७ वैशाख २०८१ शुक्रबार
अन्य

ट्रायल दिएको तीन महिनापछि लाइसेन्स

यातायात व्यवस्था विभागको लापरबाहीले प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीले स्मार्ट सवारी लाइसेन्स लिन तीन महिना कुर्नुपर्ने अवस्था आएको छ।

विभागले समयमै स्मार्ट कार्ड प्रिन्ट गर्ने व्यवस्था नगर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने भएको हो। पर्याप्त तयारी र उपकरणविनै विभागले स्मार्ट लाइसेन्स जारी गर्दा सेवाग्राही मर्कामा परेका हुन्।

विभागले समयमै स्मार्ट कार्ड प्रिन्ट गर्ने व्यवस्था नगर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने भएको हो। पर्याप्त तयारी र उपकरणविनै विभागले स्मार्ट लाइसेन्स जारी गर्दा सेवाग्राही मर्कामा परेका हुन्।

भएका चारवटा प्रिन्टर समेत नियमित सञ्चालनमा नआउँदा समस्या थप जटिल भएको विभागका एक अधिकृतले बताए। विभागले उपत्यकासहित १३ वटा कार्यालयबाट स्मार्ट लाइसेन्स जारी गर्दै आएको जनाएको छ।

'पर्याप्त उपकरण र तयारी नभई स्मार्ट लाइसेन्स जारी गरियो, अहिले वितरणमा झमेला छ,' ती अधिकारीले भनेे, 'अहिले विभागसँग कम्तीमा १० वटा प्रिन्टर आवश्यक पर्छ।' स्मार्ट लाइसेन्स समयमै उपलब्ध नहुँदा सास्ती खेप्नुपरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।

'लाइसेन्सको फारम भर्नै मुस्किल, जसोतसो फारम बुझाएर ट्रायल पास गरियो, तर लाइसेन्स हात पार्न भने तीन महिना लाग्छ रे,' विभागको ट्रायल सेन्टरमा भेटिएका अनिल नेपालले भने, 'छिटो–छरितो सेवा दिन नसक्नेले किन स्मार्ट लाइसेन्स जारी गरेको होला?'

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नियमित रूपमा लाइसेन्सको परीक्षा सञ्चालन नहुँदा र पास भएकाले पनि समयमा लाइसेन्स नपाउँदा सवारीचालक अभाव भएको बताए।

'हेभी सवारीसाधनको प्रयोगात्मक परीक्षा नभएको धेरै भइसक्यो, चालकको अभाव छ,' उनले भने, 'विभाग र यातायात कार्यालयको लाचारीले चालकले सास्ती पाइरहेका छन्।'

उपत्यकामा एकान्तकुना, ठूलो भर्‍याङ स्वयम्भू, चावहिल सुकेधारा र भक्तपुरको जगातीमा चारवटा यातायात व्यवस्था कार्यालय छन्। यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वाग्मती ठूलो भर्‍याङका प्रमुख वीरेन्द्रबहादुर स्वाँरले पर्याप्त प्रिन्टर अभावमा सेवा प्रवाहमा ढिलाइ भएको स्विकारे। 'सेवाग्राहीको चापअनुसार प्रिन्टर नै भएन, त्यसैले लाइसेन्स वितरणमा ढिलाइ भएको हो,' उनले भने, 'ट्रायल पास भएको तीन महिनापछि मात्रै उपलब्ध गराउँदै आएका छौँ।'

सवारीचालक अनुमतिपत्र कार्यालय वाग्मती एकान्तकुनाले केही समय अघिसम्म प्रयोगात्मक परीक्षा पास भएको एक महिनापछि मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको छ। स्मार्ट लाइसेन्समा जानुअघि प्रयोगात्मक परीक्षा पास भएका सेवाग्राहीलाई एक साताभित्रै लाइसेन्स दिइन्थ्यो।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले स्मार्ट कार्डको अभावमा समयमा नै लाइसेन्स उपलब्ध गराउन नसकिएको बताए। 'स्मार्ट कार्डको अभाव भएकाले नै समयमा उपलब्ध गराउन नसकेका हौं,' उनले भने,'नयाँ प्रविधिसँग आत्मसात गर्दै  सहजै ढंगले सेवाग्राहीलाई उपलब्ध गराउने प्रयास गरिरहेका छौं।' उनका अनुसार विभागले कार्यालयको सेवा प्रवाहलाई छिटो र छरितो बनाउनेछ ।

प्रकाशित: २ भाद्र २०७४ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App