७ वैशाख २०८१ शुक्रबार
समाज

'यस्तो पीडा कसैले खेप्नु नपरोस्'

बाढीका कारण गाडी दुर्घटना हुँदा परिवारका सदस्य गुमाएका राजन यादव, भरत राय यादव र रामसेवक यादव।

रौतहट- राजन यादव आमाको किरिया बसेका छन्। गत साता एउटै जिपमा सवार छजना बाढीको गाँस बने, राजन भाग्यले बाँचे। एउटा जिपमा आठजना बसेर भाउजूलाई सुत्केरी गराउन गाउँदेखि तीन किलोमिटर दक्षिण राजपुर अस्पताल गइरहेका बेला बाढीमा परेपछि राजन र गाडी चालकबाहेक सबैको ज्यान गयो। राजन घटना सम्झँदै भन्छन्, 'गाडी बाढीले बनाएको खाल्डोमा एक्कासि पस्यो, केही सोच्न नपाउँदै आठैजना गाडीसहित पानीमा डुब्यौं।'

बुहारी सुत्केरी भएको खुसीको खबर आउला भनेर प्रतीक्षा गरिरहेका बेला गाडी दुर्घटनामा परेको खबर आयो। परिवारमा नयाँ सदस्य थपिने उत्साहपूर्ण प्रतीक्षा गरिरहेका यादवको घरबार नै स्वाहा भयो।

घरभन्दा करिब तीन किलोमिटर टाढा अस्पताल छ। ठूलो पानी परिरहेको थियो। ब्रह्मज्योति मावि लौकाहाका प्रधानाध्यापक रामसेवक राय यादवले बुहारीको व्यथा बढेपछि टोलमै एउटा गाडीको व्यवस्था गरे। भारतीय नम्बर प्लेटको सफारी गाडी टोलमै थियो। चालक शम्भु यादव टोलकै भतिज हुन्। प्रअ यादवले श्रीमती सुमित्रादेवी, छोरा ३० वर्षीय चन्द्रकिशोर यादव र उनकी गर्भवती पत्नी २६ वर्षीया शर्मिला यादव, तीन वर्षीया नातिनी आरुषी यादव, ४० वर्षीया भाइबुहारी ललितादेवी यादव, उनका छोरा राजन र भतिज पर्ने छिमेकी अहेब २० वर्षीय सरोज राय यादवलाई अस्पताल पठाए। सरोज छिमेकी भरत राय यादवका छोरा हुन्।

बुहारी सुत्केरी भएको खुसीको खबर आउला भनेर प्रतीक्षा गरिरहेका प्रअ यादवको कानमा एक्कासि गाडी दुर्घटनामा परेको खबर आयो। परिवारमा नयाँ सदस्य थपिने उत्साहपूर्ण प्रतीक्षा गरिरहेका यादवको घरवार नै स्वाहा भयो। राजनले घटना सम्झँदै भने, 'अस्पताल पुग्न डेढ सय मिटर जति बाँकी हुँदा सडकमा एक ठाउँमा पानी बगेको देखिएको थियो। पानी परिरहेको थियो, खेतको सामान्य भल होला भन्ठाने चालकले। गाडीको आफ्नै गति थियो। भलनेर पुग्नेबित्तिकै गाडी खाल्टोमा उँधोमुन्टो खस्यो र पानीमा डुब्यो। खाल्टो करिब तेह्र फिट गहिरो थियो। गाडीभित्रैबाट ढोका खोलेर चालक शम्भु बाहिर निस्के। पानी तीव्र गतिमा बगेको थियो तर पनि चालकले म बसेको ढोका खोलेर बचाउने प्रयास गरे। पौडी खेलेर उनी आफू बाँचे। ढोका खुलेकाले म पनि बाहिर निस्किन भ्याएँ। डुबेको गाडीमा उभिँदा घाँटीसम्म पानी थियो।'

उनले थपे, 'बिहानको करिब चार बजेको हुनुपर्छ। पानी परिरहेको र उज्यालो नभएकाले मैले जति चिच्याउँदा पनि कसैले सुनेनन्। करिब सत्तरी मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालय राजपुरसम्म पनि मेरो आवाज पुग्यो कि पुगेन कुन्नि। शम्भुले गुहारगुहार भनी चिच्याउँदा पनि कोही आएनन्। बस्ती अझै सुतेकै थियो। शम्भुले एउटा लामो बाँस ल्याएर अँध्यारोमै मतिर तेर्साए। म बाँसको टुप्पो समातेर बाहिर निस्कें। गाडी पानीभित्रै थियो। ठूली आमा, भाइ, दाइ, भाउजू, भतिजी र आमालाई बचाउन एकछिन बाँसलाई गाडीतिर सोझ्याएँ तर यति आत्तिएको थिएँ कि के गरुँ के नगरुँ भन्ने भयो। दौडेर गाउँ गएँ। चिच्चाएर केही गोताखोर र गाउँलेलाई बोलाएर घटनास्थल आएँ। पछि गाउँलेको लस्करै घटनास्थल पुग्यो। स्थानीय गोताखोर महम्मद जमिल अख्तर, महम्मद समसाद, महम्मद दाउद, शेख मुस्किल र सुबोध यादव पानीभित्र प्रवेश गरी गाडीबाट एकएक गरी सबैलाई निकाले तर त्यति बेलासम्म सबैले प्राण गइसकेको रहेछ। गर्भे शिशुले पनि दुनियाँ हेर्नै नपाई ज्यान गुमाउनुपर्‍यो।'

त्यो दिन कहिल्यै नबिर्सिने कालो दुर्दिन बनेको प्रधानाध्यापक यादव बताउँछन्। श्रीमती, छोरा, बुहारी र नातिनी गरी चारजनाको किरिया बसेका उनको आँखाबाट आँसु बगिरहेको छ। 'आफू जीवित छँदै छोरा र नातिनीलाई दागबत्ती दिनुपर्‍यो। यस्तो पीडा संसारमा कसैले खेप्नु नपरोस्', उनले प्रार्थना गरेका छन्। घटना भएको छ दिन बित्दा पनि राहतका लागि कोही सोध्न नआएको गुनासो पीडित परिवारको छ।

दुई मन्त्रीले पीडितलाई भेटे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र दुई मन्त्रीले शुक्रबार पीडित परिवारसित भेटघाट गरेका छन्। कृषि विकास मन्त्री रामकृष्ण यादव र सिँचाइ मन्त्री सञ्जयकुमार गौतम तथा नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादव, केन्द्रीय सदस्य महम्मद आफताब आलमसहितको टोलीले पीडित परिवारलाई भेटेर उचित क्षतिपूर्ति तथा राहतका लागि पहल गर्ने आश्वासन दिएका छन्। टोली बाढी प्रभावित क्षेत्रको अवलोकन पनि गर्‍यो।

प्रकाशित: ३ भाद्र २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App