तीज आउन अझै केही दिन बाँकी छ। तर, तीजका गीत भने महिनाअघि नै घन्किन थालिसकेका छन्। महिनाअघि घन्किन थालेका तीज गीतको चर्चा पनि उस्तै छ। पछिल्लो समय पुरानो पुस्ताका मात्र होइन, भर्खरै गायकी थालेकाले पनि तीज गीत रेकर्ड गराएका छन्। यसपाली थरिथरि भाका र सन्देश दिने गीत बजारमा आएका छन्।
नवगायिका रोजी श्रेष्ठले ल्याएको तीज गीतमा पति–प्रेम झल्किएको छ।
यसपालीको तीजमा फरिया र चौबन्दी
तीलहरी र बुलाकी
सुनको शिरबन्दी ल्याइदिनु भो
धन्य होस् माया गर्ने स्वामी राजालाई...
उनी पेशाले ग्राफिक डिजाइनर हुन्। सानैदेखि उनलाई गीत गाउने रहर थियो। ‘स्कुलमै गीत गाएर पुरस्कार पाउँथे, क्यारिकेचर पनि गर्थें,’ उनले भनिन्, ‘तर, बिहेपछि रहरलाई पेशा बनाउन सकिन्।’ यसपाली भने उनले मन थाम्न सकिनन्।
अब गायनलाई पेशाका रूपमा अगाडि बढाउने उनको सोच बनाएकी छिन्। उनका आधा दर्जन भजन रेकर्ड भइसकेका छन्।
‘चेलीबेटीको चाड भएकाले तीज गीत ल्याएकी हुँ,' उनी भन्छिन्, ‘बजारमा उच्छृङ्खल गीत बज्दा शालिन गीतको अभाव खड्किन्थ्यो।’
गीतमा म्युजिक भिडियोमा उनले नै मोडलिङ गरेकी छिन्। गीतकार तथा संगीतकार विनय लामाले नै गीत लेखेका हुन् भने संगीत पनि भरेका छन्। गीत केही दिनअघि केही दिनअघि युट्यबमा सार्वजनिक भएको छ।
विष्णु माझीले तीजमा माइती जान नपाउँदको पीडा समेटिएको गीत बजारमा ल्याएकी छिन्।
'ए आमा हो, यो तीजमा आइन भनेर...' र 'अल्झायो फरिया अरेली काँडैले...' गीत बजारमा ल्याएकी छिन्।
गायिका शितल पाण्डेको तीज गीतमा भने पुरानै भाका पछ्याएकी छिन्।
वर्षदिनको तीजकोे बेला
रातो डोरी बाटेर कालो केशैमा
उठे पनि खुट्टामा ठेला
छमछम पाउजु बजाउँदै माइती देशैमा...
हरिदेवी कोइरालाले पनि पुरानै भाकाको तीज गीत ल्याएकी छिन्।
वर्ष दिनका तीजमा बाबा लिन आएका
पठाएनन् घरकाले फर्के फरक्क
छोरी आइन भनेर आमा रोलिन धरक्क...
देवी घर्ती, राधिका हमाल, सुश्मा अधिकारीले समूहमै सासू, नन्द र बुहारीका कुरा तीज गीतमा छरपस्ट पारेका छन्। ‘तीज गीत गाउने मात्र होइन, नाच्ने खालका पनि छन्,' हमाल भन्छिन्, 'गीतमा ननाचे त खल्लो हुन्छ।’
कुराको पोको यो मनमा भारी भो
कुरा खोली नभन्नु आफ्नै बुहारीको...
देशबाहिरका तीज कार्यक्रममा बढी जमेकी गायिका सुनिता दुलालले एउटै गीत मात्र ल्याएकी छिन्। उनको गीतले नारीलाई प्रोत्साहन गरेकै छ।
लाउन रातो लाए पनि हेर्दा छुट्टाछुट्टा
कोइको देख्दा सादा सादा कोइको बुट्टाबुट्टा
कतै रातो चमक्क त कतै राता सारी
नाँच्न गाउन तयारीमा बसेका छन् नारी
नाच्नु पर्छ छम्म छम्म छम्म
दर खाने दिनदेखि पञ्चमीसम्म...
लक्ष्मी न्यौपाने र सारदा बस्यालको गीतले दिदीबहिनी नचाउने मेसो लिएको छ।
तीजै र आयो माइतीको झल्को
जान्छ बरै जान्छ मन उडेर माइत जान्छ...
सिन्धु मल्लले पनि यसपाली एउटै तीज गीत बजारमा ल्याएकी छिन्। उनको गीतले चर्चा पनि बटुलेको छ।
घिन घिन मादल बजाउँदै
अल्ली अल्ली लजाउँदै
अहिलेको तीजैमा
लै लै नाँचौ छम छम...
पहिले शिवजीका अघि नाँचे पनि अहिले दर खाने दिनदेखि नै समूह समूहमा गीत गाएर नाँच्ने चलनले गीतलाई प्रोत्साहन दिएको गायिका मल्ल सुनाउँछिन्। गीतमा पुरुष स्वर पनि घन्किएकै छ।
गायिका कोमल वलीले प्रज्ञासँगै तीज गीत बजारमा ल्याएकी छिन्।
म त नाँच्दिन के रे
मेरो प्यारे मायाले नहेरे...
उनले पशुपति शर्मासँग पनि अर्काे तीज गीत बजारमा ल्याएकी छिन्।
ओइ शिव ओई
मलाई चाहिएन पोइ...
‘दर्शक–स्रोताकै कारण राजनीतिमा आएँ, त्यसैले त्यही सन्देश दिन खोजकी हुँ,’ उनले भनिन्, ‘अघिल्लो गीतमा भने मायाकै कुरा छ।’
धनकुमारी थापा र नेत्र भण्डारीले 'यसपाली तीजमा रातो सारी किनिदिउँला' बोलको भाका ल्याएका छन्।
बाबाले सारेको सुन्तलाको बिरुवा
आमाले हुर्काउनु भो पानी हालेर...
यो गीतमा उनले प्रकृती र तीजलाई जोडेकी छिन्।
गायिका मिना निरौलाले चेतन कार्कीको झोरा तीज गीत गाएकी छिन्।
वर्षदिनको तीजमा बाबा लिन आएका
हाम्री बज्यै पापिनीले सारी लुकाइन्...
कालीगण्डकी सेरोफेरोको भाका नौलो लाग्छ। गायिका राधिका हमालले ल्याएको गीतमा माइत जान नपाएकी पत्नीलाई फकाउने प्रयास तीजका भाकामा गरेकी छिन्। यसपाली चुनावका गीत धेरै गाएकी उनले तीजका गीत त्यति गाउन नपाएको दुखेसो पोखिन्।
गायिका पूर्णकला बिसी यसपाली तीज गीत धेरै गाउने गायिकाको सूचीमा पर्छिन्। उनले झण्डै ४० तीज गीतमा स्वर दिएकी छिन्। 'गीत गाउन भ्याइनभ्याई भो,' उनले भनिन्, 'त्यसमाथि विदेशमा तीज गीत गाउने निम्ता पनि धेरै आयो।'
पत्रकारद्वय मधु शाही र विनिता मरहठ्ठाको तीज गीतले आधुनिक महिलाको तीजको वर्णन गरेको छ। पहिलो पटक लेखेको गीतबाटै राम्रो चर्चा भइरहेको मधुले बताइन्।
माइत नि जानी हो, दर पनि खाने हो
टिमिक्कै चोली कसिए कसिन्छ...
चित्रकार तथा प्राज्ञ ज्योति प्रकाश बिकको संगीतले पनि गीतलाई राम्रै साथ दिएको छ। गायिका संगीता बस्यालले तीजको आधुनिक परिवर्तनलाई अंगालेकी छिन्।
तीज आयो
डिस्को डान्स नाँच्ने नभन ...
उनको यो गीतमा डिस्को फ्युजन गरिएको छ।
नयाँ पुस्ता तीज त मनाउन चाहन्छन्। तर, आफ्नो पाराले भन्ने सन्देश उनको गीतमा छ। संगीतकार आशिष अबिरलले भने नयाँ पुस्ताको प्रतिनिधित्व गीतले गरेको छ।
तीजमा छानीछानी गीत बजाउन पाइएको दीपिका पाण्डे बताउँछिन्। उनको हिमालयन गर्ल्स होस्टेलमा हुने दरखाने कार्यक्रमका लागि गीत चयन हुने क्रम जारी रहेको बताइन्। दृष्टीविहिन र छात्रालाई दर खुवाउने कार्यक्रम गर्ने तयारी गरिरहेकी केयर गर्ल्स होस्टेलकी संचालक पुष्पा अधिकारी पनि नयाँ गीतमा उनीहरूलाई नचाउन गीत छानिरहेको बताउँछिन्। ‘गीत नभए त तीज सुनसान जस्तै हुन्छ,’ उनले भनिन्, ‘अझ घर छाडेर पढ्न र काम गर्न बसेकालाई नाँच्न नपाए रमाइलै हुन्न नि।’
प्रकाशित: ३ भाद्र २०७४ ०३:०४ शनिबार