६ वैशाख २०८१ बिहीबार
खेल

एन्सेलोट्टीलाई चोटको चिन्ता

बर्लि- साबिक विजेता बायर्न म्युनिखले शुक्रबार जर्मन बुन्डेसलिगाको उद्घाटन खेलमा बायर लेभरकुसनको सामना गर्दा प्रशिक्षक कार्लो एन्सेलोट्टीमा शीर्ष खेलाडीको चोट चिन्ताको मुख्य विषय हुनेछ। एन्सेलोट्टीको प्रशिक्षणमा बायर्नले गत सिजन बुन्डेसलिगामा आफ्नो दबदबा कायम राख्दै लगातार पाँचांै पटक उपाधि जितेको थियो।

केही साता आरबी लिपजिगभन्दा तल रहे पनि बायर्नले अन्ततः गत मेमा १५ अंकको अन्तरमा लिग उपाधि कब्जा गरेको थियो।

तर लिग सकिएको तीन महिनापछि खेलाडीको चोटको समस्यामा थलिँदा एन्सेलोट्टीको टोलीले स्वाभाविक प्रदर्शन गर्न सकिरहेको छैन।

बायर्नले सिजनपूर्व खेलिएका ६ मैत्रीपूर्ण खेलमध्ये एकमा मात्र जित हात पारेको थियो। यद्यपि बायर्नले गत साता बोरुसिया डर्टमन्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको थियो।

जर्मनीका विश्वविजेता कप्तान फिलिप लाहम र स्पेनिस मिडफिल्डर जाबी ओलन्सोको अभाव खड्किएको एन्सेलोट्टीको टोली ब्राजिली विंगर डग्लस कोस्टा नहुँदा थप दबाबमा परेको छ। लाहम र ओलन्सोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरिसकेका छन्। त्यस्तै कोस्टा यसै सिजन युभेन्ट्समा आबद्ध भएका थिए।

सिजनपूर्वका मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका थियागो अल्कान्टारा र हामेस रोड्रिग्वेज तथा खुट्टाको चोटका कारण रक्षक जेरोम बोएटिङ र जाभी मार्टिनेजले पनि सिजनका सुरुआती केही खेल गुमाउने बताइएको छ।

रोडरिग्वेज यसै सिजन दुई वर्षको लोनमा रियालबाट बायर्नसँग आबद्ध भएका थिए। 

‘हामी शुक्रबार कोको खेलाडी उपलब्ध हुन्छन् भन्नेबारे सोचिरहेका छांै,’ एन्सेलोट्टीले भने, ‘हामी  सकेसम्म शीर्ष खेलाडीलाई मैदान उतार्ने प्रयास गर्नेछौं।’

यता डर्टमन्डका पूर्वस्ट्राइकर हेइको हेर्लिचको प्रशिक्षणमा भएको लेभरकुसन पनि पहिलो खेल जित्दै सिजनको सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ। शीर्ष खेलाडी अन्य क्लबमा आबद्ध भएपछि टोली नयाँ संरचनामा मैदान उत्रने तयारीमा छ।

लेभरकुसनका स्ट्राइकर हाभियर हर्नान्डेज वेस्ट ह्याम, हाकान काल्हानोग्लु एसी मिलान र रक्षक ओमर टोप्राक डर्टमन्डमा आबद्ध भएका थिए।

‘पहिलो खेल सधैं कठिन हुने गर्छ। तर हामी त्यसको सामना गर्न तयार छांै। राम्रो प्रदर्शन गर्दै सुखद नतिजाका साथ सिजनको सुरुआत गर्नेमा हामी विश्वस्त छौं,’ हेर्लिचले भने।

प्रकाशित: २ भाद्र २०७४ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App