coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजमार्गका पुल भासिने र क्षति हुने क्रम बढ्दै

बारा- निरन्तर वर्षाको कारण खोला नालामा पानीको सतह बढेपछि राजमार्ग अन्तर्गत पर्ने विभिन्न पुलमा क्षति पुगेको छ।

बाढीले जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको दुधौरा खोलाको पुल, पथलैया–हेटौंडा सडक खण्डमा पर्ने तीन नम्बर पुल र निजगढ नगरपालिकामा पर्ने धनसर खोलाको पुलको पश्चिम भागको सडक बगाएको छ।

तत्कालीन सोभियत संघको सहयोगमा २०२६ सालमा निर्माण सम्पन्न गरिएको ८९.३ मिटर लामो दुधौरा खोलाको पुलको एउटा पिलर अहिले भासिएको छ।

पाँचवटा पिलर रहेको उक्त पुलमा अहिले पूर्वतर्फबाट दोस्रो पिलर भासिएको सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर नरेश केसरीले जानकारी दिए। केही वर्षअघि पनि बाढीले सो पुलको पूर्वतिरको पहिलो पिलर भासिएपछि आर्थिक वर्ष ०७०/७१ मा मर्मत गरी सवारी साधन चलाउन दिएको केसरीले बताए।

दुधौरी खोलाको पुलमा प्रयोग भएको दुई पिलरबीचको दुरी २२.५ मिटर रहेको सडक कार्यालयका प्राविधिकले बताएका छन्। पूर्व–पश्चिम राजमार्गमै पर्ने धनसार खोला पुलको पश्चिमतिर सडकसँग जोडिएको भागलाई बाढीले बगाएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।

धनसर खोलाको पुल जीर्ण भएपछि २०६७ सालमा एक सय ६४.६ मिटर लामो पुल बनाइएको थियो। नौवटा पिलर रहेको उक्त पुलमा दुई पिलरबीचको दुरी २०.५ रहेको बताइएको छ।

त्रिभुव राजपथको पथलैया–हेटौंडा सडक खण्डअन्तर्गतको तीन नम्बर खोलाको पुल पनि भासिएको छ।

भारतीय सहयोगमा २०१९ सालमा सो पुलको निर्माण गरिएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ। ६० मिटर लामो पुलमा तिनवटा पिलर प्रयोग गरिएको छ। दुई पिलरबीचको दुरी ३० मिटर छ।

तीन नम्बर पुलको पिलर केही भासिएपछि त्यसको विकल्पमा तीन वर्षअघि बेलिब्रिजसमेत निर्माण गरिएको थियो। बेलिब्रिजको उत्तर र पश्चिमतर्फको सडकलाई बाढीले बगाएपछि आवतजावतमा कडाइ गरिएको छ। बेलिब्रिजमा जोडिएको सडक मर्मत गरी त्यसलाई पुनः सञ्चालन गरिएको इन्जिनियर केसरीले बताए।

पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा पर्ने दुधौरा खोला, धनसर खोला र तीन नम्बर पुलमा क्षति पुग्ने मुख्य कारण खोलानाला जथाभाबी उत्खनन रहेको इन्जिनियर केसरीले बताए।

खोलानालामा स्काभेटर प्रयोग गरी पोखरी जस्तै उत्खनन गरी ढुंगा, बालुवा र ग्राभेल निकाल्दा समस्या आएको इन्जिनियर केसरी बताउँछन्। पुलका पिलर वरिपरि पोखरी जस्तै बनाएर उत्खनन गर्दा पुल भासिने अवस्था आएको केसरीले बताए।

प्रकाशित: २ भाद्र २०७४ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App