coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपोलीको समूह चरण सम्भावना बलियो

पेरिस- नेपोलीले प्लेअफको पहिलो लेगमा बुधबार ९ जनामा सीमित भएर खेलको अन्त्य गरेको निसमाथि २–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको समूह चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

समय सकिन १० मिनेट बाँकी रहँदा रिभियराको टोली निस एकाएक ९ खेलाडीमा सीमित भएको थियो। भिसेन्ट कोजिइलोले सोझै रातो कार्ड सामना गरेलगत्तै ८०औं मिनेटमा एलासाने प्लियाले दोस्रो पहंेलो कार्ड दर्शन गरेका थिए।

बेल्जियन मिडफिल्डर द्रिइस मार्टिन्सले १३औं मिनेटमै गोल गरेर इटालियन टोलीलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए। जर्जिन्होले ७०औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपोलीको अग्रता दोब्बर पारे।

मारियो बालाटोली र हालैमात्र अनुबन्ध गरेका डच भेट्रान वेस्ले स्नाइडरबिना इटालीको भ्रमणमा निस्केको लुसियन फाभ्रेको टोलीको यो जारी सिजनमा लगातार तेस्रो हार हो। टोली यसअघि घरेलु फ्रेन्च लिग वानका दुई खेलमा पराजित भइसकेको छ।

गत सिजनमा तेस्रो स्थानमा रहँदै इटालियन सिरी 'ए' को अन्त्य गरेको नेपोली च्याम्पियन्स लिगको अन्तिम १६ सम्म पुगेको थियो। गत सिजनको सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिने संकेतस्वरूप नेपोलीले बुधबार सान पाउलो रंगशालामा ५५ हजार घरेलु दर्शकमाझ पनि फ्रान्सेली प्रतिद्वन्द्वीलाई निरीह पारेको थियो।

'सिजनको पूर्वार्द्धमा हामी यो नतिजाबाट अत्यन्तै उत्साहित छौं। हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौं,' नेपोलीका प्रशिक्षक माउरिजियो सारीले भने, 'शारीरिक तयारीमा उनीहरू हामीभन्दा धेरै माथि थिए। त्यसैले यो खेल हाम्रा लागि निकै जोखिमपूर्ण थियो।'

निसको लापरबाह रक्षापंक्तिलाई सजाय दिँदै मार्टिन्सले १३औं मिनेटमा गोल गरेर खेल नेपोलीको नियन्त्रणमा पुर्‍याएका थिए। निसका गोलकिपर योआन कार्डिनेलको गल्तीमा मार्टिन्सले नेपोलीलाई अग्रता दिलाएका थिए। समय सकिन २० मिनेट बाँकी रहँदा पनि मार्टिन्सले नै अग्रता दोब्बर पार्ने अवसर जुराए। क्रिस्टोफ जालेटले मार्टिन्सलाई लडाएपछि नेपोलीले पेनाल्टीको मौका पायो। जसलाई जर्जिन्होले गोलमा परिणत गरे।

पहिलो गोलमा गल्ती गरे पनि कार्डिनलले केही महŒवपूर्ण बचाउ गरेर निसलाई थप फराकिलो हारबाट जोगाए। उनले जोए कालेजोनको प्रहार १५औं मिनेटमा जोगाएका थिए भने त्यसको ६ मिनेटपछि मार्टिन्सलाई निराश पारे। त्यसपछि ४२ र ६७औं मिनेटमा कार्डिनलले लोरेन्जो इन्सिग्नेका दुई खतरनाक प्रहार जोगाएर निसको आधार खस्कन दिएनन्। ५१औं मिनेटमा इन्सिग्नेको प्रहार पोस्टमा लागेर फर्किंदा इटालियन टोलीले अग्रता फराकिलो पार्ने अर्को मौका खेर फालेको थियो।

निसले अन्तिम १० मिनेट ९ जनामा सीमित भएर खेल्नुपर्‍यो। पियोटर जिलिन्स्कीमाथि खतरनाक ट्याकल गरेबापत कोजिइलोले सोझै रातो कार्ड सामना गरे। त्यसको केही सेकेन्ड नबित्दै प्लियाले दोस्रो पहेंलो कार्ड दर्शन गरेका थिए। जसले इटालियन टोलीलाई हकलाग्दो जित हासिल गर्न थप सहज बनायो।

शनिबारबाट इटालियन सिरी 'ए' सिजनको सुरुआत गर्ने तयारीमा रहेको सारीको टोलीले अर्को साता फ्रान्सको एलियान्ज रिभिइरामा हुने दोस्रो लेगमा अग्रता जोगाउन सके च्याम्पियन्स लिग समूह चरणमा युभेन्ट्स र एएस रोमापछि तेस्रो इटालियन टोलीका रूपमा प्रवेश गर्नेछ।

स्पेनिस ला लिगाको टोली सेभियाले बुधबार इस्तानबुल बासाकसेहिरमाथि २–१ को विजयी नतिजा निकाल्दै रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडसँगै समूहचरण पुग्ने सम्भावना बलियो बनाएको छ।

टर्कीमा सम्पन्न खेलमा फ्रांको–ट्युनिसियन फरवार्ड विसाम बेन येडारले समय सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेपछि सेभियाको जित सम्भव भएको थियो। त्यसअघि सर्जियो इस्कुडेरोको गोलमा सेभियाले १६औं मिनेटमा अग्रता लिए पनि घरेलु टोलीका लागि इल्जेरो इलाले ६४औं मिनेटमा बराबरी गोल गरेका थिए।

यसै गरी स्कट सिन्क्लियरको दुई गोल प्रेरित सेल्टिकले घरेलु मैदानमा एफसी आस्टानामाथि ५–० को जित निकाल्दै समूह चरणमा एक पाइला राखेको छ। आस्टानाका इभगेनी पोस्टनिकोभको आत्मघाती गोलमा मध्यान्तर हुन १३ मिनेट बाँकी रहँदा सेल्टिकले अग्रता लिएको थियो। ४२औं मिनेटमा सिन्क्लियरले गोल गर्दै पहिलो हाफमै टोलीको अग्रता दोब्बर पारे। सिन्क्लियरले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–० ले फराकिलो पारे। जेम्स फोरेस्टले ७९औं मिनेटमा गोल गर्दा सेल्टिकले चार गोलको अग्रता लिएको थियो। त्यसमा समय सकिन दुई मिनेट बाँकी रहँदा विपक्षी टोलीका इगोर सिटोभले आत्मघाती गोल गरेपछि स्कटिस टोली थप फराकिलो जितको हकदार बन्यो। 

'एउटा टोलीका रूपमा आज हामीले असाधारण प्रदर्शन गर्‍यौं। खेलाडीहरू ठूलो बधाईको हकदार छन्। सुरुदेखिको उत्साहित प्रदर्शनका कारण कुनै पनि समय हामी दबाबमा आउनु परेन। केटाहरूले मैदानभित्र पूरा खेललाई सहजै नियन्त्रणमा लिए,' सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने।

यसै गरी च्याम्पियन्स लिग छनोटअन्तर्गत बुधबारै सम्पन्न प्लेअफ पहिलो लेगका अन्य खेलमा हापोइल बियर शेभाले मारिबोर तथा ओलम्पियाकोसले क्रोएसियाको रिजेकामाथि २–१ को समान अन्तरमा जित हासिल गरे।

प्रकाशित: २ भाद्र २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App