५ वैशाख २०८१ बुधबार
राजनीति

मनोनयनअघि चुनाव प्रचार गरे कारबाही

काठमाडौं- माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनमा प्रचारप्रसार गर्ने विद्यार्थी नेतामाथि कारबाही गर्ने भएको छ। संगठनको आचारसंहितामा सम्मेलनको तयारी बिनाप्रचार प्रसार गर्ने व्यवस्था रहेको छ। आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार गरेमा सम्मेलन प्रतिनिधि खारेज गर्ने व्यवस्था आयोजक समितिले गरेको छ।

तडकभडक, खर्च कटौती र पार्टीभित्र गुटबन्दी रोक्न प्रचारमा प्रतिबन्ध लगाइएको पूर्वअध्यक्ष रमेश मल्लले बताए। 'उम्मेदवार मनोनयन भई निर्वाचन मण्डलले प्रमाणित गरेपछि मात्रै चुनाव प्रचार गर्न पाइनेछ', मल्लले नागरिकसँग भने, 'प्रचार गरेको पाइएमा सम्मेलन प्रतिनिधि नै खारेज हुनेछ।' उनका अनुसार सामाजिक सञ्जाल, भित्तेलेखन, फ्लेक्स प्रिन्टजस्ता प्रचार सामग्रीमा बन्देज लगाइएको छ।

'राष्ट्रियता र समाजवादी शिक्षाका पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निमार्णका लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन' भन्ने मूल  नाराका साथ भदौ ७ गते सम्मेलन सुरु हँुदैछ। भृकुटीमण्डपमा उद्घाटन हुने सम्मेलनको  बन्दसत्र कीर्तिपुरमा सञ्चालन हुनेछ।

'विगतमा गुटबन्दीबाट नेतृत्व चयन गर्दै आएकोमा यसपटक भने त्यसलाई रोकिएको छ। प्यानल घोषणा गर्न नपाइने र व्यक्तिगत रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्नेछ,' सचिव मदन चुडालले भने, 'पदाधिकारको हकमा आफ्नो धारणा राख्ने अवसर बन्दसत्रमा दिइनेछ।'

उनका अनुसार क्रान्तिकारीले प्रचारप्रसारमा रोक लगाएर खर्च न्यूनीकरण गर्न खोजेको हो।

यसअघि २० औं सम्मेलनमा सहमति र निर्वाचन हुन नसक्दा हिमाल शर्मा दोहोरिन बाध्य भएका थिए भने पछि रमेश मल्ललाई नेतृत्व दिइएको थियो। २०७३ जेठमा पार्टी एकीकरण भएपछि नरेन्द्र न्यौपानेलाई नेतृत्व सुम्पिएको थियो। केन्द्रीय समिति नौ सय ९९ सदस्यीय थियो।  अब सम्मेलनपछि दुई सय ४३ सदस्यीय रहनेछ।

उक्त सम्मेलनले ३३ जना पदाधिकारी चयन गर्ने उपाध्यक्ष गोपाल न्यौपानेले जानकारी दिए। उनका अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष एकएक जना रहने भए पनि उपाध्यक्ष र सचिव भने बहुसंख्यक हुनेछन्। 'उपाध्यक्षमा चार जना खुला, चार जना समावेशी र एक जना मनोनीत हुनेछन् भने सात वटै प्रदेशबाट सात जना, समावेशीवाट ६ जना, महिला दुई र विश्वविद्यालयबाट एक जना गरी १६ जना सचिव चयन हुनेछन्।' सम्मेलनमा दुई हजार ७६ जना प्रतिनिधिले भाग लिनेछन्।

९ गतेसम्म जारी रहने उक्त सम्मेलनमा करिब १ करोड खर्च हुने अनुमान क्रान्तिकारीले गरेको छ।

वाइसिएलको सम्मेलन बिहीबार

माओवादी केन्द्रको अर्को भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको दोस्रो सम्मेलन बिहीबार सुरु हुँदैछ। सम्मेलन उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ।

१७ जना पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्दीय समिति गठन गरिने अध्यक्ष आरसी शर्माले जानकारी दिए। '५ सय ३८ प्रतिनिधिले सो संख्या बराबरको नेतृत्व चयन गर्नेछन्,' शर्माले भने।

प्रकाशित: २ भाद्र २०७४ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App