८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोबिना रियाललाई उपाधि

मड्रिड- रियाल मड्रिडले बुधबार दोस्रो लेगमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई २–० ले पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि जितेको छ। निलम्बनमा परेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको रियालले समग्रमा ५–१ को जितका साथ सिजनको दोस्रो उपाधि भित्र्याएको हो।

पहिलो लेगमा ३–१ को जित हासिल गर्दा रातो कार्ड सामना गरेका रोनाल्डोले रेफ्रीलाई धक्का दिएको भन्दै स्पेनिस फुटबल संघले आइतबार उनलाई ५ खेलका लागि निलम्बन गरेको थियो। यसअघि रियालले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलको चौथो मिनेटमा मार्को एसेन्सियोले गोल गरेपछि रियालले अग्रता लिएको थियो। पहिलो लेगमा पनि गोल गरेका एसेन्सियोले पेनाल्टी बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगनलाई छक्याउँदै गोलमा परिणत भएको थियो।

३९औं मिनेटमा करिम बेन्जेमाले मार्सेलोको पासमा गोल गर्दै रियालको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको तुलनामा मध्यान्तरपछि सम्हालिएको प्रदर्शन गरेको बार्सिलोना स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेजको प्रहार पोस्टमा लागेर फर्कंदा निराश बनेको थियो।

जिनेदिन  जिदानले प्रशिक्षण सम्हालेयता पछिल्लो २० महिनामा रियालले जितेको यो सातौं उपाधि हो। ‘हामीले आज उत्कृष्ट प्रदर्शन गर्‍यौ,’ जिदानले भने, ‘पहिलो हाफको प्रदर्शन अद्भुत रह्यो।’ नियमित स्ट्राइकर गारेथ बेल, इस्को र कासेमिरोबिना मैदान उत्रिए पनि रियालले मध्यान्तरअघि खेल दबाबमा राखेको थियो।

‘यो टोली उपाधिका लागि सधैं आतुर हुन्छ र हामीले गरेको प्रदर्शनले यसलाई प्रमाणित गर्छ,’ जिदानले भने, ‘हामीले यस्तै प्रदर्शनलाई निरन्तरता दिनुपर्छ। उपाधिका साथ सिजनको सुरुआत गर्नु राम्रो पक्ष  हो। तर सिजन भर्खरै सुरु भएको छ। अझै लामो यात्रा तय गर्न बाँकी छ।’

‘हामी प्रतियोगिता अवधिभर उत्कृष्ट रह्यौं,’ एसेन्सियोले भने। यद्यपि उनले जिदानको टोलीमा आफू बेलभन्दा अघि भएको कुरालाई अस्वीकार गरे। ‘मैले मैदानमा धेरैभन्दा धेरै मिहिनेत गरिरहेको छु,’ उनले भने, ‘म समग्र टोली र व्यक्तिगत प्रदर्शनमा सन्तुष्ट छु।’

यता सिजनको सुरुमै चिर प्रतिद्वन्द्वी रियालसँग लगातार दुई खेलमा हार भोगेपछि बार्सिलोनाका नयाँ प्रशिक्षक अर्नेस्टो भाल्भाडर्ेे थप दबाबमा परेका छन्। उनले यसै सिजनबाट क्लबको प्रशिक्षण सम्हालेका थिए।

पहिलो हाफमै २–० ले पछि परेको बार्सिलोनाले कुनै पनि समय रियालमाथि दबाब दिन सकेन। ‘स्पेनिस ला लिगा सुरु हँुदै छ। त्यसैले हामीले चाँडोभन्दा चाँडो पुनरागमन गर्न आवश्यक छ,’ भाल्भार्डेले भने। बार्सिलोनाले ला लिगाको पहिलो खेलमा आइतबार रियाल बेटिसको सामना गर्दै छ।

कप्तान आन्द्रियास इनियस्टाको चोट र ब्राजिली स्ट्राइकर नेइमार कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनमा आबद्ध भएपछि बार्सिलोनाले स्वाभाविक प्रदर्शन गर्न सकेको छैन। ‘तीन दिनमा हामी कठिन स्थितिमा आएका छौं,’ भाल्भार्डेले भने, ‘सिजनपूर्व जे भयो त्यसले टोलीको सन्तुलन बिगारेको छ। अब हाम्रो मुख्य जिम्मेवारी पुनः लय समात्नु हो।’

रियालका मार्सेलोको प्रहार पोस्टनजिकैबाट बाहिरिनुका साथै लुकास भाज्क्युजको प्रहार पोस्टमा लागेर फर्कंदा बार्सिलोना थप फराकिलो अन्तरको हारबाट जोगिएको थियो। दोस्रो हाफमा सम्हालिएको प्रर्दशन गरेको बार्सिलोनाले मेसी र स्वारेजको प्रहार विफल हँुदा खेलमा फर्कने अवसर खेर फालेको थियो।

मेसीको प्रहार पोस्टमा लागेर फर्किएको थियो। त्यस्तै मेसीको प्रहार रियालका गोलकिपर केलोर नाभासले रोक्दा रिबाउन्डमा प्राप्त बलमा स्वारेजले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएपछि बार्सिलोना निराश बनेको थियो। चिर प्रतिद्वन्द्वीसँगको हार र टोलीमा देखिएको सन्तुलन अभावले दबाबमा परेको बार्सिलोना स्वारेजको घुँडामा लागेको चोटले थप निराश भएको छ।

प्रकाशित: २ भाद्र २०७४ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App