८ वैशाख २०८१ शनिबार
समाज

प्रधानमन्त्रीको आश्वासन : 'धैर्य गर्नुस्, पूरा सहयोग हुन्छ'

बर्दिया- बाढीग्रस्त क्षेत्र अनुगमनमा निस्केका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित परिवारलाई सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। विपत्तिले सर्वसाधरण घरविहीन भएको उल्लेख गर्दै शिविरमा बसेका परिवारलाई सहज तरिकाले जीवनयापन प्रबन्ध मिलाउन सरकार जुटेको उनले स्पष्ट पारे।

बाढीले विशेष गरी तराईका जिल्लामा क्षति गरेको उल्लेख गर्दै देउवाले दैवी प्रकोपमा परेका सबैलाई धैर्य धारण गर्न आग्रह गरे। 'बाढीबाट घरविहीन र घाइतेलाई राहत प्याकेज सरकारले उपलब्ध गराउने छ', देउवाले भने, 'यसका लागि बाढीपिडित परिवारले धैर्य धारण गर्नुपर्छ।'

राप्ती, बबई र कर्णाली नदीको बाढीबाट भएकोे क्षति अनुगमन गर्न आएका प्रधानमन्त्री देउवाले बर्दियाको गुलरिया गोलपार्क चोकमा बाढीपीडित परिवारलाई सम्बोधन गर्ने क्रममा पटकपटक धैर्य धारण गर्न आग्रह गरे। उनले राहतमात्र नभई बाढीबाट भएको नोक्सानको उचित क्षतिपूर्ति पनि सरकारले दिने बताए।

शिविरमा बसेका बाढीपिडितको स्वास्थ्य उपचार प्रबन्ध र त्रिपाल व्यस्थापन गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएको उनले बताए।

घर क्षति भएकालाई जनही २० देखि २५ हजार, घाइतेलाई उपचार खर्च र मृतका आफन्तलाई जनही दुई लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय सरकारले गरेको जानकारी पनि उनले दिए।

बबई बाढीबाट भएको क्षतिबारे गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले जानकारी गराएका थिए। त्यसक्रममा उनले बबई नदीमा दीर्घकालीन योजनासहित  तटबन्ध जरुरी रहेको जानकारी गराए। प्रधानमन्त्री देउवाले नगर प्रमुखलाई खाद्यान्न पनि हस्तान्तरण गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिए।

उनले बाढीपीडितको उद्धार र राहतमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रबाट भएको सहयोगको प्रशंसा गरे।

बबई नदीको बाढीले बर्दियामा चारजनाको ज्यान गएको छ। बाढीबाट १३ हजार ३६२ घरधुरीका ७४ हजार ३२७ घरपरिवार प्रभावित भएको तथ्यांक छ। बाढीबाट २ हजार १७३ घर पूर्ण र ८ हजार ९ सय २ घरमा आशिंक क्षति भएको छ। पाँच हजार परिवार विस्थापित छन्।

बाढीबाट गुलरिया नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ।  बाढीबाट विस्थापित गुलरिया, ठाकुरबाबा, बारबर्दिया, मधुवन र राजापुर नगरपालिकाका स्थानीय सामुदायिक विद्यालय, सरकारी कार्यालय, सामुदायिक भवन र सडक किनारमा अस्थायी शिविरमा बसिरहेका छन्। बाढीबाट जिल्लाका ४८ विद्यालयमा क्षति पुगेको छ। बाढीले धान, मकै, तिललगायत खाद्यान्न बाली र माछा पोखरी पुरिएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ।

पानी पर्न रोकिएपछि बाढीपीडित परिवार सामान्य अवस्थामा फर्कन थालेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए। 'पानी पर्दा आश्रयस्थलमा आए पनि अन्य बेला घर सम्हाल्न फर्कने गरेका छन्,' उनले भने।

प्रकाशित: २ भाद्र २०७४ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App