coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक दैनिक एजुकेसन करिअर फेयर १७' मा मेलाको पहिलो दिन विद्यार्थीको घुइँचो नै लाग्यो। मेलाका २५ वटा स्टल अवलोकन गर्दै विद्यार्थीले आफ्नो करिअर अघि बढ्ने विषयबारे विस्तृत जानकारी लिइरहेका भेटिए।

उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गरेको यो शैक्षिक मेला अवलोकन गर्न आएका अधिकांश विद्यार्थीको आकर्षण व्यवस्थापन संकायका विभिन्न शैक्षिक कार्यक्रममा रहेको पाइयो। मेलामा सहभागी विद्यार्थी बिबिए, एमबिए, बिएचएम, बिआइटी, बिआइएम र आइटी विषयमा बढी चासो लिए।

 पहिलो दिन शुक्रबार साँझसम्म एक हजार विद्यार्थी तथा अभिभावले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। शनिबारसम्म चल्ने मेलामा ४ हजार विद्यार्थी सहभागी भएर स्टल अवलोकन तथा शैक्षिक परामर्श लिने लक्ष्य रहेको आयोजकको भनाइ छ। 

 मेलामा रहेको लिंकन एकेडमीको स्टलमा सोनिया श्रेष्ठ साथीहरूसँगै होटल व्यवस्थापन विषयबारे धेरै जानकारी लिइरहेको भेटिन्। कक्षा १२ मा होटेल व्यवस्थापन अध्ययनपछि उनले आफनो करिअर कुशल होटल व्यवस्थापक बन्ने लक्ष्य पूरा गर्न मेला अवलोकन गर्न आएको बताइन्। 'मेरो रुचि किचेनमा छ, त्यहीअनुसार विषय र कलेज छनोट गर्न मेलामा आएकी हुँ,' उनले भनिन्, 'मेलाले मेरो अलमल सकाएको छ।' उनले धेरैवटा स्टलमा एउटै विषयबारे जानकारी लिएपछि कसरी करिअर बनाउने भन्ने निर्णयमा पुग्न सजिलो भएको अनुभव सुनाइन्। ' थोरै समयभित्र मैले एक ठाउँमै सातवटा कलेजमा स्नातक तहका लागि कसरी र कुन विषय छनोट गर्ने जानकारी पाएँ। यसले मलाई आफ्नो सुविधा र अनुकूलतामा सही कलेज ठम्याउन सहज भयो।'

उनीसँगै विषय र कलेजबारे जानकारी लिन अशोक शर्मा पनि मेलामा पुगेका थिए। सेफ बन्ने लक्ष्य लिएका उनले आफूले मेलामा स्नातक तहमा अध्ययन गर्न आफूलाई सुहाउने विषयबारे स्पस्ट ज्ञान भएको बताए। 'एआइटिएम कलेजको स्टलबाट होटल व्यवस्थापन, शुल्क, छात्रवृत्ति र कलेजको वातावरणबारे बुझें,' उनले मेला अवलोकनपछि निचोड निकाले, 'अब मैले स्नातकको विदेशी डिग्री नेपालमै हासिल गर्न पाउने भएँ।'

मेलामा स्वदेश र विदेशका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका साथै  शैक्षिक परामर्शदातृ निकायका स्टलले विद्यार्थीलाई सिक्ने, जान्ने र बुझ्ने पर्याप्त अवसर मिलेको अभिभावक नवीन शाक्यले जनाए। छोरीसँगै मेलामा आएका उनी छोरीलाई विदेशी डिग्रीको शिक्षा नेपालमै दिलाउन चाहन्छन्। त्यही भएर उनले मेलामा बेलायत, मलेसिया, अमेरिका, अस्ट्रेलियालगायतका  विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाली कलेज खोज्ने क्रममा थिए।

मेलाका स्टल सरसर्ती अवलोकन गरेपछि उनी बेलायती डिग्री सञ्चालन गरिरहेको हेराल्ड कलेजको स्टलमा छोरीसहित पुगे। बेलायतको युनिभर्सिटी अफ वलभरहेमटनको सम्बन्धन प्राप्त गरी काठमाडौंमा सञ्चालित हेराल्ड कलेजको स्टलबाट आफूले आइटीबारे जानकारी प्राप्त गरेको उनले सुनाए। 'छोरीलाई स्वदेशमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा दिलाउन चाहेको छु,' उनले भने, ' सस्तो  शुल्कमा स्वदेशमै विदेशी डिग्रीको शिक्षा पाएपछि किन विदेश पठाउनु?'

सेन्टमेरिज स्कुल जाउलाखेलबाट विज्ञान समूहमा कक्षा १२ पास गरेकी छोरी एरिना शाक्यले पनि आमाबुवा र आफन्तका साथ बसेर रमाइलो गरी विश्वस्तरीय शिक्षा पाउने भएपछि स्वदेशमैै आइटी पढ्ने निधो गरेकी सुनाइन्। कक्षा ११ र १२ मा जीवविज्ञान अध्ययन गरे पनि उनले व्यवहारिक ज्ञान लिन स्नातकमा आइटी अध्ययन गर्ने टुंगोमा पुगेकी छिन् । 'स्नातकमा के पढ्ने भनेर अलमलमा थिएँ। १२ मा बायोलोजि पढे पनि मलाई डाक्टरीको पढाइमा रुचि छैन,' उनले भनिन्, 'त्यही भएर मनको दुविधा दुर गर्न बाबासँग मेलामा आएकी हुँ।'

काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजबाट कक्षा १२ को परीक्षा दिएर नतिजा कुरिरहेकी सृजना टुडु्म्रे पनि मेलामा स्नातकल तहका बिबिए र बिएचमबारे बुझ्न आएको बताइन्। 'मैलेे मेलामा रहेका टेक्सस र एआइटिएम कलेजका स्टलबाट बिबिए र बिएचमका विषय, शुल्क र कलेजबारे बुझें,' उनले भनिन्, 'बैकिङ क्षेत्रमा जान बिबिए उपयोगी रहेको पाएँ।' उनको बुझाइमा बिबिए अध्ययनपछि बैंक तथा वित्तीय संस्थालगायत व्यवस्थापनसँग सम्बन्धित ठाउँमा अवसर छ। 'करिअर बनाउने त बिबिए नै रहेछ,' उनले भनिन्। हेराल्ड कलेजका आइटी निर्देशक प्रकाश श्रेष्ठले विद्यार्थीलाई कलेजले प्रदान गर्ने सेवा सुविधा, शुल्क, कोर्सलगायत शैक्षिक जानकारी प्रत्यक्ष रूपमा दिइने हुँदा शैक्षिक मेला उपलब्धिमूलक बनेको बताए।

हब इन्टरनेसनलका बजार व्यवस्थापक विश्वम्भर खतिवडाले आफ्नो संस्थाको स्टलबाट विद्यार्थीले अमेरिका, अस्ट्रेलिया,न्युजिल्यान्ड, आयरल्यान्ड र भारतमा प्राप्त हुने उच्च शिक्षाबारे जानकारी प्राप्त गरेको बताए।  पहिलो दिन शुक्रबार एक हजार विद्यार्थी तथा अभिभावकले मेला अवलोकन गरेको मेला संयोजक धीरज ढकालले बताए।

प्रकाशित: ३ भाद्र २०७४ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App