा खेलकुद मन्त्रालय स्थापना भयो। ०६६ मा तर्जुमा भएको युवा नीतिमा युवा प्रतिभाको सम्मान पनि समेटिएको छ।

०७१ मा बनेको युवा प्रतिभाको खोजी तथा प्रोत्साहनसम्बन्धी कार्यविधिपछि युवालाई प्रतिभा सम्मान प्रदान गर्न थालिएको हो।

देशभर काम गरिरहेका विभिन्न विद्याका १० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान गर्ने उल्लेख छ।

सोहीअनुसार तेस्रो चौमासिकमा मन्त्रालयले सूचना जारी गर्छ। जारी सूचनाका आधारमा योग्यता पुगेका युवाले आवेदन गर्न सक्छन्। मन्त्रालयका अनुसार निवेदन भने योग्यभन्दा पनि अयोग्य तथा खासै काम नगरेका युवाले मात्रै हालेपछि अन्य माध्यमलाई पनि छनोटको आधार बनाइएको छ।

मन्त्रालयका उपसचिव पौडेलका अनुसार आवेदनभन्दा बढी सञ्चारमाध्यममा आएका समाचार, विभिन्न संघ–संस्थाबाट आएको सिफारिस, मन्त्रालयको अवलोकनलाई प्राथमिकता मानेर मन्त्रालयका सचिवको संयोजकत्वमा युवा छनोट गरिन्छ। छनोट भएका युवालाई युवा दिवस अवसर पारेर सम्मानित गरिन्छ।

प्रकाशित: ३ भाद्र २०७४ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App